सुन फुलाउने हातहरू
नुनको खोजीमा हराएपछि
जून रातभर रोएको छ
भिल्लका देशमा मिल्किएका पारसमणीहरू
छरपष्ट छन् यत्रतत्र सर्वत्र
सोचका पाइलाले किचिएर माथि उठ्न नसकेको ब्रह्मजस्तो
कागजी खोस्टासँगै मपाईंत्वको बुर्कुसी मार्नेहरूको भिडमा
हरेक प्रहर साइनाइडमा अन्त्य हुन्छ एउटा जीवन।
तर पनि फेरि सरीसृपझैं घस्रँदै
जूनसँगै रोएर सुकेका आँखाहरू
खोज्दछन् एक चिम्टी खुसी
एक अञ्जुली माया र
एक छाकको पेट भराइ...
तातो बालुवाको लप्कासँगै
सट्टापट्टा गर्दछन् आफ्ना आकांक्षाहरू।
तर, तर मौनताको सिन्धुमा कुनै तुफान छैन
न छ विचार अनि विवेकमा नौलोपना
आशाको झिनो त्यान्द्रोमा
बहेली खेल्न उद्धत छन् तनहरू
बिना सर्त होमिन्छन् बत्तीका पुतली झैं
जरूरी जहर बन्दा, स्वाहा हुन्छन् रहरहरू
खाडी र साडीसँगै अनेकन बहानामा।
चाहे मरूभूमिले चुसेको जवानी
या होस् पिपासुले लुछेको कहानी
रेमिट्यान्सले धानेको अर्थतन्त्र
एयरपोर्टको आगमन बाह्यगमनको स्ट्याटिटिक्स
ब्रेनड्रेनले बतासिएको स्न्यापशट
कसैको मन्तव्य, न्यूज स्टोरी या टिकटक बन्नसक्छ
विडम्बना!
मनोरोगी बनेर टुलुटुलु नियालिरहेछु देश
केवल एउटा दुःस्वप्न
र उत्सर्जित मनोविकार बोकेर।