केही वर्ष पहिले
तिमीलाई भेट्न म तिम्रो घर आएको थिएँ
त्यतिखेर प्रयोशालामा तिमी
एउटा अनौठो बोट उमार्न व्यस्त थियौ
बोट जसको जरा नहोस्, हाँगा नहोस् र पात पनि नहोस्!
त्यसको केही वर्षपछि अर्थात् आज
मलाई भेट्न तिमी मेरो घर गएका छौ।
मैले तिमीलाई सोधेको छु-
‘मित्र, बोट उमार्न सक्यौ त?’
‘सकेर प्रयोगशालामा राखेको थिएँ
तर कसैले चोरी गरिदियो’
मलिन आवाजमा यति मात्र भनेर
तिमी चुपचाप भएका छौ
र झ्यालबाहिर कतै हेर्न लागेका छौ।
आवरणमा आत्तिँदै
तर मनमनै हाँस्दै सोधेको छु-
‘चोरी हुनपर्ने बहुमूल्य सिद्धान्त थियो र त्यो?’
तिमी भनिरहेका छौ-
‘चोरी हुनुपर्ने बहुमूल्य सिद्धान्त नभएको भए
कसैले त्यसलाई चोर्थ्यो नै किन?
फेरि चोरी भइसकेपछि
यी गाउँहरू, यी सहरहरू अनि यी मानिसहरू
एकाएक मेरो बोटजस्तै कसरी भए?
म कसरी भएँ?
तिमी कसरी भयौ?’
म सोच्दैछु-
‘म त्यो बोटजस्तै कसरी भएँ?’
यत्तिकै झस्किने गरी तिमीले फेरि भनेका छौ-
‘बरु भन, त्यो बोट तिमीले कसरी चोरी गर्यौ?’
अनि फन्केर ओझेल भएका छौ।
ओझेल मनमा? नजरमा? कि कोठामा?
पत्तो पाउन नसकेर फेरि सोच्दैछु
‘म त्यो बोटजस्तै कसरी भएँ?’