एक चोक्टा सपना थियो उनलाई आफ्नो बनाउने तर सास फेर्न नपाएको निहुँमा ती सपनाहरू डुबिसके, मरिसके। अब मलामी गएर दाहसंसस्कार गर्न बाँकी छ। यो विरक्त सहरमा कतै तिनै जीवित हुन नसकेका सपनाहरूले फेरिफेरि तर्साउने पो हुन् कि! डर लागेर आउँछ।
दुई वर्ष अघिदेखि हो मैले उनलाई मन पराउन थालेको। जुन पललाई गिन्तीमा राखेर सोकेसमा हालेर सजाउन चाहन्छु। अन्तर मेडिकल कलेज कविता प्रतियोगितामा उनी उद्घोषक थिइन्। म कविता प्रस्तुत गर्ने कवि थिएँ।
मलाई कविता भन्न मञ्चमा बोलाउँदै गर्दा मेरो नाम उच्चारणमा गल्ती गरेकी थिइन् उनले। मैले त्यसलाई हाँसी-हाँसी टारिदिएको थिएँ। निर्णयकले अन्तिममा मेरो कविता प्रथम भएको भनेर घोषणा गर्दा लाग्दैथ्यो मभन्दा बढी खुसी उनी भएकी थिइन्।
त्यो मुस्कान, त्यो ताली अनि म मञ्चमा उक्लँदै गर्दा उनले बधाई दिनका लागि अगाडि बढाएको त्यो मुलायम हात अझै पनि यादमा सन्देश बोकेर बसेको छ। कार्यक्रम सकिएपश्चात उनी केहीछिन् मसँग बोलिन्।
'नाम बिग्रिएकोमा सरी ल! तर प्रथम हुनलाई केही त अरुको भन्दा फरक हुन पर्यो नि! अर्थात् जे भयो ठिकै भयो' भन्दै उनी गलल हाँसिन्। लाग्दैथ्यो त्यो हाँसोमा सिर्जना, कल्पना र भावनाहरू शून्य छन्।
बेलुका घर पुगेपछि उनैले फेसबुकमा रिक्वेष्ट पठाइन्। म खुसीले गद्गद् हुँदै एसेप्ट गरेँ। म खै केमा बाँचेको थिएँ, तर मलाई लाग्दैथ्यो उनी पनि मलाई मन पराउँछिन्। अर्थात् मैले त मन पराइसकेँ। यही मिथ्यालाई प्रमाणित गर्न म दगुरिरहेँ।
'तिमी पनि कविता लेखनमा रुचि देखाउँछौ हो?' भनी मैले सोधेको प्रश्नमा उनले सुन्न र भन्न मन पर्ने तर लेख्न खासै नसक्ने जानकारी दिइन्। यस्तो लाग्यो जोडी खुब जम्छ हाम्रो।
दिनहरू बित्दै गयो। कुराहरू एकपछि एक हुँदै गयो। अन्य केटी साथीहरूसँगको सामीप्यता घट्दै र उनीसँग बढ्दै गयो। भेटघाट आकलझुकल हुन्थ्यो। समय मिलेअनुसार।
प्रेम विशुद्ध एकतर्फी थियो। मैले प्रेम जाहेर गरेकै थिइनँ अर्थात् हामी कुन धरातलमा बाँचेका थियौं अत्तोपत्तो थिएन। म उनीप्रतिको आशक्तिमा लिप्त थिएँ। केहीछिन नबोल्दा घण्टौं नबोले जस्तै लाग्थ्यो।
लाग्थ्यो फूलहरूको रंगमा पनि उनकै अभिप्रायको बास छ। प्रकृतिको बैंसमा ठाँट पार्ने प्रवृत्ति पनि उनीबाटै चोरी भएको छ। लाग्थ्यो, जे छ अब जीवनको सम्पूर्ण परिपालन उनकै निम्ति खर्चिएको छ। लाग्थ्यो मभित्रको बासना अब सानो भएर उनलाई पाउने समय पर्खिरहेको छ।
अहिले आएर हेर्दा समेत कति प्राणघातक थियो त्यो सपना आफै अन्दाज लाउन सक्छु।
तर केही महिनाअघि मात्र धुमिल आकाश भएको दिन उनले 'इन रिलेसनशिप' भनेर फेसबुकमा स्ट्याटस राखिन्। आँखाले मोटामोटी कुरा मात्र देखे अरु स्पष्ट देख्नै सकेनन्। 'बधाई छ' लेखिएका कमेन्टहरूमा ऊ लभ रियाक्ट गर्दै बसेकी थिई।
बिहान भर्खर भएको च्याटमा ऊ मसँग हाँस्दै बोलेकी थिई। मैले मनमनै मन पराए पनि उनको मन चोर्न सोधेको थिएँ, 'कसैले मन पराउँदैन तिमीलाई?'
उनले 'मजस्तो आलु केटीलाई कसले मन पराउनु?' भन्दै खित्का छोड्दै हाँसेकी थिई म्यासेजमा। म बबुरो ढुक्क मनले दिव्य मिलाप हुने आशमा टुँसा उमार्दै बसेको थिएँ। रात नपर्दै उनले कठोर किसिमको आघात दिएर गइन्।
त्यसपछि उनलाई म्यासेज गर्ने हातहरू काँप्न थाले। म मौनतामा नै गल्न थालेँ।
हिजो त उनको बिहे नै भयो। यी शब्दहरू लेख्दै गर्दा पनि कति पटक उनीसँग जीवन बिताउने यादहरू आएर अल्झाइरहेछन् म भन्न सक्दिनँ। हाँसेको इमोजीका साथ निम्तो कार्ड मेरो म्यासेन्जरमा छाडेर गएकी उनलाई के थाहा, कुन भ्रम र उत्तेजनामा म बाँचिरहेको छु भन्ने कुरा।
डरलाग्दो सपनाहरूबाट ब्युँझिएजस्तै भएको छ। उपायविहीन तरिकाले म तर्सिएको छु। वास्तविकताभन्दा धेरै पर-पर म पुगेको रहेछु। न अपराध उनको छ न मेरो छ। साँच्चै अर्थमा भन्दा म आफैले प्रेम गरेँ र आफै पिल्सिरहेको छु। म कसरी हेरूँ उनको बिहेका तस्वीरहरू र गरुँ लभ रियाक्ट? कसरी हेरुँ अर्कैले सिन्दुर हालेको?
सायद म प्रेम गर्नका लागि तयारै थिइनँ र त पटक-पटक लडेँ। म डरपोक थिएँ र त एकतर्फी गरेर बसेँ। मैले आफ्नो प्रेमलाई व्यवस्थित गर्न सकिनँ।
फूलबारीका पुष्पहरू टिप्ने तँछाडमछाडमा किन म सारिक हुन सकिनँ? किन कल्पना र भावनामा फ्याट्ट बोलिदिन सकिनँ? ३३ कोटी मधुर पुकारहरू गुञ्जित भएको पाउन किन सकिनँ? गर्नुसम्मका त्याग र दिनुसम्मका भाउहरू दिलाउन किन सकिनँ?
जब त्याग र समर्पण समान रुपमा अघि बढ्दैन, सम्बन्ध टुक्रिन्छ अनि नाना किसिमका गालीहरू सिर्जना हुन्छन्। आफू बिग्रिन्छन् अनि घर परिवार बिथोल्छन्। संसारमा त्यही केटी बाहेक अरु हुँदै नभएजस्तै ऊ नपाए मर्ने जिकिर गर्छन्।
अति नै पागलपनका चमत्कारीहरू हुन्छन् मान्छेहरू पनि। बिछोड प्राकृतिक नियम हो भन्ने बुझ्नलाई पनि प्रेमीप्रेमिकाले नै विश्वासघात गर्नुपर्छ। तर मैले त आफैलाई आफैले विश्वासघात गरेँ। हरहमेशा प्रेमको प्रलोभनमा परेँ तर प्रेमिका बनाउन सकिनँ। छुट्टिने डरले गाँसिन सकिनँ।
आजकल फिल्मका जादुमय कथाहरूको देखासिकी गर्ने सिकारु प्रेमीहरू धेरै छन्। मैले पनि त्यस्ता धेरै फिल्म त हेरेँ तर डाइलग भन्न जानिनँ। बालुवामाथि प्रेमिल घर बनाउँछन् अरु अनि आफूलाई महात्मा सम्झिन्छन्, मुना-मदन, रोमियो-जुलियट सम्झिन्छन्, अनि बेकम्मा भएर टुक्रिन्छन्।
अरु बाहिर-बाहिर टुक्रिन्छन्, म आफूभित्र टुक्रिएँ। यो टुक्रिएर चोटिला भएका मनका कथा यो सडकलाई थाहा छ जो कहिल्यै टुंगिदैन। बटुवा थकित भएर कतै बास बस्छ। तर सडक उज्यालो र अँध्यारोको गीत गाउँदै हिँड्छ। सडकले पनि कतिलाई प्रेम गरेको होला तर कहिल्यै भन्न जानेन।
सडकसँग केही बेर नजिकिएकाहरू कहाँ-कहाँ पुगे तर मजस्तै यो सडक पनि आफ्ना अनुभूतिहरूलाई पोका पुन्तुरा पारी पिठ्युँमा सकिनसकी बोकी हिँडिरहेको छ। म पनि हिँडिरहेको छु, उनको यादहरू संगाली।