यो देश
ठूलो, सानो, अग्लो, होचोकै
संयोजनमा बनेको हो
जसरी
ठूलो, सानो, अग्लो, होचोकै
संयोजनमा बनेको छ हत्केला
म त्यही देशको
एक समुदाय हुँ
चाहे म अग्लो हुँ
चाहे म होचो हुँ
चाहे म ठूलो हुँ
चाहे म सानो हुँ
जसरी हत्केला बन्न
सबै औँलाको समान भूमिका छ
त्यसरी नै
यो देश बन्न
मेरो पनि उत्तिकै भूमिका छ
म भनेको
कुनै अमुक समुदाय होइन
म भनेको
यो देशको ब्राह्मण हुँ
यो देशको क्षेत्री हुँ
यो देशको आदिवासी जनजाति हुँ
यो देशको दलित, मधेशी हुँ
यो देशको अल्पसंख्यक, सिमान्तकृत हुँ
मबिना यो देश चल्दैन भन्दिनँ
या म बिना यो देश बन्दैन भन्दिनँ
मबिना पनि यो देश चल्छ
मबिना पनि यो देश बन्छ
तर
म बिनाको यो देश सग्लो देश बन्दैन
जसरी
एउटा औँलाबिना सग्लो हत्केला बन्दैन।