त्यो उनको मामाको घर थियो। आलिशान बंगला। उनले हिँड्दै आउन भनेकी थिइन्। त्यो पनि अन्धकार रातमा। उनी म त्यहाँ गएको कसैले देखोस् भन्ने चाहन्न थिइन्।
उनको निम्तो म कसरी टार्न सक्थें र! मम्मीलाई साथीको घरमा जाँदैछु भनेर झूट बोलेँ। मोटरसाइकल लगेर एउटा होटलभित्र राखेँ। त्यहाँबाट हिँडेर उनको मामा घर पुग्न झन्डै आधा घन्टा जति लाग्यो। ठाउँ-ठाउँमा कुकुरहरू लखेट्न आए। मेरा विरोधमा गल्ली थर्काउने गरी भुके। म चुपचाप हिँडिरहें। मनमा उनी सवार भइसकेपछि केको डर? मन निकै चञ्चल बनेको थियो।
कौतुहलताले भरिएको थिएँ म। जब उनको मामाको घर नजिकै पुगें मैले उनको आग्रह अनुसार मिसकल गरें। उनी बाहिर गेट नजिकै बत्ती निभाएर मेरो प्रतीक्षामा बसेकी रहिछन्। गेट खुलेपछि म बिरालोको चालमा भित्र पसें। उनले मलाई ग्वाम्म अंगालोमा कसिन्। मैले कोठामा जान बल गरें उनले डोर्याउँदै बैठकको सोफामा बसाइन्। ज्यान मलाई सुम्पिइन्। मनमा यौवनको ज्वारभाटा उत्पन्न भयो। अर्कोतर्फ डर पनि उत्तिकै लागिरहेको थियो।
यो सबै मलाई फसाउनलाई बिछ्याइएको जाल त हैन!
उनको अंगालो फुकाउँदै मैले भनें – किन यति धेरै हतार? आजको रात सिंगै छँदैछ। तै उनले छोड्न मानिनन्। लाडिँदै भनिन् – डियर जति बेला जे गर्न मन हुन्छ नि त्यो गरिहाल्नुपर्छ फेरि त्यो समय र मौका कहिल्यै फर्किंदैन।
भोजनभन्दा भोक मिठो– तिमी भन्दा तिम्रो प्यार मीठो।
उनको ढिपीको अगाडि म लाचार थिएँ। एउटा जवान युवाको मनमा यौनकांक्षा नहुने त कुरै थिएन। तर, मैले उनी सँगको पहिलो भेट भएको हुँदा यति धेरै कल्पना नै गरेको थिइनँ।
हामी किचेनमा पुगेर खाना खायौं। च्याउको तरकारी, मासको दाल र आलुको अचार निकै स्वादिलो पकाइकी थिई। मैले भनें- कति मीठो खाना बनाइछौ।
उसले भनेकी थिई – म तिमीलाई जीवनभर यसैगरी मिठो खाना खुवाउन सकूँ – मेरो पति देव! उसका पछिल्ला वाक्यले मलाई झनै भावनात्मक बनायो। उसको मनमा खोट छैन र ऊ मलाई पतिको रूपमा स्वीकार्न मनैदेखि तयार रहेछ भन्ने मैले बुझेपछि म पनि एक श्रीमानको रूपमा प्रस्तुत भएँ।
भावना सुन्दर पनि उत्तिकै थिइन्। हाम्रो जातपात पनि मिल्ने। ऊ घरकी कान्छी छोरी थिई। म पनि कान्छो। भावना एक महिना अगाडि मात्रै हाम्रो अफिसमा ज्वाइन भएकी थिइन्। मोटरसाइकल चलाउन सक्ने, परेको बेला कुद्न सक्ने केटा कर्मचारी अफिसलाई चाहिएको भए पनि मेरै कर बलले चिटिक्क परेकी केटी कर्मचारी राख्दा सेवा प्रवाह थप प्रभावकारी बन्छ भन्ने मेरो तर्कले जितेपछि उनी सौभाग्यबस छनोटमा परेकी थिइन्।
नजानेको कुराहरू सोध्न आए पनि मैले उनलाई एउटा स्टाफको रूपभन्दा फरक मनले कहिल्यै सोचेको थिइनँ। नियालेको थिइनँ। त्यो दिन उनले काम गर्दा गल्ती गरेको कुरा मैले फाइल रूजु गर्ने क्रममा पत्ता लगाएको थिएँ।
त्यही भएर मैले उनलाई भनेको थिएँ – भावना तिमी अहिले अफिस आएर गरेको गल्ती सच्याऊ। तर, उसले म एउटा केटी यतिखेर कसरी हिँडेर अफिस आउन सक्छु। अफिसमा त हजुर एक्लै होला? अरू देख्नेहरूले पनि के भन्लान्? प्लिज सर – मेरो मामाको घरमा हजुर नै त्यो फाइल बोकेर आउनु पर्यो। म त्यसभन्दा पहिले पनि एक दिन उनलाई मेरो मोटरसाइकलमा छोड्न गएको थिएँ। त्यो पनि उनकै आग्रहमा। केही परबाट आफू बस्ने घर देखाएर उनले मलाई फिर्ता पठाएकी थिइनँ। एकछिनमा फेरि उनको फोन बज्यो। आफू आउनका लागि तयारी अवस्थामा रहेको कुरा गरें।
उनले एक सासमा भनिन् – आज घर मम्मीलाई म साथीको जान्छु भनिदिनुस् – मैले खाना यतै बनाएकी छु। मामाको घरमा। सबै हुनुहुन्छ। मलाई केही कुरा सिक्नु पनि छ। हजुर मोटरसाइकल कतै राखेर हिँड्दै आउनु होला। यहाँ आइपुगे म्यासेज गर्नुहोला। म प्रतीक्षामा बस्ने छु। यति भन्नासाथ भावनाले फोन काटेकी थिइन्। मैले कुरै राख्न पाइनँ। मैले आफू घर जानु पर्ने र बास बस्न नसक्ने आग्रहका साथ फोन गर्न खोजें। भावनाको मोबाइलमा फोन नलाग्ने भइसकेको थियो। बरू भावनाको फेरि म्यासेज आयो।
‘सर प्लिज, जसरी नि आउनु है र यहाँ आइपुगे मलाई म्यासेज गर्नुहोला म गेट खोल्न आउने छु। म पुग्दा घरको बाहिरको बत्तीहरू कुनै पनि बालिएका थिएनन्। एउटा कोठामा मात्रै पर्दाबाट बत्ती बालेकोे उज्यालो फुस्किएको थियो।
उनको मामाको घरमा पुगेर मैले आफू पुगेको जनाउ स्वरूप म्यासेज गरें।
एक सेकेण्डमै गेट खुल्यो। मतलब उनी बाहिर गेटमै मेरो चाल सुनेर बसेकी रहिछन्। त्यो दिन शुक्रबार थियो। भावनाका मामा घरका सबै काम विशेषले गाउँ गएका रहेछन्।
रातभर भावनाले मलाई धेरै भावनात्मक बनाइन्। सिन्दुर हाल्न लगाइन्। कहिल्यै धोका दिने छैन, कुट्ने पिट्ने छैन र छोडेर जाने छैन भनेर वाचा कसम खुवाइन्। मेरो मनमा त कोही थिएन। घरमा पनि मम्मीले बुहारी भनेर हैरान पार्नु भएको थियो। त्यसैले मैले उनका सबै वाचा बन्धनहरू स्वीकार गरिदिएँ। त्यसपछि उनले अन्तिममा तत्कालै बिहे नगर्ने र अफिस कार्यालयमा पनि आफूहरू बीचको सम्बन्धको छनक समेत कसैलाई हुन दिने छैनौं भनेर पनि वाचा गर्न लगाइन्। त्यो पनि मैले स्वीकार गरें।
दिनहरू बित्दै थिए। अफिसमा उनी नजानेको कामहरू लिएर आउँदा अरू कर्मचारीलाई जस्तै व्यवहार गरी मैले सहयोग गर्थें। अक्सर हाम्रो भेट शुक्रबारतिर हुुने गर्दथ्यो। कि भने उनका बुवा आमा गाउँ गएको समयमा। उनका आन्टीहरू पनि धेरै थिए। आन्टीहरू काम विशेषले कतै जाँदा उनी घर रखवालमा जान्थिन्। उनको रखवालको लागि म। उनको कान्छी आन्टीको घरमा धेरै त्यस्ता बसाइ भए। किनकी कान्छी आन्टीको जागिर थियो। उनी कहिले कता र कहिले कता गइरहन्थिन्।
हाम्रो प्रेम गुपचुप आपसमा झागिँदै थियो। मौलाउँदै थियो। घना बाँसको घारीजस्तै भइसकेको थियो। हामीबीचमा अघिल्लो वर्ष मंसिरमा आफ्नो तीन चार वर्षको प्रेमलाई बिहेमा परिणत गर्ने सल्लाह भइरहेको थियो। एउटा श्रीमती ठानेर मैले उनलाई अदृष्य रूपमा सबै सहयोगहरू गर्दै आएको थिएँ। स्कुटी मैले नै किन्देको थिएँ। उनको सबै पढाइ खर्च मैले नै बेहोर्दै आएको थिएँ। कति सम्मकी भावनाको आग्रहमा आन्टीहरूका धेरै कामहरु समेत गरिदिएको थिएँ। पछि उनका छ जना आन्टीहरूमध्ये केहीले हाम्रो सम्बन्धबारे सुइँको पाए। तर, उनीहरू पनि हाम्रो सम्बन्धबाट खुसी नै थिए। भावनाका साथीजस्ता मामा बोल्न धक मान्न थालेका थिए। मलाई पनि मनमनै लाग्थ्यो, तिम्रो भान्जीको हुने वाला श्रीमान न हुँ , सित्तैमा किन बोल्ने। टीका टालो गरी पुजेपछि बोलौंला। कल्पिन्थें – आज जति ठूलो बन, भोलि तिम्ले पनि मलाई पुज्नै पर्ने छ। मेरो गोडा ढोक्नु पर्ने छ।
हाम्रो सम्बन्धबारे मैले घरमा मम्मीलाई पनि भनिसकेको थिएँ। मम्मी भन्ने गर्नु हुन्थ्यो – बिहेपछि त जतासुकै जा तर बुहारी बजार लैजान पाउँदैनस् मेरो साथी हुन्छिन् मसँगै छोड्नु पर्छ नि!
मैले ‘हुन्छ’ भनेको थिएँ।
बिहेपछि जागिर छुटाएर घरमै राख्ने मम्मीका सर्त व्यवहारिक कसरी तुल्याउने भन्ने बारेमा भावनासँग पनि सल्लाह भएका थिए। उनले पनि मम्मीको चाहना अनुरूप आफू गाउँमै बस्ने र जागिर जीवन छोड्नमा सहमत थिइन्।
‘कमाउने तिमी छौ, मलाई के को टेन्सन, घरमा अन्नपात सस्तै हुन्छ। आमासँग करेसा बारीमा काम गर्दै बस्छु। साँझ तिमी अफिसबाट आउँदा मिठो पकाएर बसूँली।’
तर, जब दशैं सकियो भावनाको व्यवहारमा एकाएक परिवर्तनहरू देखापर्न थाले।
मसँग निकै कम बोल्ने, झर्किने, रिसाउने, फोन र म्यासेजमा पनि कुरा गर्न नचाहना व्यवहार बढ्दै जान थाले। उनका व्यवहारहरू देखेर म चकित थिएँ। अघि पछि हरेक शुक्रबार निम्ता दिन उनले पछिल्लो दुई महिनायता त्यसमा कुनै चासो पनि दिएकी थिइनन्। मैले सोचें चाडपर्वले व्यस्तता बढायो होला। म आफैं प्रस्ताव गरी हेर्छु।
दिउँसो १ बज्दै गर्दा ‘आज त शुक्रबार हो नि ?’ मैले म्यासेज गरे।
उसले २० मिनेट पुग्दा पनि कुनै जवाफ फर्काइनन्। मैले फेरि ‘मिस यू’ लेखेर पठाएँ।
भावनाले ‘सरी’ मात्र लेखिन। अफिसपछि पनि मेरो मुखमा नहेरी स्कुटर स्टार्ट गरी बत्ताइन्। उनको व्यवहारले मन निकै भारी भयो। वासरूममा गएर आँसु पुछें। मुख धोएर निस्किएँ। एउटा बैंकको साथीले म्यासेज गर्यो।
‘ल आज गेट टुगेदर गरौं।’ मैले ‘खुसी छैन मन’ भनेर म्यासेज गरे। बेखुसी मनले कसरी रमाउनु।
उसले तु फोन हान्यो। सुख दुःखको साथी नै प्याला हो। लौ आज केहीबेर बसौं। साथीको जिद्दीका कारण हामी एउटा तुलसीपुरको चलेको होटलमा पस्ने सल्लाह भयो। जसमा छुट्टाछुट्टै क्याबिनहरू थिए। म साथीभन्दा पहिल्यै पुगें। कफी अर्डर गरें।
मेरो क्याबिनको सम्मुखको क्याबिनबाट भावनाको आवाज सुनें। उनको स्वासप्रस्वास चिन्न सक्ने भइसकेको मैले उनको आवाज नचिन्ने कुरै भएन। केटो बोल्यो अलि नजिक आउन – भावना लाडिँदै बोलिन् – डर लाग्छ।
उसले फेरि भन्यो – म आफैं नजिक आम् त। भावना केही बोलिनन्। केहीबेर सन्नाटा छायो। फेरि उसले चुम्मा देऊ न भन्यो, उसले भनी- लाज लाग्छ। म आफैं दिम् त – उसले केही बोलिन। फेरि केहीबेर सन्नाटा छायो।
अब यो भन्दा बढी सुन्न सक्ने क्षमता ममा थिएन। म तुरून्तै कफी त्यही छोडेर निस्किएँ। बैंकको साथी गेटमै भेटियो। उसलाई होटलका क्याबिन कुनै पनि खाली नभएको भन्दै अन्यत्र लगेर गएँ।
लगातार दुई दिन बिदा परेको थियो। तेस्रो दिन भावना राजीनामा दिन आएकी रहिछन्। मैले किन भनेर सोधें। उनले फ्याट्टै बोलिन्- मैले बिहे गर्न थालें। म बसेको कुर्सी भासिएझैं भयो। भुइँचालो गएजस्तै भयो। तर, पनि म सम्हालिँदै सोधें- कोसँग ? उनले केटाको नाम सुनाइन। मैले कुनै प्रतिक्रिया जनाइनँ। 'तिम्रो खुसी' मात्रै भनें। ‘अब छिट्टै बिहे गरेर म पनि जापान जाने हो त्यसैले के यहाँको जागिर गर्नु भनेर राजीनामा दिन थालेको।’
मैले ‘हुन्छ’ भनिदिएँ।
आफूलाई कार्यालयको काममा ब्यस्त देखाउँदै आधा घन्टामा आउन आग्रह गरें। उनी झन्डै पौने घन्टापछि मेरो क्याबिनमा छिरिन्। उम्किन खोजिरहेका उनका आँखामा आँखा जुधाएँ। उनका नजर झुके। अब उनलाई थप झुकाउन हुन्न भन्ने ठानेँ। मैले उनलाई साँचो माया गरेको हो र गर्छु पनि। मैले सत्य कुरा बोलें। ‘के भो त बिहे गर। हनिमुन मनाउन बिदा पनि दिउँला। बिहेपछि तत्कालै विदेश जानु परे पनि जानु। कथमकदाचित भने जस्तो भएन र ढिला भयो भने जागिर किन छोड्नु आखिर बिहे यही बजारमै हुँदैछ।’
मेरो कुरामा उनी सहमत भइन्। राजीनामा आफैंसँग लगेर गइन्। आज पनि उनी अफिस आइरहेकी छन्। उनका विदेश यात्रा सम्भवत यही महिनामा हुँदैछ। उनको थप प्रगति होस् भन्ने मेरो चाहना छ।
यो बीचमा उनले आफूले हतारमा निर्णय गरेर गल्ती गरेको कुरा नजिकका मान्छेहरूसँग गर्न थालेको सुनेको छ र विदेश जान अन्तिम समय आउँदा पनि यसपालि उनी फेरि राजीनामा पत्र लिएर मकहाँ आएकी छैनन्।
उनी जुन दिन आउने छिन शुभकामनासहित राजीनामा स्वीकृत गर्नेछु। र मनमनै वाचा पनि गर्नेछु – मेरी हुन नसकी श्रीमतीज्यूलाई जीवनभर अप्रत्यक्ष रूपमा भए पनि सक्दो सहयोग गर्नेछु। उनी जुन देश जाने छिन् कसम– जसरी हुन्छ – त्यो देशमा एक महिना उनको वरिपरि उनका खुसीहरू नियालेर आउने छु। अनि बल्ल आएर म पनि बिहे गर्नेछु।