मन्दिरमा अर्पण गर्ने
मानिसहरूले नै मागेपछि
देवताहरू आजकल दुखी छन्
माहुरीहरूको श्रम
मानिसहरूकै लागि थिएन होला
भनेजति मह काढ्न पाइएन भनेर
मानिसहरू नै दुखी छन्
पहाड थामिदिन्छु
मानिसका पाइतालाहरू थामिदिन्छु
भन्दाभन्दै पनि
अपहरणमा परिन्छ भनेर
ढुंगाहरू, बालुवा र गिटीहरू त्रसित छन्
सबेरै झिसमिसेमै
गीत गाएर ब्युँझाइदिन्छु
भन्ने विचरा चराहरू
बास उठ्ने डरले त्रसित छन्
हैन
देवताहरू
माहुरीहरू
ढुंगाहरू
चराहरू
सबै बसाइ सरे भने
केही मानिसहरू
अझै दुखी हुनु पर्दैन होला र?
दर्शनभेट भन्दै दैलोमा
लाम लाग्नेहरूको लालच बढेपछि
खोपीका सिक्काहरू त्रसित छन्
दुषित वातावरणमा
रक्तदाताहरू नै मुर्छाएपछि
डाक्टर र बिरामीको हालत देखेर
आजकल अस्पतालहरू नै दुखी छन्
गाइड र गेसपेपरका
ताण्डव नृत्य देखेर
तीक्ष्ण आँखाका प्रतीक्षामा
पुस्तकहरू नै विरक्त छन्
गोलभेडा, प्याज खुर्सानी र कुखुराहरू
सडकमै फालिएपछि
भोका जिब्राहरू सुक्खा छन्
हैन
सिक्काहरू
अस्पतालहरू
रक्तदाताहरू
र जिब्राहरू
रुँदाखेरी
केही मानिसहरू
पर्खालभित्र मुस्कुराइरहन सक्लान्?
शंका छ
अदृश्य खेतबारीमा
विष वृक्ष त झाँगिरहेका छैनन्?
अदृश्य उद्योगबाट
विषाक्त रसायन त चुहिरहेका छैनन्?
सोझा निष्ठावान कागहरू
सबेरै बरपिपलको रुखमा बसेर
बेलाबेला खुब कराउँछन्
अपसोच
त्योभन्दा चर्को
सकुनीका स्यालहरू कराउँछन्
दुःशासनका फ्याउराहरू कराउँछन्
वर्षौंदेखि सत्य मानिएको कागका सन्देश
अब के बेकार होलान् त?