एउटा आयोगको हाकिमको
सुरक्षार्थ खटिएको
म सुरक्षा गार्ड
उहाँ महान् हुनुहुन्छ
म चाहिँ तल्लो दर्जाको
‘हस्, हजुर’ भन्ने
उहाँको जस्तोसुकै बोली पनि
सहन सक्ने
जे ‘गर’ हुकुम भए पनि
झटपट गर्नसक्ने
भव्य सरकारी महलमा
परिवारसहित
उहाँ शानसौगातमा
उहाँको महलछेउ
पर्खालनिरको एक कुनामा
पिँजडा आकारको
अग्लो टौवाको
बल्लतल्ल अटाउने
चार कुनाभित्र म
केवल ‘म’ मा सीमित
मजस्तै अर्को प्राणी
ठिंग साँघुरो
टौवाबाट ओर्लेपछि
आफ्नो पालोमा
म चढ्छु त्यो टौवा
मैले त्यहाँ बिताउनुछ
रातको घण्टौँ घण्टा
सिरसिर चिसो हावा चलेको
सुनसान मध्यरातमा
मुटु नै कठ्याङ्ग्रिने
हिउँदको जाडोमा
आँखा नै ढाक्ला जस्तो
चुहिरहेको शीतको बाछिटा
हत्केलाले सोहर्दै म
कम्पाउण्डको चारैतिर
सुरक्षार्थ नजर दौडाउछु
जब नजर हाकिमको
भव्य सरकारी महलतिर दौडन्छ
त्यतिखेर म
लुगलुग कामिरहेको हुन्छु
र कल्पना गरिरहेको हुन्छु
सायद हाकिम साहेब
कोठा तातो पारेर
बाक्लो डस्नामा
गम्म न्यानो सिरक ओढेर
आरामले सुतिरहनु भएको होला
अनि त्यो सुनसानमा
त्यो एक्लोपनमा
आफै-आफैसँग बोल्दै भन्छु
‘स्याबास सुरक्षागार्ड’
अनि बन्दुक काँध फेर्दै
ढुक्क हुँदै सम्झिरहन्छु
मेरो सुरक्षित हाकिम
आफ्नै देशबासी
आफ्नै देशमा
सुरक्षा खोजिरहने मेरो हाकिम
आफ्नै देशबासी
आफ्नै देशमा
सुरक्षा दिइरहने म
टौवाको सुरक्षा गार्ड।