नदीको बीचको ढुङ्गा
हिउँबाट पग्लेर बग्दै-बग्दै आएको पानी
आफैलाइ भेट्न आएको भ्रममा मक्ख छ
पाउनेछ केहीछिनको सामीप्यता बाटो नभेटुन्जेल
विडम्बना पानीलाई छिट्टै पुग्नु छ समुन्द्र
छुटिन्छ जान्छ।
व्यस्त सहरको कुनै बसपार्क
हतार-हतार गुड्दै आएका गाडीहरू
आफैलाइ भेट्न आएको भ्रममा मक्ख छ
दिन्छ साथ पनि यात्रुहरूले नभरिउन्जेल
विडम्बना गाडीलाइ फेरि तय गर्नुछ आफ्नै यात्रा
छुटिन्छ जान्छ।
त्यो डाँडामाथिको बरपिपल चौतारी
भारी बोकेर आएका भरिया
आफैलाई भेट्न आएको भ्रममा मक्ख छ
खेल्छन् सुसेलीको दोहोरी थकाइ नमरुन्जेल
विडम्बना भरियालाई पुर्याउनु छ भारी मालिककहाँ
छुटिन्छ जान्छ।
ढकमक्क फुलिरहेको बगैँचाको फूल
घारबाट निस्केर आएको माहुरी
आफैलाइ भेट्न अएको भ्रममा मक्ख छ
साट्छन् ओठका स्पर्शहरू पनि रस नसकिउन्जेल
विडम्बना माहुरीलाइ बनाउनु छ अर्कै घारमा मह
छुटिन्छ जान्छ।
यति देख्दा देख्दै पनि जब तिमी आयौ
मलाई तिमी कहिल्यै त्यो-
पानी हौ जस्तो लागेन
गाडी हौ जस्तो लागेन
भरियाहरू जस्तो लागेन
लागेन त्यो माहुरी हौ जस्तो पनि
लाग्यो तिमी त सिर्फ मेरी हौ
प्रिय मान्छे!
यही भ्रमले त आज म आफ्नोसम्म रहन सकिनँ
साँच्चै भ्रमको दुनियाँ क्या सुन्दर हुन्छ है?