सानो छँदा
बुवाले
दैलोमा शिर निहुँराउँदै भित्र
दैलोमा शिर निहुँराउँदै बाहिर
गरेको देख्दा लाग्थ्यो
म कहिले ठूलो हुने?
कहिले निहुँराउने शिर दैलोमा?
बेला आउँदा
दैलोमा शिर निहुँराउने
थाहा पाएँ
दैलोबाट बचाए पनि
समयमा ठोक्किने रहेछ शिर
कस्तो पीर!
भाग्यमा उठेको छ टुटुल्को।
के बन्ने नानी ठूलो भएपछि?
के गर्ने नानी ठूलो भएपछि?
सोधेर झुक्याउँथे ठूलाहरूले
ठूलो हुनुपर्यो
त्यत्ति जाबो थाहा पाउन कि
हुँदैन रहेछ केही, ठूलो भएपछि
हुने रहेछ थाहा, ठूलो भएपछि।
सानो छँदा ठूलो हुन त बाँकी थियो
केही बाँकी नहुने रहेछ ठूलो भएपछि।