तुवाँलोले गजधम्म छ काठमाडौं। रेडियो र सञ्चार माध्यमममा बिहान घरबाहिर ननिस्कन उर्दी जारी गरिएको छ। हिउँदमा भैँसेपाटीस्थित घरको आँगनबाट छ्याङ्ग देखिने हिमालको दर्शन गर्न अचेल औँसीपूर्णे कुर्नुपर्छ।
यस्तैमा दैनिक मर्निङ वाकको बानी परिसकेको उमेश पुसको चिसोमा चोभारको फन्को लगाउँदै गर्दा कलेज पोसाक लगाएका एक युगल जोडी बेफिक्री बसेको देख्दा आफ्नो पुराना स्मृतिका गहिराइमा पुग्छ र आफ्नी प्रेमीका उर्मिलासँग बिताएका पलहरू सम्झिन्छ।
कलेजका ती दिन जब प्लस-टु सिध्याएर सुन्दर भविष्यको खोजमा ऊ काठमाडौं हानिएको थियो। कलेजका केही दिनमै पूर्वी पहाडको चिसो हावापानीमा हुर्केको ऊसँग उर्मिला नजिकिएकी मात्र थिइनन्, बरु उसको पहिलो प्रेम प्रस्ताव नै स्वीकार गरेकी थिइन्।
उमेश रोमाञ्चित हुँदै सम्झिँदै थियो।
नेपालगंजबाट आफ्नो भाग्य र भविष्यको फैसला गर्न काठमाडौं छिरेकी उर्मिला दाइसँगै डेरा गरी अनामनगर बस्थिन्। उमेशको बसाइ भने घट्टेकुलातिर थियो।
उमेशले विगत सम्झिँदै गयो।
'दैवले जुराएर होला हाम्रो भेट भएको है,' प्रेम सम्बन्ध भएको दुई महिनापछिको पहिलो डेटमा उर्मिलाले कुरा कोट्याएकी थिइन्।
'विवाह, सन्तान, लक्ष्मी र विद्या सबै पूर्वजन्ममा नै निर्धारित हुन्छ रे,' उनले अगाडि थपेकी थिइन्।
'त्यसो भए हाम्रा सन्तान कति हुने भन्ने पनि निर्धारितै रहेछ,’ मैले जिस्कने पारामा सोधेको थिएँ।
'हो त' टाउको नउठाइ उर्मिलाले लजाउँदै जवाफ फर्काएकी थिइन्।
समय बित्दै गयो, पढाइ सँगसँगै प्रेमजाल पनि झाँगिँदै गयो। बेलाबेलामा हुने गोदावरी, चोभार, भाजंगल तथा हात्तीवन र खेतका छेउमा हुने डेटले थप रोमाञ्चकता थपिँदै गएको थियो।
'बिहेपछि पहिले प्रेम गर्ने केटा पछि झर्किँदै जान्छन् रे, धेरैको डिभोर्स पनि हुन्छ रे,' उर्मिलाले एक दिन अंगालोमा बेरिएरै भनेकी थिइन्।
'सबैको त्यसो हुन्छ त?' मैले झर्किँदै जवाफ फर्काएको थिएँ।
‘मैले कतै सुनेको आफूलाई मनपरेको चिज नपाउँदा मान्छे साह्रै आत्तिन्छ रे। आफ्नो पूरै शक्ति लगाएर त्यसलाई पाउन प्रयास गर्छ। जब उसले त्यो चिज प्राप्त गर्दछ अनि उसलाई त्यसको महत्व घटन थाल्दछ। त्यसैले त होला नि प्रेम विवाह धेरैको सफल हुन्न भन्छन् नि, हाम्रो पनि कतै त्यस्तै हुने त होइन?’
त्यस दिन भने उनी भावुक भएकी थिइन्।
'त्यस्ता अलक्षिण कुरा नगर न,' मैले त्यति मात्र भनेको थिएँ।
हात्तीवनको डाँडाको त्यो डेट त्यत्तिकैमा सिध्याएर पानीमा रुझ्दै त्यो दिन हामी आ-आफ्नो डेरातिर फर्केका थियौँ।
दिन बित्दै गए, दुवै जना गहिरो प्रेम सम्बन्धमा बाँधिँदै गयौँ। अब पहिलेभन्दा भेटघाट झनै बाक्लिँदै गयो। उता उर्मिला भने हरेक नयाँ भेटमा बढी नै सिरियस हुँदै जान थालेकी थिइन्।
'उमेश, तिमीलाई के थाहा नारीका वेदना! मेरो बस चल्थ्यो भने म तिमीलाई नारी बन्न लगाएर नारीका पीडा बुझ्न लगाउथेँ।'
'छ्या! कस्तो कुरा गर्या भने, अलि रोमान्टिक बन न। कति जहिले नि सिरियस बन्छ्यो,' मैले झर्किँदै भनेँ।
‘हैन उमेश, आज म तिमीसँग सिरियस्ली कुरा गर्न चाहन्छु। अब यसरी कति दिन हिँडुँला र? एउटा निर्णय त हामीले लिनैपर्छ। फेरि महिलालाई मात्र दोषी देख्ने हाम्रो समाजमा लामो समय प्रेम सम्बन्धमा बस्न पनि सकिँदैन। नारीले धेरै सोच्नुपर्दो रहेछ। तिमीलाई के थाहा छ नारीहरूको पीडा?
सति सीताले अग्नी परीक्षा दिँदा त नस्विकार्ने समाजमा हामी यसरी खुल्लम खुला हिँड्न सकौँला त? फेरि नारीको कुरा काट्ने नारी नै बढी हुन्छन् नि। त्यसो नहुँदो हो त सीतासँगै द्रौपदी पनि हाम्री आदर्श हुन्थिन् बुझ्यौ? तर हाम्रो समाजले द्रोपदीलाई आदर्श मान्छ त? अहँ! मान्दैन किनकी समाजलाई महिलाले विद्रोह गरेको कतै पच्दैन।
द्रोपदी यस्ती महिला हुन् जसले समाजले महिलामाथि गरेको थिचोमिचोलाई कतै सहिनन्। उनको चीरहरण हुँदा चीरहरण गर्नेको हत्या गर्न लगाइन्। उनको कपाल छुने दुस्साहस गर्ने दुस्शासनको रगतले आफ्नो कपाल धोइन्। आफ्नो चीरहरण चुपचाप हेर्ने राज्यसभाका सबै सदस्यसँग बदला लिइन्।
अर्थात् उनीले आफूमाथि भएको कुनै अन्याय सहिनन्। त्यसकारण समाजले उनलाई आदर्श मानेन। ठिक विपरीत सीताले आफूमाथिका सब अन्यायलाई चुपचाप सहेर आफै विलीन भइन्, यसर्थ उनलाई समाजले आदर्श मान्छ बुझ्यौ! अर्को कुरा, हेर उमेश जुन दिन यो समाजका सदस्यले द्रोपदीलाई आदर्श मान्छ नि त्यो दिनदेखि नै समाजमा महिलामाथिको हिंसाको पनि अन्त्य हुनेछ। तर त्यो कुरा अहिलेका नारीवादी नै स्वीकार्न सक्दैनन्।’
त्यस दिन उर्मिला साँच्चिकै दार्शनिक पारामा उत्तेजित हुँदै भनेकी थिइन्।
'ह्या भो! तिमी यस्तै कुरा मात्र गर्छ्यो। लु फर्कुँ। मैले डेरामा गएर खानाको जोहो पनि गर्नुपर्छ। तिम्रोजस्तो पकाको खाना खान पाउने भाग्य कहाँ छ र मेरो? तिमी आउछ्यौ र पकाको खान पाउँछु जस्तो लागेको थियो, खै त्यो पनि सपनै होला जस्तो छ। तिम्रा कुरा सुन्दा त विद्रोही नेता होलाऊ जस्तो छ, के बिहे गर्थ्यौ र मसँग,' मैले कुरोलाई बिट मार्दै अंगालोमा बेरेको थिएँ।
'छोड न उमेश, लोग्ने मान्छेको सुरै बेग्लै हुन्छ। कहिले त सिरियस पनि होऊ न। के गम्भीर हुनु आइमाईको मात्र काम हो र? साँच्चै भनुँ उमेश, मलाई अचेल पुरुष जातिप्रति नै घृणा हुँदैछ। समाजमा जता हेर्यो उतै थिचोमिचो छ। यो सब देख्दा त मलाई बिहे गर्ने कुरासँग पनि डर लाग्न थालिसक्यो,’ त्यो दिन उर्मिला अझ बढी गम्भीर भएकी थिइन्।
‘ह्या भो अब, लागौँ तिम्रो आज मुडै ठिक छैन जस्तो छ। अर्को दिन भेटौँला,’ दिक्क मान्दै मैले भनेको पनि थिएँ। मेरो यो प्रस्तावसँगै हामी आ-आफ्नो डेरा तिर लागेका थियौँ।
दिन बिते, महिना बिते। सब ठिक होला भनेको त सुरुका दिनमा बिहेको दबाब दिने उर्मिला विस्तारै बदलिँदै गएकी थिइन्। त्यसपछि त उनीसँगको भेट पनि पातलिँदै गएको थियो। भेट हुँदा पनि उनी बढी नै गम्भीर हुन थालेकी थिइन्।
त्यसपछि त धेरै दिनसम्म उर्मिला सम्पर्कमा आएकी थिइनन्। यता म अधर भैसकेको थिएँ। लामो समयसम्म भेट नहुँदाको छटपटाहटले म पानीबिनाको माछाको हालतमा पुगेको थिएँ।
महिनौँ दिनपछि पनि उर्मिलासँग भेट नहुँदा भावुक बनेको म एकदिन उनकै डेरामा गएर हालखबर बुझ्ने निर्णय लिए पनि जाने साहस गर्न सकेको थिइनँ।
भेट नभएको चार महिनापछि एक दिन दिक्दार मुद्रामा प्रदर्शनी मार्गको छेउमा उभिएको थिएँ। उर्मिलाकी साथी पुष्पासँग भेट भयो। सामान्य औपचारिकतापछि उर्मिलाका बारेमा सोधेको थिएँ।
‘तिमीलाई थाहा छैन र?,’ आश्चर्यचकित मुद्रामा पुष्पाले प्रतिप्रश्न गरेकी थिइन्।
‘अहँ’ मैलै जवाफ फर्काएको थिएँ।
त्यसपछि पुष्पा गम्भीर हुँदै उनी लापत्ता भएको खबर सुनाएकी थिइन्। उनी हराएको तीन महिना जति भयो रे। दाइ-भाउजूलाई समेत केही नभनी हिँडेकी रे। पुष्पा भनिरहेकी थिइन्।
म पुष्पाको मुखमा हेरिरहेको थिएँ। मनभित्र आफू उभिएको जमिन पूरै भासिँदै गएको भान हुँदै थियो। धेरै बेर टिक्नै सकिनँ। छिटो-छिटो बिदा मागी डेरातिर लागेको थिएँ।
डेरा पुग्दा झमक्क साँझ परेको थियो। भोकले पेटमा मुसा दौडिरहेको भए पनि खाना पकाउने जाँगर चलेन। त्यत्तिकै बिस्तरामा पल्टेँ तर निद्रादेवीको कुनै अत्तोपत्तो थिएन। आँखामा पुरानै स्मृति ताजा भैरहेका थिए।
चार वर्ष बितेका थिए उर्मिलासँग मेरा दिन। आरआर क्याम्पसले जुराएको हाम्रो भेट मित्रतासँगै हामी दुई प्रेमप्रेमिका भएका थियौँ। यो चार वर्षको हाम्रो संगतमा मैले उर्मिलालाई राम्रैसँग चिनेको थिएँ, बुझेको थिएँ।
उनी सामान्य केटी थिइनन्। बडो विद्रोही स्वभावकी जतिखेर पनि क्रान्तिकारी कुरा गर्ने, विद्रोहको कुरा गर्ने। हेर्नमा खासै सुन्दर नभए पनि म पहिलो भेटमै उनीसँग आकर्षित भएको थिएँ। उनमा थुप्रै नराम्रो कुरा हुँदा पनि म जहिले राम्रा कुरा मात्र खोज्न उद्धत हुन्थेँ।
कहाँ गइन् होलिन्, कतै विद्रोही पार्टीको सदस्य त भइनन्! मनमा चिसो पसेको थियो। उसो त उनको विद्रोही नेता र पार्टीसँग कुनै सम्बन्ध भएको मलाई थाहा थिएन। उनले पनि कहिले यस्तो कुरा मलाई भनेको पनि थिइनन्। तर उनको जिल्लातिर त्यो ताका माओवादी विद्रोह व्यापक हुँदै थियो। रोल्पाबाट सुरु भएको विद्रोहको लप्काले पूरै सुदूर र मध्यपश्चिम ढपक्कै ढाकेको थियो।
गाउँका युवायुवती ठूलो संख्यामा विद्रोही सेनामा समाहित भैइरहेका थिए। समाजमा अन्याय, अत्याचार महिला हिंसा तथा जातीय हिंसा बढ्दै गएकाले त्यसविरुद्धको युद्ध भनेर आफ्ना गाउँका युवायुवती पनि त्यतातिर आकर्षित भएको कुरा उर्मिला बेलाबेलामा सुनाउँथिन्।
रातभर निद्रा लागेन। आफ्नो प्रेम बिछोडिएको थियो। आँखामा उनकै तस्बिर थियो। उनीसँगका बिताएका क्षण र कुराहरू चलचित्रझैँ घुमिरहेका थिए।
'उर्मिला, तिमीले मलाई किन मन परायौ? न त म त्यस्तो आकर्षक छु न त सम्म्पन्न नै,' एकदिन अनायासै मैले सोधेको थिएँ।
'थाहा छ उमेश, मैले कथा सुनेको,' उर्मिला कथा सुनाउन थालिन्, ‘एकदिन मजनुको नगरको राजाले मजनुलाई बोलाएर भन्यो रे- तिमी लैलाको पछि किन लाग्छौ? ऊ न त धेरै सुन्दर छ न विशेष नै। बरु यी सुन्दरीमध्ये छान, नगरका सर्वश्रेष्ठ सुन्दरीहरूको मैले लाइन लगाइदिएको छु छोड उसलाई।
राजाले यसो भन्दा मजनुले हाँस्दै भन्यो रे- सम्राट, हजुरको दिमाग त ठिक छ नि? कहाँ लैला कहाँ यी केटीहरू, यी केटी त मजुनका अगाडि केही होइनन्।
तर थाहा छ उमेश, ती केटीहरू लैलाभन्दा कैयौँ गुणा सुन्दर थिए तर लैला साधारण यसो हुँदा पनि मजनुका लागि लैला नै सुन्दर र प्रिय थिइन्।'
उनले यसो भन्दै गर्दा उर्मिलाका आँखामा आँसु थिए।
‘अफ्रिकी मुलुकमा ओठ चौडा पार्न ओठमा ढुंगा झुन्ड्याउँछन् रे किनकी त्यहाँ चौडा ओठ मन पराइन्छ जबकी हामी पातलो ओठ मन पराउँछौं।
त्यसैले उमेश नसोध मलाई तिमी किन मन पर्यौ भनेर।’
उनको यो कुरासँगै उनी मलाई अझ बढी मन पर्न थालेकी थिइन्। त्यसपछिका दिनमा म उनीमा भएका राम्रा मात्र कुरा खोज्न थालेको थिएँ।
यस्तै कुरा सोच्दा सोच्दै बिहानको कुखुराको डाँकोसँगै म झसङ्ग भएको थिएँ। रात त छ्याङ्गै काटिएको रहेछ। मन झन् बढी बेचैन भएको थियो। यस्तैमा उनको डेरामै गएर कुरा बुझ्ने निर्णय लिएको थिएँ। मैले यो निर्णय लिँदासम्म उषाका किरण चन्द्रागिरि पहाडमा झुल्किसकेका थिए।
अर्को दिन डेरामा पुगेको थिएँ। उनी बसेको घरमा अर्कै बसेको पाएँ। त्यसपछि उनको खबर लिने मेरो कुनै स्रोत बाँकी रहेन र मेरो प्रेमको दुःखद् अन्त्य भयो।
उमेश आफ्नो पुरानो स्मृतिको गहिराइमा डुबिरहेका बेला नजिकै रहेका युगल जोडीको उन्मुक्त हाँसोसँगै झसङ्ग भयो।
त्यसपछि अलिकति लजाउँदै मन नमिठो पार्दै आफ्ना पाइला घरतर्फ सार्यो।