तिम्रो मनको पीडा अनुहारमा स्पष्ट झल्कन्छ। त्यसैले भन्नसक्छु कि तिमी कुनै पीडामा छौ। यदि तिमी चाहन्छौ भने त्यो विषयमा कुरा गर्नसक्छौ। मनभित्रका पीडाहरूलाई बाहिर निकाल्दा मन शान्त हुन्छ। मन शान्त भएपछि सन्तोष प्राप्त हुन्छ।
सन्तोष नै स्वस्थ र दीर्घ जीवनको रहस्य पनि हो भन्ने सम्झेर भनेकी थिएँ। तर अब अरू नभन। म सुन्न सक्दिनँ। तिमी अहिले कुन मनोदशामा छौ भन्ने बुझ्नसक्छु। यस्तो पीडाले कतिसम्म सताउँछ भन्ने मलाई पनि थाहा छ। तिम्रा कुरामा मेरो जीवनकथा समेटिएको छ। तिम्रो र मेरो जीवनमा सदृशता छ।
सम्बन्ध गाँसिएपछि नाताले नजिकको मान्छे जसले सधैँ साथ रहेर जीवन बिताउने कसम खाएको हुन्छ। उही आफ्नो मान्छे, आफूले मानेको मान्छेले अनायसै जीवन यात्राको बीच बाटोमा साथ छोडिदिने कुरा गरेपछि कति तनाव हुन्छ?
यो मनोदशाभित्र रूमलिएर बाँच्नुपर्दा कति कष्ट हुन्छ? मानसिक हालत कस्तो हुन्छ? बिरानो ठाउँमा एक्लै हुनुपर्ने अवस्था सृजना भएपछि के कस्ता विचार आउँछन्? भन्ने कुराको भुक्तभोगी म पनि हुँ।
अचानक अन्दाजभन्दा परको विषयले तुफान बनि प्रवेश गर्यो भने जीवन कतिसम्म पीडादायी बन्छ भन्ने कुरा मैले भोगिसकेकी छु। म पनि तिम्रै उमेरकी थिएँ होला सायद त्योबेला जतिबेला समयले आरामचैनमा चलेको मेरो जीवनमा अचानक त्यो भयङ्कर तुफानको प्रवेश गरायो।
सात समुद्रपार आएर जीवन निर्वाह थालेको केही समय नबित्दै बेहोर्नु परेको त्यो तुफानले मेरो वैवाहिक जीवनमा ठूलो अस्तव्यस्ता ल्यायो। जन्मभूमि र आफन्तबाट टाढा बसाइँ सरेर आएकी एकातिर यहाँको परिवेशमा घुलमिल हुन संघर्षरत थिएँ भने अर्कातिर अनायस उत्पन्न भएको पारिवारिक समस्याका कारण मानसिक पीडाबाट गुज्रिन बाध्य थिएँ।
त्यो बेला सामना गरेको तनाव मेरो मानसपटलमा अहिलेसम्म पनि ताजै छ। नहोस् पनि कसरी? मागी विवाहका कारण एकअर्काको परिवारसँग घुलमिल हुन लाज अवश्य लागेको थियो। तर छोटो समयमै हामी अत्यन्त गहिरो मायाप्रितीमा बाँधियौँ।
हामीबीच कहिल्यै कुनै विषयलाई लिएर वादविवाद भएन, असमझदारी भएन। वा भन्नु विवेकी, मिलनसार जीवनसाथीसँग झगडा गर्नुपर्न अवस्था नै आइपरेन। अमित प्रेमका कारण प्रेमिल जोडीका रूपमा चिनिन हामीलाई धेरै समय लागेन।
गाउँघरमा देख्नेहरूले पनि घरधन्दाको काम पनि जोइपोइसँगै मिलेर गर्छौं। जहिल्यै एकअर्कालाई यसरी नै सहयोग गरेको देख्न पाइयोस्, दुई बीचको मायाप्रेममा कसैको आँखा नलागोस् भन्ने गर्थे। हामी पनि एक अर्काप्रति समर्पित थियौँ।
समयसँगै अघि बड्दै जाँदा एक सुन्दर स्वगृह बनाउने संकल्प गर्यौं। तर गाँउमा बसेर त्यो सम्भव थिएन। त्यसैले सधैँ सँगै बसेर जीवन बिताउने अनि भविष्यका योजना पूरा गर्ने उद्देश्य बोकेर यहाँसम्म आएका थियौँ।
तर समय सधैँ एकनास रहँदैन। यहाँ आएको वर्षदिन नपुग्दै उहाँको स्वभावमा परिवर्तन देखापरे। घरमा थोरै समय दिने, घरमा हुँदा पनि खासै बोल्न नखोज्ने, बोल्दा पनि झर्केर बोल्ने, बाबुहरूसँग पनि रिसाउने, झर्कने, केही न केही निहुँमा घरबाट निस्कने, ओभर टाइम काम गर्नुपर्यो भनेर कामबाट ढिला आउने गर्न थाल्नुभयो।
मलाई भने नयाँ परिवेश, नयाँ ठाउँमा आफूले सोचेजस्तो नभएर होला जस्तो लाग्यो। एक्लैले काम गर्नु परेकाले आर्थिक तनाव भएर होला भन्ने सम्झेर, ‘तपाईं तनाव नलिनू। काम पाउने बित्तिकै म पनि काम गर्छु अनि आर्थिक रूपमा सुदृढ भएर यहाँ आउँदा लिएको ऋण तिरेपछि जीवन पक्कै सहज हुन्छ पीर नर्गनू’ भन्दै ढाडस बढाए।
तर बाबुहरू साना भएकाले काम पाउन सजिलो थिएन। केही समयपछि बाबुहरूसँग अनुकूल समय मिलाएर पार्टटाइम काम थालेँ। तर मैले काम थाले पनि उहाँको बदलिँदो स्वभावमा परिवर्तन आएन।
त्यसपछि शंका निवारणका निम्ति सोधेँ, ‘तपाईं पहिलाजस्तो हुनुहुन्न? किन, के भएको छ? आखिर के समस्या छ?’
जवाफमा उहाँले स्पष्ट पार्दै भन्नुभयो, ‘मलाई मेरो अफिसमा काम गर्ने केटी मनपरेको छ। हामी दुई एकअर्काबिना बाँच्न नसक्ने अवस्थामा पुगिसकेका छौँ। अब म उनीसँगै बस्न चाहन्छु। मलाई तिमीबाट छुटकारा चाहिएको छ।’
उहाँका कुराले म निस्तब्ध भएँ। अकमक्क परेँ। केही समयका निम्ति सर्वत अन्धकार छायो। सास रोकिए जस्तो भयो। टाउकोमा कुनै भयङ्कर वस्तुले थिचेझैँ लाग्यो। आकाश खसेझैँ लाग्यो। जमिन भासिएर तल दबिएजस्तो भयो।
आनन्दसँग बितिरहेको मेरो जीवनमा जब त्यस कालोत्पादित विषयले अचानक प्रवेश गर्यो। तब आफू सहाराविहीन अनि एक्लो भएको महसुस गरेँ। जीवनमा पहिलोपटक आफूले कहिल्यै कल्पना समेत नगरेको सत्यको सामना गर्नपुगे।
विवाहपछि आजसम्म जे गरेँ, जसका लागि गरेँ उसले नै त्यस्तो मानसिक पीडा दिने कुरा गरेपछि रुनुको विकल्प देखिनँ। तर सहजले घरभित्र बसेर रुन पनि सकिनँ। साना छोराहरू घरभित्र नै हुन्थे। उनीहरूको मनोविज्ञानमा नराम्रो प्रभाव पर्छ भन्ने ठानेर भरिएका आँखा लिएर घर पछाडिको आँगनमा जान्थेँ। टिलपिल भरिएका आँखाबाट आँसुका ढिक्काहरू लामो समयसम्म झरिरहन्थे।
जसरी साउनको झरीमा भरिएका खेतका गराबाट पानी अनियन्त्रित भई छताछुल्ल पोखिन्छ त्यसरी नै मेरा आँखामा भरिएका आँसु पनि अनियन्त्रित भई गाला, अनुहार हुँदै जमिनसम्म पुग्दथे। निमार्ण भैसकेको घर, परिवारबाट अलग हुनुपर्ने कल्पना मात्रैले पनि धेरै रात आँसुले सिरानी भिजाएँ। त्यो प्रक्रियाले लामो समयसम्म निरन्तरता पाइरह्यो।
जीवन बाँच्नका निम्ति चाहिने साथ, आशा, भरोसा चकनाचुर भएर टुटिसकेपछि अत्यन्तै निराश भएँ। परिवारबिनाको जीवन सम्झिँदै कहाली लाग्नथाल्यो। अझ दुःखको कुरो के थियो भने आफन्तहरूबाट टाढा बिरानो देशमा जीवन निर्वाह गरिरहेकी मैले मानसिक पीडाले भरिएको मनको बोझ बिसाउने उपयुक्त व्यक्ति समेत फेला पार्न सकिनँ।
आमा बितिसक्नु भएको थियो। बाबुलाई सुनाउन मन लागेन। आफूले जति माया गरेर हुर्काउनु भयो त्यति नै माया ज्वाइँले गरेका छन् भन्नेमा ढुक्क हुनुभएको बुवाको विश्वासलाई तोडने हिम्मत आएन। ज्वाइँले छोरीलाई छोड्लान्, छोरीले यस्तो समस्याको सामना गर्नुपर्ला भन्ने बुवाले सोच्न त के कल्पनासमेत गर्न सक्नुहुन्न।
त्यसैले बुवाको दृढ आस्थालाई भत्काउने खबर सुनाउने आँट गर्न सकिनँ। त्यसमाथि कान्छी छोरी पुलपुलिएर हुर्किएकी पीरमा छु भनेर कसरी सुनाउँ? फेरि नजिकै भएर भेटेर कुरा गरेजस्तो सजिलो पनि छैन। यति टाढाबाट सुनाउँदा बुबालाई चिन्ता मात्र हुन्छ भन्ने लाग्यो।
यसरी मनलाई शान्त बनाउने वातावरण नबनेपछि मनस्ताप बडेर केही समय विक्षिप्त मनोदशामा दिनहरू बिताएँ। विश्वासघातको पीडाले रूनै मात्र मन लाग्ने। घरधन्दामा मन नलाग्ने। खान मन नलाग्ने।। बाबुहरूसँग समेत रमाउन नसक्ने। दिकदारी झैँ लाग्ने भयो।
जीवनका ती अमूल्य, महत्वपूर्ण समय तनावग्रस्त भएर अत्यन्त छटपटीमा बिताएँ। बाँच्ने चाहना हराइसकेको थियो तर बाबुहरूले गर्दा मर्न पनि सकिरहेकी थिइनँ। तर अचानक एकदिन एक्लै घोरिरहेका समयमा म को हुँ, म को थिएँ र कसरी यति निरीह अनि कमजोर बनेँ? भन्ने विषयमा सोच्न पुगेँ।
आफ्नो विगतलाई सम्झिएँ। म त स्वाभिमानी र निडर थिएँ। नबिराउनु नडराउनुको मान्यता अनुचरण गर्ने म किन यति कमजोर भएँ? आखिर मैले गल्ती नै के गरेकी छु? म पहिलाजस्ती थिएँ अहिले पनि उस्तै छु। मलाई हेर्नेको नजर फरक पर्यो भने यसमा मेरो के दोष? विगतलाई सम्झँदै वर्तमानको विवेचना गरेँ।
आफ्नो विगतको सम्झनाले ममा नयाँ हौसला प्रदान गर्यो। जीवनको गोरेटोमा भौतारिरहेकी मैले निशामा प्रकाशको उज्यालो देखापरे जस्तो अनुभव गरेँ। स्वतःस्फूर्त रुपमा आत्माबल बढ्यो। आखिर भाषामा राम्रो दख्खल नभए पनि सानोतिनो काम गरिरहेकै छु। अब आत्मनिर्भर बन्नका निम्ति केही न केही इलम अवश्य गर्छु भन्ने सत्यसंकल्प गरेँ।
स्वतन्त्र भएपछि कसैको रोकटोकबिना काम गर्ने वातावरण पनि तयार हुन्छ। गरिखान सक्ने उमेरकी छु। शारीरिक रूपमा कमजोर पनि छैन। जस्तोसुकै अवस्थामा पनि गरिखान सक्छु भन्ने मानसिकता बनाएँ। आत्मनिर्भर बन्ने विश्वास जागृत भइसकेपछि मेरो निर्णयले पार्ने पीरको सामना गर्न अनि सामाजिक प्रतिष्ठामा आउन सक्ने उतारचढावलाई झेल्न सक्ने हिम्मत समेत आयो।
त्यसपछि मेरो विचार परिवर्तन भयो। सकारात्मक सोच ल्याएँ र हिजोसम्म गलत लागेको विषयलाई सहजतातिर अघि बढाएँ।
आखिर केही दिनदेखि हामीबीच नाता, सम्बन्धलाई मजबुद बनाउन चाहिने श्रद्धा, आदार, सम्मान, स्नेह, माया, ममता आदिको अभाव खट्कीएको छ। हामीबीच सम्बन्धलाई स्थायित्व दिने सौहार्दपूर्ण वातावरणमा कमी आएको छ।
यसरी एकले अर्काको अपमान गर्ने अवस्था सिर्जना भैसकेपछि, मनमुटाव भैसकेपछि एकतर्फी झुकेर बनेको सम्बन्ध अरू कति अघि बढ्न सक्ला? उहाँलाई मेरो सामीप्याको आवश्यकता पर्दैन। बाँकी जीवन मसँग बिताउन मन छैन भने जबर्जस्ती खोक्रो लोकाचारका निम्ति जोडिएको सम्बन्ध अरू कति दिनै पो टिक्नसक्ला?
अहिलेसम्म मैले विनम्र भएर हरपल साथ दिई घरव्यवहार चलाएको बिर्सिएर अरू कसैको प्रेममा फसेकै हो भने मेरो मात्र एकोहोरो समर्पणको कुनै अर्थ पनि रहँदैन। उहाँको मनसाय बुझिसकेपछि मसँगै बस्छु भन्नु पनि उचित छैन।
उहाँलाई मन नहुँदा नहुँदै व्यक्तिगत स्वतन्त्रताको हनन गर्दै कसैलाई जबरजस्ती मैसँग बस भन्नु पनि हुँदैन। सम्बन्धभित्र रहेर सम्बन्ध विहीन बाँच्नुभन्दा स्वतन्त्र बाँच्नु उपयुक्त हुन्छ। आफ्नो अस्तित्व मेटाएर ओचित्य विहीन भई उहाँसँग बस्नुभन्दा अलग बस्नु राम्रो हुन्छ भन्ने निष्कर्षमा पुगेँ।
त्यसपछि अब उप्रान्त एकलाई अर्काको खाँचो नपर्ने अवस्था सिर्जना भइसकेपछि एक रथका दुई पाङ्ग्राको संज्ञा पाएको दाम्पत्य जीवनको हाम्रो सहयात्रा सकिने निश्चित थियो। तर लामो समयको सहकार्य त्यति सजिलैसँग टुंगिएन। सम्बन्ध टुंग्याउने क्रममा वादविवाद भए।
टुङ्गिने अवस्थामा पुगेको सम्बन्ध सुधार्नमा वादविवादले ठूलो भूमिका खेल्न नसके पनि एकअर्काको धारणा बुझ्नु, विचारको सुनुवाइ हुनु राम्रो कुरा हो। विचार नमिलेपछि बहस हुनुपर्छ। यसबाट मनमा भएका कुण्ठा, क्लेश सहजै बाहिर निस्किन्छन्।
अलग बस्ने निर्णय लिइसकेपछि वादविवाद हुनु, तर्कवितर्क हुनु सामान्य नै थियो। सम्बन्ध सकिएपछि पुराना कुराहरूले नपिरोस् भन्नका खातिर पनि वादविवाद आवश्यक थियो। त्यसैले वादविवादलाई सामान्य रुपमा नै लिँदै गएँ।
वादप्रतिवादमा उठेका प्रायःजसो विषयहरू समयानुकूल र व्यवहारिक नै लागे। तर जब सन्तानका विषयमा कुरा उठे तब म चुप्प लागेर शान्तसँग बस्न सकिनँ। वा भनौँ कुरैकुरामा सन्तानका विषयलाई लिएर संकीर्ण विचारहरू प्रभावित हुन थालेपछि, विचारको उदारता समाप्त हुँदै गएपछि, बिनाकारण सन्तानले अपजस पाएपछि मभित्रको मातृत्वले सहन सकेन।
त्यसैले उहाँका कुरालाई खण्डन गर्दै भनेँ, ‘हाम्रो परिवार विवाह गरेका दिनदेखि डिभोर्स नहुन्जेलसम्म एक उत्कृष्ट, आदर्श परिवारका रूपमा चिनिन्छ। हामी अहिलेसम्म पूर्वीय सामाजिक चालचलन अनुरूप नै चलेका छौँ। विवाहपश्चात् हरेक पल सँगै रहेका हामीले अहिलेसम्म छुट्टिएर बस्नु परेको पनि छैन।
हरपल साथसाथ रहेका हामी परदेश आउँदा समेत सँगै आएका छौँ। आजसम्म सन्तानका निम्ति समान उत्तरदायित्व निर्वाह गरिरहेका हामी दुईमध्ये एकले मात्र जिम्मेवारी लिने मौका नै आएको छैन। त्यसैका कारण पनि घरपरिवारभन्दा टाढा रहेका हामीले बाबुहरू हुर्काउनका निम्ति बराबर सहभागिता जनाएका छौँ।
उनीहरू हुर्कनुमा हामी दुवैको उत्तिकै योगदान छ। बराबर सामान राखेर जोख्दा तराजुको पल्लाको जुन अवस्था रहन्छ, उनीहरूलाई हुर्काउँदाको हाम्रो अवस्था पनि उस्तै छ। यसरी सधैँ साथसाथै रहेका हामीबाट अभिभावकको भूमिका निर्वाह गर्न क्रममा केही कमीकमजोरी भएका भए पनि सबै दोष एउटाको मात्र हो भन्नुमा कति बुद्धिमता छ?
फेरि छोराहरूले के गरे? कसरी बिग्रिए? बिग्रिनुको मापदण्ड के हो? त्यो कुराको छलफल नै नगरी आफ्नो कुरालाई माथि पुर्याउन यस्तो असत्य कुरा बोल्न मिल्छ? छोराछोरी बिग्रनमा बाबुआमा, समय, परिस्थिति, हालात सबैको भूमिका रहन्छ। यस्तो गम्भीर विषयमा विस्तृतरूपमा अध्ययन नगरिकन आफ्नो तर्कलाई बढ्वा दिनका निम्ति एक्कासी मेरा छोरा तैँले बिगारिस् भनेर झुटो आरोप लगाउन मिल्छ?
आफ्ना विचारलाई पुष्टि गर्नका खातिर यस्तो असम्भव र अस्वभाविक कुरा गर्न पाइन्छ? यो त म के बोल्दैछु भन्ने थाहा नपाई, सुझबुझ सबै हराएपछि व्यक्त हुने विचार हो। महानता सबै हराइसकेको अवस्था हो। बाबुआमासँगै रहेका छोराछोरी यदि बिग्रिए भने पनि बिगारेको दोष आमालाई मात्र कसरी आउँछ?
आफ्ना आँखाअगाडि जन्मिएर हुर्किएका सन्तान बिग्रेको दोष आमालाई मात्र दिन मिल्छ? यो कुन नैतिकताभित्र पर्छ? फेरि दिनरात सन्तानका साथमा बिताएर तपाईंले यस्तो भन्नु तर्कसंगत छ? बाबु भइसकेपछि छोराछोरीको अभिभारा लिनुपर्दैन? छोराछोरीका निम्ति बाबुको कुनै कर्तव्य हुँदैन?
आफ्नो जिम्मेवारी, उत्तरदायित्व सबै बिर्सिएर सम्पूर्ण दोष आमामाथि मात्र थोपर्नु ,सबै कसुर आमाको मात्र हो भन्नु व्यवहारिक छ? शैक्षिक योग्यताको दम्भ छोडेर व्यवहारले सिकाएका कुरा गर्नुहोस्। मसँगको असन्तुष्टिलाई छोराको प्रतिष्ठासँग जोड्नु उनीहरूका निम्ति न्यायसङ्गत छ? एक योग्य अभिभावक बन्नुहोस्।
आफ्नो सन्तान बिग्रेको हेर्ने रहर कुनै अभिभावकलाई हुँदैन। अभिभावक त आफ्ना प्राणभन्दा प्यारा सन्तानको प्रगति हेर्न चाहन्छन्। हुन त यति धेरै विवेकशून्य कुरा गरेपछि अब तपाईंसँग बहस गर्नुको कुनै ओचित्य रहेन। त्यसैले बाबुका कुरा तपाईं जान्नुहोस् तर आमाका तर्फबाट मेरा कुरा सुन्नुहोस्।
आफ्नो ज्यान जोखिमको बेवास्ता गर्दै कति दुःखकष्ट सहेर प्रसवपीडा खपेपछि बल्ल जन्मिन्छन् सन्तान। सन्तान जन्माउनका निम्ति आफ्नो प्राणलाई दाउमा लगाउने आमालाई सन्तान बिगारेको दोष नलगाउनूहोस्। अनि आफ्नो स्वार्थ सिद्ध गर्न सज्जन छोराहरू बिग्रेका छन् भन्ने निराधार कुरा पनि नगर्नूहोस्।
बटम थिचेका भरमा मिसिनले सामान बनाए जस्तो सजिलो हुँदैन सन्तान जन्माउन, हुर्काउन। बाबु भएर बिर्सनु भयो होला तपाईंले तर आमा भएर बिर्सन सक्दिनँ म उनीहरूसँग बिताएको विगत।’
यसरी जुन दिन मैले उहाँको भनाइमा विमति जनाएँ त्यो दिन मलाई आत्मासन्तुष्टी प्राप्त भयो। त्यही बहसका कारण नै मेरो जीवनमा नयाँ मोड आयो।
कानुनअनुसार नाबालक छोराछोरी भएका बाबुआमा अलग भए भने छोराछोरीको जिम्मेवारी दुवैले बराबरी रूपमा लिनुपर्छ। छोराछोरीको जिम्मेवारी वर्गीकरण हुँदा एक हप्ता बाबुले र अर्को हप्ता आमाले राख्नुपर्छ।
हाम्रो पनि कानुनअनुसार नै सम्झौता भयो। तर कानुनका भरमा एक हप्तालाई पनि बाबुकहाँ छोरा छोड्न सकिनँ। बाबुको नयाँ जोडिएको सम्बन्धमा छोरा पठाएर उनीहरूको अपमान नहोला भन्न सकिनँ। त्यसले उहाँसँग आन्तरिक सम्झौता गरेँ। त्यसले उहाँलाई पनि आफूले भने झैँ भयो।
त्यसपछि छोराहरूसहित अर्को सहरमा बसाइँ सरेँ। छोरालाई बाबुआमा दुवैको माया दिएर हुर्काएँ। सन्तानप्रतिको जिम्मेवारी पूरा गर्दै उनीहरूलाई आत्मनिर्भर बनाएँ।
सहकर्मीको निम्ति मलाई छोड्ने उहाँको नियर्णले उनीहरूको भविष्यमा असर नपरोस् भन्ने मेरो चाहनाले समयसँगै मूर्तरूप लिँदैगयो। उनीहरू पनि स्वाभिमानी र स्वावलम्बी बने। अहिले जब समय मिलाएर उनीहरू आउँछन् अनि ‘आमा, तपाईं नै हाम्रो जीवनको मार्गदर्शक हो। हजुर नै हाम्रो सफतलाको चुरो हो’ भन्छन् त्यसैमा म सन्तुष्ट छु।
मैले जे गरेँ, त्यसैमा म गौरवान्वित छु। तिमीले देखेकै छौ अहिले म एक्लै छु। तर केही गुनासो छैन। त्यसैले जीवनमा सुखदुःख दुवैको सामना गर्न सिक किनकी जीवन सुखदुःखको संगम हो।
तर जसरी आत्मासन्तुष्टी प्राप्तिका कारण मेरो मनमा आनन्द अनि जीवनमा आरोग्यता छ, त्यसरी नै तिमी पनि कसैको करकापमा नपर। आफ्नो स्वविवेकले निणर्य गर जुन निर्णयले भविष्यमा तिमीलाई सन्तुष्टी प्रदान गरोस्।