बा! म गरिबको छोरो हुँ भन्ने कुरा
तपाईंका हत्केला हेरेर थाहा पाएँ
ठूलो आलिशान महलभित्र विलासिताको
जीवन भाग्यमा थियो होला सायद
तर ती भाग्यका रेखा
हातबाट मेटिँदा
साँच्चै कोदालीको ढाडमा भेटिँदा थाहा पाएँ
बा! साहुले नमज्जाले घर घेरेर थाहा पाएँ
म गरिबको छोरो हुँ भन्ने कुरा
तपाईंका हत्केला हेरेर थाहा पाएँ
धन कमाएर नाम कमाउँछु,
नाम कमाएर धन कमाउँछु भनेर हो बा
तपाईंले शरम नमानी-नमानी
परिश्रम गरेको
तर
बीउ जति अब्बल भए पनि, जीउमा जति बल भए पनि
हाम्रो घरको धानले धन दिन भने
खासै सकेको छैन अब
नदीले नदिँदा विचरा बगरले के गरोस्
बुढो गोरुसँग बलवान् बगरले के गरोस्
मूलले नै घात गर्छ त
नहरले के गरोस्
अरबौँ अर्बको अरबमा
सपना देख्नेहरूले
सपना भेट्न पनि पाइन्छ भन्ने सुनेर
सपना भेट्ने आशमा गएकाहरू
सपना राम्रोसँग नदेखेको भएर हो कि
अरबमा बनेको लाखौँको बाकसभित्र
निदाएर घर फर्किए
कहिले बिउँझिन नपर्ने गरी सपना देख्न सुतेकाहरूले
कोदालीलाई निकै भाग्यमानी बनाएर गए
किनभने कोदाली
आलीआली भौतारिन परेको छैन
आलीले अलिअलि
कोदालीले चुमेको याद नगर्दो हो र?
बा! तपाईंका हत्केलाले
भाग्यका रेखा गुमेको याद नगर्दो हो र?
निर्जनताले उत्सव मनाएको बेला
एकदिन हाम्रो घरमा
गज्जबको खुसी छाएको थियो
जहाँ अगेनुको पेटले खरानी
पाएको थियो
कसौंडीको पेटले
पानी पाएको थियो
खुसीका आँसुले आमाका गह भरिएका थिए
मेरा भाइहरूको अनुहारमा पनि
हर्षको महोत्सव लागिएको थियो
मेरो, आमाको, बजैको
खुसीको बाकसको
ताला लिएर
मेरा भाइहरू
मालिक बन्न चाहन्थे
मेरा भाइहरू सबैको खुसीको बाकसको
मालिक बन्न चाहन्थे
सबैको बाकसको मालिक बन्न चाहन्थे
तर
बा! कसको मालिक बन्न चाहन्थे?
सायद
यसको
उत्तर पश्चिमतिर छ कि?
कि पूर्वमा?
चारै ध्रुवमा बाँडिएको यो प्रश्नको उत्तर
उत्तरमा छ
किनकी
मेरा बा उत्तर जाँदा प्रश्नैप्रश्नको झोला बोकेर गएका थिए रे
तर सानो झोला बोकेर गएका मेरा बा
घर फर्किंदा आफू अटाउने ठूलो
बाकसमा आएका थिए।
बा आफै बाकसको मालिक भएर आएका थिए
र त
भाइहरूको मालिक बन्ने
सपना चकनाचुर भयो
घरको गज्जबको खुसी गयो
अँगेनुको खरानी बिना पेट रित्तियो
कसौंडीको पानी बिना पेट रित्तियो
घरबाट गएको सानो झोला
बाकस बनी भित्रियो
आज
आलिसान बाकसको मालिक भएर
आएका
मेरा बालाई
म
कुन शब्दले सम्बोधन गरौँ?
कुन शब्दले स्वागत गरौँ?
स्वागत बालाई गरौँ कि
बाकसलाई?
कसलाई सोधौँ म यो प्रश्न?
बा! कसलाई सोधुँ म यो प्रश्न?
आजबाट हाम्रो घरमा
मात्र गरिबी हुने छ तर गरिब हुने छैन
आजबाट गरिब हरायो
भाइलाई खेलौनाको रहर हरायो
आमाको टीका हरायो
चुरा हरायो
अनि गाजल हरायो
मेरी बुढी बजै भन्नुहुन्छ-
बाबू, बुढेसकालमा मेरो तातो
जल हरायो
भाग्यका रेखा मेटिए सपनाको
महल हरायो
हाम्रो घरमा त्यो गरिब जायज थियो
नाजायज त गरिबी मात्रै हो
हाम्रो घरमा त्यही
सानो झोला नै लायक थियो
नालायक त ठूलो बाकस मात्रै हो।