हो, म हराइसकेछु
रङ्गिविरङ्गी मानिसका भिडमा
आफ्नै तलासमा
‘म’ ले मलाई प्रश्न गरिरहेछ
तँ कहाँ हराइस्?
म निःशब्द छु
किनकी
मलाई थाहा छैन
म कुन भिडमा गएर रूमलिएकी छु
म रूखको छहारीजस्तै स्थिर
न एक कदम अघि बढ्न सक्छु
न एक कदम पछि हट्न नै सक्छु
केबल डुबिरहेछु
निराशाका काला बादलहरूमा।
हो, म हराइसकेछु
सपनाको भवसागरमा
आफ्नै कल्पित संसारमा
पर्वतजस्ता मेरा सपनाहरूलाई
फुकाउने प्रयासमा
कहिले लड्दै, उठ्दै
त कहिले उठ्दै, लड्दै
म एक लक्ष्यविहीन यात्री
निसंकोच दौडिरहेछु
जिन्दगीको एक्लो दौडमा।
हो, म हराइसकेछु
कठ्याङ्ग्रिँदो हिउँदले उजाडिएका
मेरो सुनौला सपनाहरूलाई
रङ्ग भर्ने वसन्त ऋतुको पर्खाइमा
मनभित्र उब्जिएका झिनो
आशाका किरणहरुलाई
आफैमा गुपचुप राख्दै
ठिङ्ग उभिएको
पर्खालजस्तै उभिरहेछु
सुनसान त्यो बिरानो सहरमा।