कसलाई पो थाहा छैन र?
जाँदा एक्लै जानुपर्छ।
त्यै पनि यो मन त,
हरेक पाईलामा साथ खोज्दै,
सँगैसँगै अघि बढ्न पो खोज्दोरहेछ।
स-साना कुरा समेट्दै,
सम्झनाको बारीमा,
कोपिलादेखि फुल्दासम्म
बसन्तदेखि झरीसम्म।
यस यात्रामा,
एकपछि अर्को घुम्ती पार गर्दै,
समयका पाईला पछ्याउँदै,
तिता,मिठा अनुभूतिको भारी
सँगाल्दै,गन्तव्यतिर लम्किरहेका छौं।
मन चाँहि अनिश्चित अविरल,
समुन्द्र छुने असंख्य नदी झै,
नपर्खी,नफर्की निरन्तर बगिरहेछ।
नियतिले सबैको समुन्द्र छुने,
खरानी भई पंञ्चतत्वमा मिल्ने,
समय तोकेकै हुन्छ।
तर यस रंगमञ्चका हरेक पात्रले
आफ्नो सम्बन्धमा अपनत्व,
हेराईमा निश्चलपन र
हृदयमा न्यानोपन पो खोज्दो रहेछ।
आउनु र जानु त नियमित प्रक्रिया हो।
गए पछि नि सम्झनामा रहिरहनु नै,
जीवनलाई सहि अर्थमा सार्थक बनाउनु हो!