अचेल लागिरहेछ
कठोर हुँदैछु म
कठोर, कठोर र अझ कठोर हुँदै गइरहेछु
तर तिमी भन्छौ 'यति नरम नबन!'
म कठोर हुनुको प्रमाण
यही निलो आँसु हो
जो सानो-सानो कुराले डबडबाउँछ
साना-साना मान्छेसँग
साना-साना विषयमा नै झरिबस्छ
तप्प-तप्प...
तिमी मलाई त्यही समय कोमल देख्छौ
म त्यही समय म आफूलाई
देख्छु अति अति नै कठोर!
म कठोर हुनुको कारण हो
तिमीबाट म टाढा-टाढा हुनु
जसरी बतासिन्छन् र टाढा हुन्छन्
हुर्कंदै गएपछि
चराहरू आफ्नै बचेराहरूसँग
कुनै समय बिताएका हुन्थे सोचेर सर्वश्व
अनि चुच्चोले च्यापेर ल्याएका अनगिन्ती
सामलले
मेटेका हुन्थे तिनैको निरन्तर भोक!
कति कारण छन् म कठोर हुनुका
तर छुँदैनन् यिनले कसैको हृदयको विश्वास!
रूनु भनेको नरम हुनु हुँदै होइन
कठोरताको पहिलो खुड्किलो हो आँसु
जो भरिएपछि पोखिन्छ
जो पोखिएपछि उठाउनै मिल्दैन
त्यसपछि भरिन्छ विद्रोहको समुद्र
तर...
तिमीलाई त्यो कहिल्यै थाहा हुन्न!
त्यसैले त
अचेल म सम्पूर्ण कठोरताहरू
हृदयमै बोक्छु
हृदयले सुम्सुम्याउँछु
र हृदयमै दबाउँछु!