जहिल्यै म मेरो घर पारिपट्टिको खोलामा
ढुंगाहरूको सानो बस्ती देख्थेँ
जहाँ सबै ढुंगा नतमस्तक हुन्थे
न श्वास फेर्थे न दुनियाँ हेर्थे
केवल साउने भेल उर्लंदा
कहिल्यै एकअर्कालाई छुन्थे
त कहिल्यै उछिटिन्थे
हिजोसम्म ढुंगाको
ग्रामीण बस्ती नियाल्ने म
आज ढुंगाकै विशाल सहर नियाल्दैछु
जहाँको ढुंगाहरू थोरै फरक छन्
जसको
आँखा छ, नाक छ, कान छ, तन छ
अनि
मरुभूमिजस्तै जर्जर मन छ।
सम्झन्छु
म अझै
ती बस्तीका निर्जीव ढुंगालाई
मेरो
मानव बस्तीमा भगवान ठानी
भक्ति गरिन्थ्यो
र कतै भेटी त कतै नैवेद दिइन्थ्यो
ती ढुंगा
नभएको आँखाले
केवल हेरिरहन्थे
तर यहाँका ढुंगाहरू त
भक्तिभन्दा बढी भेटी खोज्छन्
नैबेद कम भए
आफ्नै भक्तको शरीर टोक्छन्
रामको उपमा दिँदा
रावण बन्छन्
सीतालाई त यहाँ छानीछानी बेच्छन्
अनि
सायद नबोली भन्छन्
हामीलाई छ र
केको डर
यो त हामी सजीव ढुंगाहरूको
स्वायत्त सहर।
याद छ मलाई
म रुँदा
ती बस्तीका ढुंगाहरू वास्ता
मलाई गर्दैनथे
किनकी तिनीहरू त
सदाबहार निर्जीव थिए
तर यस सहरका ढुंगाहरूको
त आँखा छ र पनि हेर्दैनन्
कान छ र पनि सुन्दैनन्
तन छ र पनि छुँदैनन्
अनि थोरै भए पनि साँघुरो
मन छ र पनि बुझ्दैनन्
केवल अदम्य भावले
उपहास गरिरहन्छन्
र
नबोली सायद भन्छन्
यहाँ मन्छेलाई बोलाउन
केको कर
यो त हामी
सजीव ढुंगाहरूको स्वायत्त सहर।