‘तल्ला घरे हर्केले अधिकृतमा जागीर खायो, माथिल्लो घरे साइलो सुब्बा भयो। खै तँ केही नि हुन्नस्? थुक्क मोरा! मलाई त तेरो बाउ हो भन्न नि लाज लाइसक्न लाग्यो। लोक सेवा पढ्छु भनेको ५ वर्ष भैसक्यो, न त नाम निकाल्नै सक्यो, यस्ताले क्यारी जीवन चलाउने होला! तैँसित पढेको तल्लो घरे काइलाको छोरो कोरिया गएर बजाराँ घर किन्यो, दुइटा सन्तान पनि पायो।
तँ लखर-लखर लोक सेवा पढ्छु भन्दै हिँड्दा ठिक्क भएको छ। हैन यो लोक सेवाको कक्षा पास चाहिँ कहिले हुन्छ हौ मोरा? हामीलाई सुख देला भनेको त बुढो भैन्जेल नि यसैलाई पाल्न पर्ने भयो। अब त अत्ति भयो, अब एउटी खोज् अनि बिहे गरेर गाई भैंसी पाल्। दुइटा मिलेर खेती किसानी गराओ। अब अरु गर्ने तेरो खुबी छैन। राम्री बुढी नि पाउन्नस्। आजकाल राम्री बुढी पाउन कि त राम्रै देश जानुपर्छ, नभए सरकारी जागीर खानुपर्छ। तँ मोरो न विदेश गइस्, न त यही जागीर खाइस्।’
बाले भनेको कुरो यसो पुम्पुरोमा हात लाएर सोचेको त बुढाले ठिकै पो भनेका हुन् कि जस्तो नि लाग्न लायो। यो लोक सेवाको पछि लाग्न लागेको नि गोडा पाँचेक वर्ष भयो। नाम सधैँ अर्काको छापिन्छ। आफ्नो झुक्किएर छपिए पनि बाउ-बाजेको नाम अर्कैको हुन्छ। अनि केको गाली नगरून् त नि बाउले नि!
भएन भनेर बाउको कोट मागेँ र लाएर पल्लो गाउँतिर केटी खोज्न निस्केँ। कपालमा तोरीको तेल लाएँ, पल्तिरको ठूलेले लाहुरबाट ल्याएको मगमगाउने अत्तर छर्किएँ र केटी खोज्न हिँडेँ। क्यार्नी म बेरोजगारीलाई केटी खोज्दिन नि कोही सँगै गएनन्, म एक्लै हिँडेँ।
पारि गाउँकी काजीकी छोरीले सुब्बामा नाम निकालेकी रहिछे। गाउँभरि हल्ला चलेको थाहा पाएको थिएँ। यसो काजीकी छोरीलाई ट्राई हान्न पर्यो, त्यही पनि कुकुरलाई हान्दा ढुकुरलाई लाउँछ कि भन्ने सोचेँ। पुरानै भए नि बाउको कोट र बास्नावाला अत्तरले गर्दा हेर्दा त सानोतिनो बिजनेस म्यानजस्तै देखिएको थिएँ।
बुढापाकाले भनेको सम्झेँ, केटी माग्न जाँदा ढाँटे पाप लाउन्न रे। त्यही सोचेर आफूलाई बिजनेस म्यान भन्नुपर्यो भन्ने सोचेँ। काजीकोमा गएको त मोरी छुट्टीमा घर पो आइरहिछे। काजी साप र साप्नी बजार झरेका रहेछन्। म नि पानी खाने निहुँले उनको घरमा गएँ।
बाहिरबाट बोलाएँ- ‘घरमा को हुनुहुन्छ होला? साह्रै तिर्खा लाग्यो, पानी पाइन्छ कि भनेर आएको’।
भित्रबाट एउटी सुन्दर युवती ‘हजुर के होला?’ भन्दै बाहिर निस्किन्।
‘म त यसो यो गाउँमा कृषि उद्योगमा लगानी गरौँ कि भनेर आएको, तिर्खा लायो र पानी खान पाइन्छ कि भनेर सोधेको।’
अनि उनेले मिठो स्वरमा भनिन्- ‘किन नपाइनु नि, पाइन्छ नि। बस्दै गर्नू ल म ल्याइदिन्छु।’
उनले पानी ल्याइदिइन्। मैले पानी खाँदै कुरा गर्न लाएँ। म नि के कम थिएँ र, लोक सेवा पाँचौं वर्ष वाला थिएँ। गफ लाएर उनलाई पट्टाइहालेँ।
मलाई उनका बाउ-आमा नआउँदै उनलाई भगाउनु थियो। बाउ-आमा आएपछि त म बेरोजगार भन्ने थाहा थियो, लौरो लिएर लखेट्छन्।
अनि भन्न लागेँ- ‘मलाई ठूला-ठूला व्यापारिक घरानाबाट केटीको कुरा आएको छ तर मलाई सरकारी जागीर खाने सोझी केटी मनपर्छ। तर क्यार्नी? घरकहाँ हामीजस्ता ठूला व्यापारीले जाबो सरकारी जागीर खाने केटी बिहे गर्ने भनेर गाली गर्छन्। मलाई साह्रै गाह्रो छ तर मैले भगाएर लगेँ भने चाहिँ भित्र्याउँछन् है।’
उनले नि मुसुक्क हाँस्दै भनिन्- ‘अनि केटी यही अगाडि छे त किन आँट नगरेको? भगाएर लैजानू न।’
देख्नुभयो नि, लोक सेवा पढेपछि नाम निकाल्न नसके नि मान्छेलाई ठाउँको ठाउँ मुर्गा बनाउन चाहिँ सकिन्छ। हजुरले नि लोक सेवा पढ्नु भएको छैन भने आजै किताब किनेर पढ्न सुरु गर्नू।
बालाई तुरुन्तै फोन गरेँ- ‘बुढा, अब बुहारी लिएर आउँदै छु त्यता तयारी गर।’
आहा! मैले नाम निकाल्न नसकेर के भयो त? सुब्बिनी बुढी पाएँ क्यारे। खुबै नाम निकाल्यौं भनेर गर्व गर्नेले बेरोजगार केटी पाएका छैनन् भन्दै सोचेँ। फेरि अर्को मनले सोचेँ, घर गएर थाहा पाएपछि बुढी भन्न नपाउँदै भाग्ने हो कि मोरी! ह्या जे भए नि होस्। भागिहाली भने पनि पूर्व सुब्बिनिको श्रीमान् भनेर गाउँमा हिँड्न त पाइन्छ।
साथमा सुब्बिनी लिएर सानका साथ गाउँतिर लागियो। गाउँमा बाउले हल्ला चलाइसकेछन्- मेरो छोराले त पारि गाउँकी काजीकी छोरी सुब्बिनी ल्याएर आउँदैछ। गाउँका नि सबै दंग पर्दै मलाई नै हेर्न घरमा लाइन लाएर बसेका रहेछन्।
मनमा डर लागिराखेको छ। घर पुगेपछि मोरीले ढाड भाच्चिने गरी हानेर भाग्नी होलि। फेरि अर्को मनले सोचेँ, हैन गाँठे! त त मर्द होस्, नडराइ हिँड्।
घर पुगियो। उनको घरमा ठूलै बिजनेस म्यान भनेर गफ लगाएको थिएँ, हाम्रो घर छाप्रो देख्दा नि खुसी देखिइन् उनी। हैन! म सपनामा त छैन भनेर आफैलाई चिमोटेँ। दुख्यो, विपनामा नै रहेछु। बेलुका नि खानासाना पकाएर सबैलाई खुवाइन्, खुसी नै थिइन्।
बाउ भने भोलिपल्ट बिहानै उठेर गाउँका भएभरका युवालाई थर्काउँदै हिँड्न थालेछन्- तिमुरले प्रगती गरेर के नाप्यौ? मेरो छोराले सुब्बिनी उडायो। तिमीहरू हेरेको हेर्यै।’
यता म चाहिँ हैन यो केटीलाई के भएको छ, कि यो पनि सुब्बिनी होइन र मैले ढाँटेर ल्याएको थाहा पाउँदा नि खुसी छे, उधुम मुया गरिछे!
सोध्नु पर्यो एकचोटि खास के हो भनेर उसको नजिकै गएँ र भनेँ- ‘प्रिय, तिमीलाई हिजो मैले ठूलो बिजनेस म्यान हो भनेर ढाँटेर तिम्रो घरबाट भगाएर ल्याएँ तर तिमीले घर आएर यो बिजनेस म्यान हैन भनेर थाहा पाउँदा नि खुसी छौ किन?’
उनले हाँस्दै भनिन्- ‘मैले को बिजनेस म्यान, को जागीरे, को बेरोजगार भन्ने छुट्टाउन सक्दिनँ होला त! मलाई घरमा अधिकृत माग्न आएका छन्। उनी भ्रष्ट र नैतिकहीन थिए। उनमा माया, भावना भन्ने केही पनि थिएन। थियो त केवल पद र पैसाको घमण्ड। तर पनि केटो व्यवहारमा ठिक छैन भन्ने सब कुरा मलाई र घरकालाई थाहा थियो। थाहा पाउँदा पाउँदै नि मेरो घरकाले अधिकृत हो भनेर बिहे गर्न निकै प्रेसर दिएका थिए।
मलाई त सोझो बुझेको मान्छे मनपर्थो र हजुरको बारेमा हाम्रो गाउँसम्म नि पाँच वर्ष पढेर नि नाम निकाल्न नसक्ने केटो छ भनेर हल्ला थियो। हजुरलाई मैले धेरै पहिलाबाट अध्ययन गरिराखेकी थिएँ। हजुर सफल हुनुहुन्न, त्यो साँचो थियो तर हजुर सोझो र दुःख बुझेको हुनुहुन्छ भन्ने थाहा पाइसकेकी थिएँ। हजुरलाई देख्दा बित्तिकै चिनेँ।
हजुर जे भन्दै हुनुहुन्थ्यो त्यो त हाम्रो समाजले बनाएको बाध्यताले भन्दै हुनुहुन्थ्यो। र, मैले सोचेँ- के पुरुषले जागीर खाएर बेरोजगार केटी बिहे गर्नहुन्छ र बिहेपछि सफल बनाउन हुन्छ भने हामी महिलाले पनि जागीर खाएर एक राम्रो बेरोजगार केटालाई पतिको रुपमा स्वीकार्न किन नहुने? अब तपाईंलाई म सफल बनाउने छु। हामी महिला पनि सधैँ अर्काको निर्भरमा नबसेर एक असफल पुरुषसँग बिहे गरी आफ्नो श्रीमानलाई सफल बनाउन सक्छौँ भन्ने उदाहरण बन्न चाहन्छु।’
आहा! यो सुन्दा त मलाई कति आनन्द आयो। म त संसारकै भाग्यमानी पुरुष पो रहेछु। हुन पनि किन नहुँ त नि, सुब्बिनिको श्रीमान् पो हुँ नि। समाजलाई गाली गरेर मात्र हुँदैन, अब पुरुष-महिला मिलेर समानता कायम गर्नतर्फ लाग्नुपर्छ।
बा पनि निकै खुसी भएका थिए। अब बुहारीले छोरोलाई सफल बनाउँछिन् भन्नेमा ढुक्क थिए बुढा। मलाई पनि अब पूरा आत्मविश्वास थियो, म पनि अब छिट्टै सफल हुन्छु। आखिरीमा म कहाँ चानचुने मुन्छे हुँ, सुब्बिनीको बुढो पो हुँ त गाठे!