‘छिट्टै फर्केर आउँनेछु
नआत्तिइकिन बसे है’
भनेर तिमी बाटो लाग्यौ
देखुन्जेल हेरिरहेँ
बाटो लागेकोलाई
आँसुले छेक्न सकिनँ
न त नजाऊ नै भन्न सकेँ!
गएको दिनदेखि
तिम्रा यादहरू
भरी अम्खोराहरूमा
हरेक बिहान
गुर्धौली फूल र
दुबोका मुन्टाहरूले सजाइरहेछु!
तिमीले दिएर छोडेको
माटोको सानो खुत्रुकेमा
तिम्रा र मेरा बँचेकुचेका
रहरका साना-ठूला सिक्काहरू
एक-एक गर्दै जम्मा गरिरहेछु
तिमी फर्केपछि
संगालिराखेका हाम्रा रहरका सिक्काहरू
असरल्ल भुइँभरि छरेर
फेरि एकपटक
सँगैसँगै गन्न मन छ!
तिमी नआउन्जेल
म तिमीलाई
त्यही ठाउँमा कुरिरहनेछु
जहाँ पहिले
तिमी एकरात कतै जाँदा पनि
कुरिरहन्थेँ
एकान्त
निष्पट अँधेरी रात
घुमाउने घरको मझेरी
पुरानो पराले गुन्द्रीमा
टुक्रुक्क बसेर
टुलुटुलु दैलोतिर हेर्दै
धिप-धिप बलेको
सानो टुकीमा
मट्टितेल थप्दै-थप्दै।