मलाई एकचोटि त्यो चुलेसीमा झुन्डाइएको ऐनालाई सोध्न मन छ
उमेर ढल्दै गरेका मेरा बुढा आमा-बाले तँलाई कति पटक हेर्ने गर्छन्
बाले तँलाई हेर्दै आफ्नो अनुहारलाई कति पटक सुमसुम्याउने गर्छन्
ऐनालाई एकहोरो हेर्दै बा किन शून्यतामा पुग्छन्
र खुसी हुँदै किन फर्किन्छन्
लाग्छ अब त बाको अनुहार चाउरिन थालिसक्यो
फेरि म एकपटक आफैलाई प्रश्न गर्छु
बाले ऐनामा आफ्नो अनुहार चाउरिएर
ऐनालाई निहाल्ने गरेका होइन कि
सायद बाले छोरालाई देख्न ऐना हेर्ने गरेका हुनसक्छन्।
म यो सुन्दर संसारमा जन्मेको दिन
मलाई मेरी आमाले देखिन्
अरुहरूले देखे तर मलाई बाले देखेनन्
घरका भित्ताहरूले देखे
हावाका ती स-साना कणहरूले देखे
हराबरा प्रकृतिले देख्यो
सुन्दर फूलहरूले देखे
अनि मलाई त्यही
चुलेसीमा झुन्डिएको थोत्रो ऐनाले पनि देखिरह्यो
फेरि त्यही प्रश्न आफैलाई सोध्न मन लाग्छ
बाले छोरालाई देख्न
त्यही ऐना हेर्न गरेका हुन् कि
आज मेरा आमाबाको खुसीको दिन
म जन्मेको दिन
आज बाले छोरालाई खोज्ने धेरै प्रयास गर्नेछन्
र सोध्नेछन्
भ्याए जति बाले सबैलाई सोध्नेछन्
छिमेकीलाई सोध्ने छन्
घरका भित्ताहरूलाई सोध्नेछन्
बाटोको बटुवालाई सोध्नेछन्
सँगै बग्ने खोलालाई सोध्नेछन्
आफूले खनेका खेतहरूलाई सोध्नेछन्
नजिकै रहेका रुखहरूलाई सोध्नेछन्
सुन्दर फूलहरूलाइ सोध्नेछन्
प्रकृतिमा चलिरहेको हावालाई सोध्नेछन्
मिठो स्वरमा गुनगुनाइरहेको कोइलीलाई सोध्नेछन्
नयाँलाई सोध्नेछन्
पुरानालाई सोध्नेछन्
बाले भ्याएसम्म सबैलाई सोध्नेछन्
अब बाले अन्तिम पटक एकचोटि
चम्किरहेको घामलाई सोध्नेछन्
र मौनतामा डुबिरहेका घामका किरणहरूले
विस्तारै त्यही चुलेसीमा झुन्डिएको थोत्रो ऐना टल्किन थाल्नेछ
र बा न्याउरो अनुहारसँगै खिस्र हाँस्छन्
अनि ऐना नजिकै गएर आलिकति मुस्कुराउँदै भन्छन्
जन्मदिनको धेरै-धेरै शुभकामना मेरो छोरा
सायद त्यही ऐनामा बाले मलाई पाउने रहेछन्
मलाई मन छ
वर्षौंदेखि बाले लगाएको एक जोडी जुत्ता फेर्न
आमालाई एक जोडी नयाँ चौबन्दी चोलीले बेर्न।