आज उसलाई आफ्नो काम सम्झेर दिक्क लाग्यो। मन कता-कता उडिरह्यो। सम्झनाका कुइनेटाहरूमा मन बहकिरह्यो।
सुरुसुरुमा जागीर त्यति नरमाइलो थिएन। खासमा त्यो काम उसले गरेको पहिलेको कामभन्दा राम्रो थियो। कमसेक उसले रेस्टुरेन्टको सिंकमा उभिएर दश घण्टासम्म भाँडा माझ्ने कामबाट छुटकारा पाएको थियो।
विगत पाँच वर्षमा उसले सयौं फाइलहरूको फोटोकपी गरिसकेको थियो। उसको त्यस कार्यले सायद हजारौं मान्छेहरूको काम बनेको थियो होला। उनीहरूको जीवनको अवस्था सुधार भएको थियो होला। उनीहरूको समस्या समाधान भएको थियो होला।
तर उसको जीवनको सबैभन्दा उर्जाशील समय त्यही फोटोकपी मेसिन अगाडि गुज्रिरहेको थियो। भाँडा मझाइबाट फोटोकपीमा सरेका उसका सफल जीवनमा सपना निरन्तर फोटोकपीमै दोहोरिरहे। उसका समस्याका चाङ जस्ताको त्यस्तै रहिरहे।
कति दिनसम्म फोटोकपी नै गरेर बस्ने? के यसभन्दा उता मेरो जीवन नै छैन? यस्ता प्रश्नहरू उसको मानसपटलमा खेलिरहे।
विदेश आउँदा लिएको साहुको ऋण तिरिसक्न अझै अर्को पाँच वर्ष काम गर्नुपर्नेछ। अदालतले अमेरिकामा स्थायी बसोबास गर्न पाउने गरी आफ्नो पक्षमा फैसला देला र ग्रीनकार्ड पाइएला भनेर पर्खिएको पनि पाँच वर्ष बितिसक्यो।
दैनिकजस्तो फोनको स्क्रीनमा आँसु बगाउने श्रीमतीले फोन गर्न छोडेको पनि महिनौँ भइसक्यो। किन फोन गर्न छोडेकी होला? श्रीमतीको त्यो शून्यतालाई चिरेर फोन गर्ने आँट ऊसँग थिएन। छोराछोरी त बोल्ने छोडिसकेका थिए। सायद ती दूधे बालकले उनीहरूको बाबु बिर्सिए होला।
अमेरिका जान भनेर हिँडेको अघिल्लो दिन राति उसले पाँच वर्षको छोरालाई काखमा लिएर भनेको थियो- ‘छोरा, अब हामी चाँडै अमेरिका जानेछौँ। तिमी र तिम्री बहिनी अमेरिकाको स्कुलमा पढ्नेछौ। म छिट्टै तिमीलाई अमेरिका बोलाउने छु।’
त्यो दिन उसको ध्यान काममा पटक्कै गएन। उसले काममा ध्यान लगाउन खोज्यो तर मन बहकिरह्यो। फेरि पनि फोटोकपी फेरि पनि फोटोकपी।
नेपालमा हुँदा उसको जीवन त्यस्तो पट्यारलाग्दो थिएन।। काम गर्नु परे पनि आफ्नो भाषामा खुलस्त मनमा गाँठो परेका कुराहरू पोख्न पाइथ्यो। कामले दिने तनाव बिर्साउने हजारौँ बहानाहरू थिए। वन, पाखा अनि हरियाली थिए। पिरतीका मनछुने भाका थिए। जीवन हरपल हिमालको चिसोले सिंचित गर्दथ्यो। जे थियो आफ्नो थियो, प्यारो थियो।
कमसेकम आफ्नी जन्मदाताको प्रेम र वात्सल्यको न्यानोमा एकछिन लुटपुटिन पाइथ्यो। आज उसले एक दिन छुट्टी लिन तीन पटक सोच्नु परेको छ। ऋणको भारी बिसाएर परिवारसँग पुनर्मिलन हुने दौडमा ऊ कुदेको कुदै भएको छ र गन्तब्यमा कहिले र कसरी पुग्ने हो उसलाई केही थाहा छैन।
नेपालमा हुँदा गाह्रोसाह्रो पर्दा हात थामिदिने इस्टमित्र अनि छिमेकी थिए। यहाँ उनीहरू एकै कोठामा पाँच जना बस्थे तर कसैको कसैसँग बोल्ने र दुःखसुख बाँड्ने फुर्सद थिएन। समय महँगो थियो। कोही पनि आफ्नो महँगो समय कमाइ नहुने काममा खर्चेर बस्न चाहँदैन थिए।
ठूलो सहरको बीचमा रहेको २० तले भवनमा उनीहरू बसेका थिए तर त्यो सहरमा के छ, के हुँदैछ, साँच्चै सहर कस्तो होला उनीहरूलाई थाहा थिएन किनकी विगत पाँच वर्षहरू केवल घरदेखि काम अनि कामबाट घर गरेरै बितेका थिए।
त्यसो नगरे उनीहरू घरबारविहीन हुनसक्थे, ती काममा जाँदा बाटोमा भेटिएका सडक बासिन्दाहरू जस्तै।
नेपालमा त केही उपाय नहुँदा पनि बाउ बाजेले आर्जेको एक हल मेलो बारी र सानो झुपडी थियो। काम गर्न नसकेको दिन घरबारविहीन हुनुपर्ने डरमा त बाँच्नु पर्दैन थियो।
आज उसलाई त्यो साथीको सम्झना आइरह्यो जसले उसलाई सपनामा बारम्बार झस्काइरहन्थ्यो। नेपाल छोडेको महिनौँ दिनपछि ऊ र उसको साथी अमेरिका र मेक्सिकोको बोर्डरमा आइपुगेका थिए। उनीहरूले एउटा डुङ्गामा चडेर ठूलो खोला तर्नुपर्ने थियो। उनीहरू कुनै बेला समातिन सक्थे।
त्यसैले एजेन्टले हतार-हतार मानिसहरूलाई डुङ्गामा खचाखच कोचिरहेको थियो। त्यतिकैमा डुङ्गा खोलातर्फ अघि बढ्यो। दुर्भाग्यवश त्यो साथी डुङ्गाबाट पानीमा खस्यो। उसले गुहार माग्यो। त्यो विशाल जल सागरमा ऊ गुहार-गुहार भन्दै डुङ्गातर्फ पौडिन थाल्यो।
उसले साथीलाई बचाइदिन अनुरोध गर्यो। तर न कसैले उसको अनुनय विनयलाई सुन्यो न कसैले बुझ्यो। त्यो डुङ्गाको चालकलाई छिटोभन्दा छिटो त्यो डुङ्गाका मानिसलाई खोलापारि पुर्याएर नयाँ भगौडा आप्रवासीको समूहलाई खोला तार्नु थियो।
उसका लागि ती डुङ्गामा सवार मानिसहरूको मूल्य केही सय डलर थियो। एउटा मान्छे खस्दा केही डलर गुम्थ्यो। अनि केही डलरको लागि ऊ मुखैमा आएको अर्को केही सय डलर किन गुमाउथ्यो? त्यसैले डुङ्गा द्रुत गतिमा अघि बढ्यो। हेर्दाहेर्दै पौडिरहेको उसको साथी दृश्यबाट गायब भयो।
सम्झँदा सम्झँदै उसका दुई थोपा आँसु फोटोकपी मेसिनको स्क्रीनमाथिको पेपरमा खसे र हेर्दाहेर्दै बिलाए, त्यो जल सागरमा बिलाएको साथीजस्तै।
ऊ फोटोकपी गरिरहेको थियो तर मन भने उडिरहेको थियो।