चियासँग मानिसको अनेक सम्बन्ध हुन्छ। कसैले बिहान उठ्ने बेला आफूलाई ताजा महसुस गराउन चियाको सेवन गर्छन्, कोही साथीभाइसँग चिया पिउँदै विभिन्न तितामिठा कुरा गर्छन्।
ठूलाबडाका लागि यो एक विभिन्न क्षेत्रका व्यक्तित्वलाई भेला गराई अनेक किसिमको योजना निर्माण गर्ने माध्यम पनि भएको छ। तर मेरो चियासँग अर्कै किसिमको सम्बन्ध छ। जसको अनुभव सायद अरुभन्दा फरक हुनसक्छ होला।
बाल्यकालमा चियाप्रति त्यति चासो नलिए पनि युवावस्थादेखि भने यसप्रतिको मेरो चासो हालसम्म निरन्तर बढ्दै गइरहेको छ। यसको कारण हो- तिमी।
मानिसको जीवन पनि विचित्र खालको हुँदो रहेछ। समयसँगै धेरै तितामिठा सम्झनाहरू बटुल्दै गइँदो रहेछ। समय परिस्थितिअनुसार ती सम्झनाहरू बेलाबेलामा याद पनि आउँदो रहेछ। तितो सम्झनाहरू प्रायः बिर्सिने हाम्रो बानी तर मिठा सम्झनाहरू बेलाबेलामा याद गरेर एक्लोपनामा छुट्टै किसिमको आनन्द लिन्छौँ।
धेरै वर्ष बितिसक्यो तिमीलाई भेटेको तर आज पनि यस्तो लाग्छ कि तिमी मसँग बसी चिया खाँदै रमाउँदै छौ। अब त चियासँग मेरो सम्बन्ध यसरी जोडिसकेको छ, जसरी मेरो सम्बन्ध तिमीसँग थियो।
मलाई याद छ, हामी पहिलो पटक भेटेको त्यो साँझ। साथीहरूमार्फत तिमीलाई पहिलो पटक भेटमा तिमीले मलाई सोधेको- ‘जाउँ चिया खान।’
मेरो मनमा त्यो तिम्रो आवाज यति स्पष्ट थियो कि लाग्छ, तिमी अझ पनि मसँग चिया खान पर्खिरहेकी छौ।
गर्मीको समय, काठमाडौं वसन्तपुरको खुला ठाउँमा रुखमुनि हामी पहिलो पटक चिया खाएको क्षण यति हदसम्म ताजा छ कि मानौँ, म अझ पनि तिम्रो छेउमा बसि चियाको आनन्द लिइरहेको छु।
तिमीलाई सायद थाहा थिएन होला, म चियाप्रति त्यति चासो नभएको केटो कसरी विस्तारै थाहै नहुने गरी तिमीसँगको हरेक भेटघाटमा ‘चिया प्रेमी’ हुन पुगेँ र तिम्रो हरेक रमाइलो क्षण चियाको चुस्की साथ बटुल्दै गएँ। अहिले पनि चियाको हरेक कपसँगै तिमीलाई म आफू छेउमा महसुस गर्दछु।
एक कप चियाले हामीलाई त्यति हदसम्म नजिक लिएर जान्छ भने कुरा सायद कसैले कल्पना पनि गर्न सकेको थिएन। विस्तारै चियाको हरेक चुस्कीसँगै हामी नजिकियौँ र एकअर्काका भाव मर्महरू बुझ्न थाल्यौँ। समयसँगै चियाको प्रत्येक कपले हामीलाई नजिक लिँदै आयो र मैले ती मिठो क्षणहरूलाई सम्झनामा कैद गर्दै गएँ, चियाको हरेक चुस्कीसँग त्यसलाई सम्झिँदै मुस्कुराउन पनि सिकेँ।
म अझ पनि सम्झिन्छु, वसन्तपुरको एउटा क्याफेमा हामी भेटेको त्यो क्षण। त्यो पहिलो पटक थियो जुनबेला तिमीले मेरो हात थामी आफ्नो मनको कुरा असजिलो महसुस गरी भन्यौ।
तिम्रो त्यो कुराले एकछिन म यति धेरै आत्तिएँ कि मेरो हातले टेबलमा राखेको त्यो चियाको कप क्याफेको कुनामा झरेर फुट्यो र त्यसको आवाजले त्यहाँ काम गर्ने मानिसहरूको भिड जम्मा भयो।
‘दाइ, के भएको?’ भनी एकजना काम गर्ने भाइले समेत सोधेको थियो।
एकछिन तिम्रो मुहार पनि तिमीले मलाई भन्न नहुने र केही गलत कुरा भन्यौ कि जस्तो देखिरहेको थियो। तिमी एकदम मौन र गम्भीर थियौ। काम गर्ने भाइलाई ‘केही होइन, कप फुटेकोमा आई एम सरी, बरु मलाई अर्को चियाको कप ल्याइदिनू’ भनि अनुरोध गरेको थिएँ।
काम गर्ने भाइ गएलगत्तै हामी एकअर्कालाई एकदम गम्भीर भई आँखा जुधाइरह्यौँ। तिम्रो मनमा के खेलिरहेको थियो भन्ने कुरा म बुझ्न सक्थेँ। तिम्रो घाँटीको नशाबाट तिम्रो मुटुको ढुकढुकी कति धेरै ढुकढुक भइरहेको थियो होला, म स्पष्ट महसुस गर्न सक्थेँ।
एकछिन त तिमीलाई म के भनुँ भन्ने जस्तो भयो किनकी धेरै दिनदेखि म पनि तिमीसँग त्यही कुरा भन्न र सोध्न चाहिरहेको थिएँ। तर तिमीसँगको सम्बन्धमा दरार आउँछ भने डरले तिमीलाई सोध्न आँट पनि गरिनँ। मेरो जवाफ सुनेर तिम्रो खुसीको त्यो आँसु अझ पनि म महसुस गर्न सक्छु।
त्यहाँ भएका मानिसहरूको भिडमा हामी यसरी अंगालिन पुग्यौँ मानौँ हामी दुई जना बाहेक त्यो संसारमा कोही पनि थिएन। पहिलो पटकको तिम्रो न्यानो अंगालोमा म आफूलाई विलीन हुन पुगेँ। केवल तिमी र म, र त्यो पहिलो पटकको मायाको महसुस जुन कहिल्यै पनि अन्त्य नभएको भए हुन्थ्यो भनी म आज पनि प्रार्थना गर्छु।
हामी अंगालोमै बाँधिएको केही समय बितेको होला, काम गर्ने भाइले चियाको कप टेबलमा राखेर गयो। अनि हामी पुनः चियाको स्वादसँगै रमाउँदै आफ्नो नयाँ सम्बन्धको सुरुआत त्यहाँबाट गर्यौं।
समय बित्दै गयो। तिमीसँगको मेरो सम्बन्ध हरेक क्षण, हरेक दिन, हरेक चियाको कपसँग गाढा हुँदै गयो। मलाई अझ पनि याद छ, कतै बाहिर घुम्न जानु पर्दा के गर्न जाने भनी छलफल गर्दा प्रायः तिम्रो एउटै जवाफ ‘के गर्ने नि? सँगै बस्ने, रमाइलो गर्ने अनि चिया खाने’ भन्ने हुन्थ्यो।
फरक ठाउँको फरक चियाको स्वादसँगै हामीबीच विभिन्न राम्रा कुराहरू हुनथाले। जसरी दूधमा चिनी र चियापत्ती घुलि विलीन हुन्छ, हामी पनि एकअर्कामा त्यसरी नै विलीन हुन थाल्यौँ। यसले हामीबीचको सम्बन्धलाई चियाको अनेक स्वादसँगै कहिल्यै नछुट्टिने गरी नजक ल्याउँदै गइरहेको थियो।
चियाको स्वाद सायद धेरै मिठो भएर होला, हाम्रो त्यो मिठो सम्बन्धमा कसैको आँखा लागेको थियो र नचाहँदा नचाहँदै तिमीलाई मबाट टाढा हुनुपर्यो।
‘सुशिल, अब तिमी कोसँग चिया खान्छौ?’ यो प्रश्न सायद म कहिले पनि बिर्सिन सक्दिनँ।
‘चियाको हरेक कपसँग बिताएको क्षणहरू तिमी मलाई, मेरो जीवनभरको लागि उपहार दिएकी छौ। चिया खाने बेला तिमीसँग बिताएको त्यो मिठो क्षण, ती शब्दहरूसँग कुरा गर्नेछु र तिमीसँग नै चिया खानेछु,’ तिम्रो प्रश्नको झुटो जवाफ दिँदै तिमीलाई अंगालोमा राखेको क्षण अझ पनि मलाई राति सुत्न दिँदैन।
तिमीलाई भौतिक रुपमा देख्न नसके पनि तिमी सायद मलाई देखिरहेकी छौ। कहिल्यै नबिर्सनू, तिमीसँग बिताएको हरेक क्षणलाई मैले चियाको हरेक चुस्कीसँगै मनमा कैद गरी राखेको छु। जुन निरन्तर चलिरहने र कहिल्यै अन्त्य नहुने यात्रा हो।
तिमीले पहिलो भेटघाट र अन्तिम समयमा चियाको लागि सोधेको प्रश्नहरूसँगै मलाई चियाको हरेक चुस्कीसँगै एक्लै बाँच्न सिकाएर गयौ। ती प्रश्नहरूमा केही समानता थिए भने केही भिन्नता पनि थिए।
सायद ती भिन्नताहरूलाई सम्मान गर्न म असक्षम भएँ होला। त्यही भएर सायद नचाहरे पनि तिमीलाई मसँग टाढा हुनुपर्यो। तर चियाको हरेक कप र चुस्कीसँगै जीवनका ती हरेक पलहरूमा तिमी सत्य थियौ र आज पनि सत्य छौ।