बा, तपाईंको
जीवनका धेरै वसन्त हराए
वसन्तसँगै रहर हरायो
रहर देख्ने त्यो मन हरायो
बाध्यताले खुसी खोस्यो
परिस्थितिले जवानी लुट्यो
सबैथोक
लुटिँदा पनि,
हराउँदा पनि
कसरी शान्त बस्नु भएको बा?
त्यो शान्त मनलाई शान्ति जीवनकै शुभकामना बा!
जीवनको दुई बिसे दश प्रदेशी भयो
लालाबाला हुर्काउन भन्दै जिन्दगी गयो
थाप्लोमा जिम्मेवारीको नाम्लो रही नै रह्यो
तर पनि बा!
खुट्टा कापेको छैन
खाली खुट्टाको सफरमा पाउ चर्किए होलान्
चर्किएको पाउमा खोटोले टालेको सम्झन्छु
त्यो कठोर मेहनत सम्झन्छु
यति हुँदाहुँदै पनि
कर्तव्यबाट भागेको होइन
कस्तो धैर्यता बा तपाईंसँग?
साँच्चै बा! धैर्य जीवनको धेरै-धेरै शुभकामना!
साँच्चै बा, आजभोलि पनि
त्यही माटोसँग प्रेम छ है!
अनि उनै वस्तुभाउसँग...
ए त्यो काली भैंसी अझै छ कि बेच्नुभयो?
रतौली बाख्रो कहिले ब्यायो?
अहो! बा
के दुःख भएको छैन?
त्यो बारी जोत्न?
अहँ! छोरा दु:ख भएकै छैन
मन अन्त गएकै छैन
यो माटो मेरो पसिनाले भिजेको छ
सालको मुरी उब्जेकै छ
कसरी छोडौ बाबु यो घर, यो बारी
साँच्चै म त यहीँ उदाएँ यहीँ अस्ताउँछु
बरु तिमी आउनू है बाबु
म अस्ताउनु पहिले
यो शरीरबाट श्वास हराउनु पहिले
बा!
मन आत्तिएला तर मात्तिनेछैन
कुबुद्धिको मति राखिनेछैन
तपाईं प्रेम हो
तपाईं साहस हो
तपाई आदर्श हो
तपाईं जिम्मेवारी हो
तपाई कर्तव्य हो
साँच्चै प्रेम हराएको
त्यो दिन शून्य हुनेछ
साहसले चलेको मनको
पृथ्वी रोकिनेछ
कर्तव्य मानेर बगेको
वायु रोकिनेछ
पक्कै यो धर्ती 'धर्ती' रहनेछैन
स्थिर हुनेछ त्यस्तै
जस्तो नाङ्गो नयनले देखिनेछ।
आदरणीय, उदाहरणीय, अनुकरणीय बुवा
जन्मदिनको धेरै-धेरै शुभकामना।