घाम डुब्नै लागेको थियो। पोखरीमा हल्लिरहेको पानीमा रुखको छाया पनि हल्लिरहेको थियो। पोखरीको छेउमा रहेको बेञ्चमा एक्लै बसेकी दिपा एकसुरले पोखरीमा हेर्दै सोचमग्न छिन्।
तिनी दुई दिनअघि आमालाई भेट्न काठमाडौंबाट पोखरा आएकी थिइन्। त्यसैले आज साँझ लाग्ने वित्तिकै उनको खुट्टा स्वत: यो प्यारो ठाउँतिर लम्केको थियो।
‘ओहो! दिपा तिमी?’
दिपाले यो आवाज कसको हो भनेर पछाडि फर्केर नहेरी चिन्न सकेकी थिइन्। तिनी जुरुक्क उठेर फर्केर हेर्दा आफ्नो सामुन्ने विवेकलाई देखिन्।
विवेकले सोध्यो- ‘कस्तो छ? कहिले आयौ?’
‘दुई दिनअघि,’ आफूलाई सम्हाल्दै भनिन्, ‘तिमीलाई कस्तो छ?’
विवेकले मुस्कुराउँदै सोध्यो- ‘कस्तो देखिएको छु?’
दिपा हल्का मुस्कुराइन्।
‘अझ केही दिन बस्छौ होला नि?’
‘पर्सि फर्किन्छु होला, अब म जान्छु पनि।’
‘केहीबेर बस न!’
‘आमाले पर्खिरहनु भएको होला!’
‘तिमी भोलि यही समयमा यहाँ आउछौ?’
‘अँ... आउँछु,’ केही सोच्दै भनिन।
‘त्यसो भए भोलि भेटौँला।’
‘हुन्छ’ भन्दै दिपा घर गइन्। घर आउँदा दिपाको मन उत्साहले भरिएको थियो। उही अनुभूति, उही चाहना, एउटै आकर्षण वर्षौंपछि तिनले यो सबै महसुस गरेकी थिइन्। राति सुत्न पल्टँदा सम्झी उसको पहिलो माया, जुन विवेकको रूपमा उसको जीवनमा आएको थियो।
दाइजो लोभी विवेकका बुबाको कारण दिपाले आफ्नो पहिलो माया गुमाएकी थिइन्। त्यसपछि दिपाले लामो यात्रा गरिसकेकी थिइन्। उसको पहिलो माया बिना कसरी जीवन बाँचिन, यो जसले भोगेको छ उसलाई मात्र थाहा हुन्छ।
दिपाको मानसपटलमा विगत घुम्न थाल्यो। विवेकको बुवाले धनी घरको एक्ली सन्तान राधिकासँग बिहे गराएर आफ्नो चाहना पूरा गरे। दिपाले पनि आमाबुवाको चाहनाअनुसार आज्ञाकारी छोरीले जस्तै आज्ञा शिरोपर गरेकी थिइन्।
बिहेको रात दिपाले विवेकको सम्झनामा सबै आँसु बगाएकी थिइन्, त्यसपछि उनी पूर्ण इमानदारीका साथ आफ्नो श्रीमान् अर्जुनको जीवनमा सामेल भएकी थिइन्। विवाहको ८ वर्ष बितिसक्दा पनि अर्जुन र छोरी दिक्षाका साथ पूर्णरुपमा घरपरिवारप्रति समर्पित भएकी थिइन्।
यतिका वर्षहरूमा आमाघरमा आउँदा विवेकसँग एक/दुई पटक मात्रै भेट भएको थियो र औपचारिकतामा मात्रै कुरा टुङ्गिएको थियो।
दिपा धेरै दिनदेखि निकै दुःखी थिइन्। घर, श्रीमान्, छोरी, आफन्त, समयको कुन जालमा फसिन् थाहै भएन। मन र मनको स्तरमा समानता नहुने हो भने मायाको बोट छिट्टै सुक्छ भन्ने थाहा पाएकी छिन्।
दिन प्रतिदिन प्रगतिको सिँढी चढिरहेको अर्जुनले घरमा पनि आफूलाई अफिसर र आफ्नी श्रीमतीलाई मातहतको कर्मचारी मान्न थालेको महसुस गरेकी थिइन्। उसको हरेक कुरा आदेशात्मक हुन्थ्यो, चाहे त्यो घनिष्ठ क्षण किन नहोस्। आजसम्म उनी र अर्जुनबीच कुनै भावनात्मक सम्बन्ध थिएन।
उनी अर्जुनसँग आरामसँग बसेर कुरा गर्न चाहन्थिन्। उनलाई लाग्दथ्यो उनीहरूको माया केवल औपचारिकतामा मात्रै सीमित थियो। अर्जुनलाई मनको भावना कसरी व्यक्त गर्ने थाहा थिएन। श्रीमतीको प्रशंसा गर्दा सायद उसको अहंकारमा चोट पुग्दथ्यो। दिपालाई अब अर्जुनको व्यवहारको बानी परिसकेको थियो। विगत र वर्तमानमा भौतारिँदै गर्दा दिपाको आँखामा कतिबेला निन्द्रा लाग्यो पत्तै भएन।
भोलिपल्ट दिक्षालाई आमासँग छोडेर दिपा ‘म केही बेरमा आउँछु’ भन्दै पोखरीको किनारमा पुगिन्। विवेक पहिलेदेखि नै उनको पर्खाइमा थियो। उसको हातमा दिपालाई मनपर्ने खानेकुरा थियो।
दिपाले अचम्म मान्दै सोधिन्, ‘तिमीलाई अझै याद छ?’
विवेक केही बोलेन, मुस्कुराइरह्यो।
दिपा चुपचाप ढुंगामा गम्भीर मुद्रामा बसेकी थिइन्। विवेकले दिपालाई गम्भीर देखेपछि सोच्न थाल्यो कि ऊ सधैँ हाँसी रहन्थिन्। आज किन यति गम्भीर देखिएकी? के तिनको हाँसो, ती सपनाहरू यी वर्षहरूमा हराए?
त्यसपछि विवेकले उसलाई खानेकुरा हातमा राख्दै सोधे, ‘कस्तो चल्दैछ जिन्दगी?’
‘ठिकै छ,’ दिपाले लामो सास फेरिन्।
‘ठिकै छ कि ठिक छ? दुई मा फरक छ, तिमी किन उदास देखिन्छौ?’
दिपाले विवेकको आँखामा हेरिन्। कति सत्यता छ, कुनै छल छैन, कति सजिलै आफ्नो मनका कुरा पढेर आफ्नो दुःख बाँड्न खोजिरहेकी छ। एक्कासी दिपालाई आफू बाक्लो, बलियो रुखको छायामुनि सुरक्षित र निश्चित भएर बसिरहेको महसुस गरिन्।
‘भन, तिम्रो श्रीमती र छोराछोरीको कस्तो छ?’
‘राधिका ठिकै छिन्। क्लब, पार्टीमा व्यस्त हुन्छिन्, छोरा उत्तम ५ वर्षको भएको छ। तिम्रो श्रीमान् र छोरी आएनन्?’
‘अर्जुनलाई कामबाट समय निकाल्न फुर्सद हुँदैन र दिक्षालाई आमासँग छाडेर आएको छु।’
‘त्यसोभए अर्जुन धेरै व्यस्त छ?’
दिपाले जवाफ दिइनन्।
‘के सोच्दै छौ दिपु?’
विवेकको मुखबाट ‘दिपु’ सुनेर दिपालाई राम्रो लाग्यो। त्यसपछि उनले भनिन्, ‘ यस्तै भयो, मुट्ठीको बालुवा चिप्लिएझैं तिमी मेरो जिन्दगीबाट निस्केका थियौ र थाहा छैन आज कसरी हामी दुवैजना यसरी बसेका छौँ।’
‘तिमी खुसी छौ, हैन दिपु?’
एकपटक दिपाले विवेकलाई हेरिन्, विगतसँग जोड्ने कुरा अझै थियो। उही मनमोहक मुस्कान, आँखामा उस्तै स्नेह र विश्वसनीयता।
‘तिमी आज पनि धेरै भावुक भएकी छौ दिपु।’
‘हामीले जति नै इमान्दार हुने प्रयास गरे पनि कहिलेकाहीँ गहिरो पीडा महसुस हुँदोरहेछ।’
‘तर तिम्रो र अर्जुनबीचको सम्बन्ध संसारको सबैभन्दा बलियो सम्बन्ध हो, किन बिर्संदैछौ?’
‘सम्बन्ध मनको हुन्छ तर अर्जुनसँग कहाँ कुरा बिग्रेको छ थाहा छैन।’
आज विवेकलाई भेटेपछि दिपाले आफूलाई नियन्त्रणमा राख्न सकिनन्। उनले विवेकको अगाडि आफ्नो पीडा पोखिन, ‘विवेक, अर्जुन एकदमै व्यवहारिक मान्छे हो। हाम्रो घरमा सुखसुविधाको कुनै कमी छैन, तर ऊ भावनाको प्रदर्शन गर्न जान्दैनन्। हाम्रो एकै किसिमको दिनचर्या जस्तो जीवन निरस छ।
दुवैजना सँगै बस्दा पनि कहिलेकाहीँ हामी दुईबीच बोलचाल हुँदैन। जिन्दगीमा सँगै बस्नु, सुत्नु, खानु, पारिवारिक कार्यक्रममा जानु सबै कुरा हुन्छ तर हाम्रो सम्बन्धको न्यानोपन कहाँ हरायो थाहा छैन। अर्जुनलाई मेरो मनबाट टाढा रहेको महसुस गर्छु। अब त लाग्दैछ अर्जुन र म खोलाका दुई किनाराजस्तै भएका छौं। हामीबीचको खाडल मेटाउन सक्नेछैनौ। थाहा छैन आज किन तिमीबाट केही कुरा लुकाउन सकिनँ।’
‘तर अझै पनि हामीले त्यो खाडललाई पुर्ने प्रयास गर्नुपर्छ दिपु। मलाई अहिले कुनै दु:ख छैन किनभने मैले राधिकाको अहंकारको अगाडि समर्पण गरेको छु। उसलाई आफ्नो बुबाको सम्पत्तिको धेरै घमण्ड छ र उसको नजरमा मेरो कुनै हैसियत छैन, तर म यसमा केही गर्न सक्दिनँ। यी अवस्थाहरू परिवर्तन गर्न सकिँदैन।
हाम्रो विवाह जससँग भएको छ भन्ने तथ्यलाई अस्वीकार गर्न सक्दैनौं। हामीले अर्जुन र राधिकालाई उनीहरू जस्ता छन त्यसरी नै स्वीकार गर्नुपर्छ। तिनीहरूलाई बदल्ने प्रयास गर्नु मूर्खता हो। उनीहरूकै अनुसार आफैलाई ढाल्नु राम्रो हो नत्र सारा जीवन रिस, द्वेष, झगडा र विवादमा बित्नेछ।’
‘तर के यो सम्झौता गरेजस्तो होइन र? सम्झौतामा सुख र माया कहाँ हुन्छ र?’
दिपाको अवस्था देखेर विवेक दुखित भएको थियो। त्यसैले सम्झाउँदै उनले भने, ‘दिपु, सम्झौता भन्नु हुँदैन। अफिसदेखि लिएर साथीभाइ, छिमेकी, आफन्त सबै ठाउँमा, हामी हरेक मोडमा मिल्न खुसीसाथ तयार हुनुपर्दछ। त्यसोभए जीवनभर सँगै बिताउने यो सम्बन्धमा किन सम्झौता नगर्ने?’
विवेकको कुरा सुन्दासुन्दै दिपा सोचमा डुबेकी थिइन् कि पहिलो प्रेममा यस्तो हुन्छ, जसले जीवनमा संजीवनी र विष दुवैको काम गर्छ। तर उनले अमृतको सट्टामा विष पिइरहेकी थिइन्। दुवैको हृदयमा चोखो मायाको सागरको छालझैँ तरंगहरू फैलिरहेको थियो। विवेकको पनि सायद यस्तै मनस्थितिबाट गुज्रिरहेका थियो।
दिपाले आफूलाई विवेकले हेरिरहेको देखेपछि मुस्कुराउने हरसम्भव प्रयास गर्दै भनिन्, ‘के भयो, तिमी किन चुपचाप बस्यौ? के तिमी पनि आफ्नो जीवनलाई मिलाउँदा मिलाउँदै मानसिक रुपमा थाकेका छौ?’
‘होइन, मलाई अझै लाग्छ कि विवाह जीवनको एउटा सुन्दर चरण हो, जहाँ संयम र धैर्यता कायम राख्न आवश्यक हुन्छ। समझौता गर्ने स्वभाव भएकाहरूले मात्र यस मोडमा सुन्दर दृश्यको आनन्द लिन सक्छन्। मेरो कुरामा विश्वास गरेर हेर दिपु, जिन्दगी अलि सहज बन्नेछ। तिमी आफ्नो ख्याल गर, हामी दुवै जहाँ बसे पनि हृदयमा सधैं साथ रहनेछौ।
मनसँग जोडिएको सम्बन्ध कसले छुट्याउन सक्छ र? हामीले एकअर्कालाई विश्वासको त्यो आधार दिनु पर्छ, ताकी हाम्रो दाम्पत्य जीवनको जग खोक्रो नहोस्। अर्को पटक भेट्दा तिम्रो अनुहारमा त्यही मुस्कान हुनुपर्छ, जुन यसपटक काठमाडौंमा छोडेर आएकी छौ।’
यति भनिरहँदा विवेकको ओठमा हाँसो फुट्यो, दिपा पनि मुस्कुराइन्।
‘अब जाऔँ, तिम्रो छोरीले पर्खिरहेकी होली? अर्कोपल्ट आउँदा भेट नगरी नजानू’ भन्दै विवेक हाँस्यो।
दुवै जना आ-आफ्नो घर फर्किए। विवेकको निर्दोष, चोखो मायाप्रति दिपाको मन श्रद्धाले भरिएको थियो। घर फर्केपछि, दिपाले आफूले अर्जुनलाई मनैदेखि ग्रहण गर्ने निर्णय गरिन्।
माया र समर्पण गरेर कोही सानो हुँदैन। उनले फेरि एकपटक आफ्ना चकनाचुर सपनाहरूलाई एक ठाउँमा ल्याउने प्रयास गर्नेछिन्। दिपाको मनमा अर्जुनप्रति थुप्रिएको रिस अब समाप्त भएको थियो।