भनिन्छ छोडी जानेहरूलाई रोक्न सकिन्न
अनि माया मार्नेहरूलाई मार्न
ती त मनका चार कुनामा किल्ल्ला गाडी बसेका हुँदारहेछन्
दाँतका कापहरूमा गुन्द्रुकका त्यान्द्रा अड्किए झैँ
सधैं दुखाइरहने, सम्झाइरहने
प्रसवमा परेकी स्त्रीलाई प्रसवको बेदनाले सताएझैँ
तिमीसँग व्यतीत ती पलहरू, सम्झनाका खहरेहरू
मेरा मानसपटलका ढोकाहरू घच्घचाइरहन्छन्
सम्झाइरहन्छन् हामी गफिएका ती पलहरू
खुला आकाशको छानामुनि गरिएका ती स्पर्शहरू
समय कालको कहरमा बहाइएका आँसुहरू
भरिएर पोखिनु पर्ने मायाका भाँडाहरू
चुहिएर रित्तिएका दिनहरू
अनि यस्तै यस्तै यस्तै...
सम्झनीमा जति नै हाउगुजी गर्न आए पनि
कोसौ दूर गएकी तिमी
बिपनीमा कहिल्यै आएनौ
मेरो बिपनीको गुमनाम तिमी
सम्झनीमा उनी
आजकल मनका बहहरू
अटल जून अनि जुनेली रातहरूसँग साट्न लागेको छु
तर विडम्बना
मेरो भाग्य भनुँ या दुर्भाग्य
१५ दिनसम्म धैर्यधारण गरी
सुनेका मेरा बहहरू
कोसौँ दूर रहेको तिमीलाई सुनाउन
मेरो सामीप्यबाट भाग्दी रहिछ
बल्ल बुझ्दैछु म
अँध्यारा ती औँसीका रातहरूमा
बाडुल्की लाग्नुका कारणहरू।