मेरी माइलीकी छोरी
जूनजस्ती मेरी नातिनी
सहनाईको धुनले
उनको मुहारमा
छाएको लाली
ओठमा छचल्किएका खुसी
याद आयो उनकी आमा
मेरी छोरी माइलीको बिहे छिनेको दिन।
साउने झरीझैँ छिनमै मेरो मन धुम्मियो
झलझली याद आयो
माइलीको जूनजस्तो मुहारमा बिहे छिनिँदा कसरी औँसी छाएथ्यो
अश्रुभेल बगिरहेथे निरन्तर
अन्जान व्यक्तिलाई आफ्नो बनाउँदै थिई
अनि
हाँसखेल गर्ने उमेरमा जिम्मेवारीको भारी बोक्दै थिई जो
नातिनीको आँखा
हिजो मात्रै पढेको
देखिन कुनै नाइँनास्तीको कहर
कहरै कहरमा माइलीको बिहे गर्दिने हामी
अनि रहरै रहरमा यी प्रेमिल जोडीले बुनेका अनेकन् सपना
३० औँ वर्ष बितिसक्दा त मेरा आँखाले नभ्याउने
परिवर्तनका टाकुराहरू ठडिसकेछन्
समय फेरिएछ, चलन फेरिएछ।
ऊबेला माझाघरे सुनार कहाँ बनाएका दोडा मुन्द्रा
अहिले तोलाका तोला सुनको अर्डर
कहाँ ठूल्पाटोको भोज
कहाँ मुठी भरिको पैसाले थपेका परिकार
फेरिएछ भोजको स्वरुप
फेरिएछ भोजको स्वाद।
लामकाने बाख्राको सानो पाठी पेवा छुट्याउँदा
माइलीको बाले भनेथे- ‘गरिखान्छे अब’
आज नातिनीले वर्षौंदेखि गरिखाएको धनले रित्तो कोठा शृंगारिँदैछ
बदलिएछ रीति, बदलिएछ संस्कृति।
माइलीलाई डोलीमा अन्माउँदा
टोलभरी रुवाबासी भएथ्यो
सेल्फी लिनेको हुलबीच
नातिनीलाई अन्माइयो
पञ्चेबाजालाई सबैले बिर्सिएछन्
लाग्यो जुग फेरिएछ
नातिनीको आँसु बगिरहे
अनि सबैले खिचिरहे
बिहेलाई सबैले कैद गरिरहे
आ-आफ्नो क्यामेरामा
तर भावना?
मलाई झलझली याद छ माइलीको बिहेको दिन
तर माइलीलाई अब एल्बम पल्टाउनुपर्छ
कठै! संस्कृति फेरिएछ।