भो उसलाई नबोलाऊ
ऊ अहिले घाइते अवस्थामा छ
ऊ आफ्नै सुरले उठेर टोलाउँछ
बोलाउनु कसैलाई छैन उसले
ऐना हेरेपछि
ऊ आफैलाई बोलाउँछ
रिस गर्नु छैन कसैलाई
ऊ आफैलाई रिस गर्छ
सम्झाउनु छैन कसैलाई
बत्तीहरू निभेका छन् बजिया भन्दै
ऊ आफैलाई सम्झाउँछ
भो नबोलाऊ
उसलाई आफ्ना आँसु लुकाउनु परेको छ।
ऊ अहिले घोप्टो परेर रोइरहेको छ
यतिखेर उसको आत्मा
कोदालीको धारले भेटेको
गँड्यौलाजस्तै छटपटाइरहेको छ
अशुभ सपना देख्नुभन्दा अघिल्लो रात
उसको निधारले डाडुको डन्डी खाएको छ।
उसलाई बोलाउनुमा
उसलाई चलाउनुमा
तिमीलाई बढो रमाइलो लाग्छ
उसको बेदनामा हाँस्नको लागि
चिथोरेको महको चाकाबाट
मह झर्न लागेजस्तै गरी
तिम्रो ओठमा रसिलो गरी
हाँसो तपतपाइरहेको छ
ऊसँग बोल्नको लागि
तिमीसँग थुप्रै उटपट्याङ गफ छ
तिम्रो मस्तिष्कभरि
अश्लील शब्दहरूको भकारी छ
त्यो भकारी फोरेर
उसको आत्ममा बिस्कुन सुकाउन पाएदेखि
चोरेको सम्पत्ति लुकाउन सकेजस्तै
तिमीलाई आनन्द प्राप्त हुन्छ
भो अहिलेलाई यस्तो हर्कत नगरिदेऊ
उसलाई त्यही एकान्तमा
घोप्टो परेर रोइरहन देऊ
उसको जीवनमा यस्तै समय आएको छ
बारम्बार त्यो प्राणीले डाडुको डन्डी खाइरहेको छ
उसले निकै दिनदेखि
एक डाडु दाल पिउन नपाएर
एक डाडु दाल पिउने आशमा
उम्लिरहेको दालको छेउमा पुगेर
घुटुक्क थुक निल्दै दाललाई हेरिरहेको थियो
छिट्टै पिइहाल्ने दाउमा
ऊ भनिरहेको थियो
पाक्यो होला... पाक्यो होला...
पाक्यो होला भन्दाभन्दै
आकस्मिक रुपमा चट्याङ बज्रिए जसरी
उसको पुर्पुरोमा डाडुको डन्डी बज्रियो
अचम्म यो भयो
तातो डाडुले किन पोलेन उसलाई?
सायद उसको भोकलाई पोल्यो
पोल्दै-पोल्दै दाल यतै लतपतियो, उतै लतपतियो
अलिकति केही दाल निदारमा पर्यो
अलिकति केही दाल
झुल्फी नाघेर पारि तर्यो
अलिकति केही दाल
ओठमाथिको जुँगामा पर्यो
त्यही जुँगाको टुप्पाको दाललाई
जिब्राको टुप्पाले तान्दै
अँ ठिक छ, नुन लागेको छ भन्दाभन्दै
अर्को पनि डाडुको डन्डीको आयो
त्यसपछि त अरु के-के भयो के-के भयो
ऊ आफैलाई चाहिँ तिरमिराउँदै
तोरी बारी पुगेजस्तो भयो।
तिमीलाई त्यो डाडुको स्वाद थाहा छैन
त्यसको स्वाद जति चाख्नु
उसैले चाखेको छ
निधारमा लगेको डन्डीले
उसको मुटुसम्म दुखाइदिएको छ
नबोलाऊ तिमी, शान्त रहू
उसले साह्रै नमिठो गरी
यो जिन्दगीमा बारम्बार डाडुको डन्डी खाएको छ।
निकै दिनदेखि
उसको निधारमा एउटा
गुच्चा जत्रो टुटुल्को उठेको छ
टोपीले छोप्न पनि
टुटुल्को अलि तलै भएर
छोप्न अप्ठ्यारो भएको छ
मान्छेले देख्यो कि प्रश्न गरिहाल्छ
यो के भएको?
भन्नलाई त
यो खाटमा ठोकिएको भन्दा पनि हुन्थ्यो
यो भित्तोमा ठोकिएको भन्दा पनि हुन्थ्यो
दैलाको संगारमा घुघुती खेल्न पुगेको भन्दा पनि हुन्थ्यो
अब त त्यसरी ढाँट्न पनि नमिल्ने भैसक्यो
किनकी डाडुको डन्डी हान्ने मान्छेले
सत्रसहर प्रचार गरिसक्यो
हो, त्यसको निधारमा
मैले हो पच्काइदिएको
निदारमा उठेको
सिङ जत्रो टुटुल्को
हो, मैले हो उठाइदिएको।