धेरै वर्ष पहिले!
यति साह्रो नभनौं क्यारे। दस/बाह्र वर्षअगाडि मेरो जिन्दगीको एउटा नवाजात अवोध बिहानीले म जन्मेको मेरो जननी जन्मभूमिदेखि हजारौं माइल टाढाको एउटा देश जाने शुभ सन्देश लिएर आएको थियो।
सन्देश सहजै सजिलो बाटोबाट आएको पक्कै थिएन। अनगिन्ती कोसिसको फल बनेर फलेको थियो मेरो जिन्दगीको डालीमा। अपरिपक्व आलाकाँचो मेरो मानसिकताको छेउकुनामा पूरा-पूरा वैदेशिक कोरा सपनाको डढेलो आगो बनेर सल्किसकेको थियो।
अरुहरूको देखेर मभित्रको म अरुहरूलाई देखाउन भए पनि आकाशको बाटोबाट उडिजाने निर्णयको निर्धारण गरेको थियो मनमनै। मेरो मनमनैको योजना साकार पार्न त्यो बेलाको परिवेश मेरो लागि अनुकूल भएर आयो।
अनुकूल परिवेशको फाइदा लुटेर पढ्दै गरेको कलेज जान छोडिदिएँ। किताबको झोला फ्याँकेर सुदूर सपनाहरूको झोला बोक्ने हिम्मतिलो भरिया बनेँ। आफ्नै जिन्दगीको लेक-बेँसीमा पलाउँदै गरेको मिठो सपनाहरूको।
निकै दौडधूप गरेर राम्रै एजेन्ट फेला परेकोले म अनि मेरो आफ्नाहरू खुसी भयौं। खुसीहरू युरोपेली मुलुक रोमानियाको भिसा बनेर आयो। नगदले नपुगेर घरको जिन्सी सामान कतै बन्धकी राखेर माग बमोजिमको रकम जुराएर बुझाएँ।
सबै कामकुरो वैधानिक रुपमा पूरा गरेर निकै वर्ष पहिले आकाशको बाटो हुँदै भाग्य खोज्न, कर्म बिकाउन आफ्नोदेखि धेरै टाढा लागिएको थियो।
कहीँकतै अप्ठ्यारो बेहोर्नु परेन। पुग्नु पर्ने ठाउँमा पुगियो सहजै। नेपालदेखि बोकेर ल्याएको सपनाहरूलाई पूरा गर्न रोमानियाको सहर-सहरमा जतनले सम्हालेर हिँड्ने कोसिस गरिरहेँ।
अगाडि पुगेको साथीसंगीको सहयोगले त्यहाँको रहनसहन बुझ्न धेरै कष्ट भएन। समयसँगै आइपरेको कामहरू सहजै स्वीकार्दै अघि बढिरहेँ जीवनको यात्रामा। दुई वर्षको थियो काम गर्ने अवधि। दुई वर्ष बितेपछि पुनः नवीकरण गरेँ काम गर्ने अवधिलाई।
काम गरेर अर्थ बटुल्ने मात्रै थिएन मेरो लक्ष्य। लक्ष्य थियो युरोपेली मुलुकको पिआरधारी बन्ने। म बसेको देशबाट वर्क परमिट कार्ड मिल्थ्यो। जुन कार्ड देखाएर युरोपेली जुनसुकै मुलुकमा जान अनुमति दिन्थ्यो।
साथीहरूमार्फत पिआर हुँदै पासपोर्टको लागि सहजै आवेदन दिन मिल्ने देश पोर्चुगल हो भनेर थाहा पाएँ।
दुई वर्ष बिताएँ रोमानियामा। त्यसपछि पोर्चुगलमा गएर काम गर्ने अनि आफ्नो लक्ष्यमा पुग्ने सपना बोकेर हेलियो पोर्चुगल, चुनौतीले भरेको अप्ठ्यारो बाटोभरि अड्काउन बसेको थुप्रै तगारोहरू पन्छ्याउँदै।
सहज थिएन त्यहाँको बसाइ। काम पाए पनि भनेजस्तो आम्दानी हुँदैन थियो। पाइला-पाइलामा आश्वासन मात्रै बाँड्ने नवपरदेशी आफ्नै नसलको एजेन्डाहरूको कमी थिएन। यसो गर्नुपर्छ, उसो गर्नुपर्छ। कत्ति न! चाहिने कागजात पूरै आफैले बनाएर खुदले पिआर र पासपोर्ट दिनेजस्तो मिठो कुरा गरेर नराम्रोसँग ठग्दथे।
निकै चुनौतीको सामान सहेर, भोकप्यासको पर्वाह नगरेर मन र मुटु भएको जिउँदो मेसिन बनेर जीवनको उर्वर र महत्त्वपूर्ण समय क्याफेको कपदेखि बारको वाइन ग्लास कति धोएँ कति। त्यत्ति धेरै त मैले मेरो मुख धोइनँ होला।
जैविक जैंतुनको बोटको स्याहारदेखि स्ट्रबेरीको घारीलाई कति प्रेमपूर्वक गोडमेल गरे कति। त्यति धेरै त मैले आफ्नै बारीको मकै गोडिनँ होला।
प्रारब्धको नियम हो कि दैवको नियती, तेस्रो संसारमा परेको मानिसहरूको जिन्दगी पनि गज्जबकै छ। भैपरी आउने जस्तोसुकै दुःखसुख कुराहरूलाई सहनुपर्ने सजिलोसँग सहनशीलताको नमुना बनेर।
उता घाम उदाउने दिशातर्फको मेरो देशदेखि घाम अस्ताउने दिशातर्फ पर्ने हजारौं माइल टाढाको देशको कागजी रूपमै त्यहीँ देशको मानिस बन्ने मेरो रहर।
‘बठ्याइँ हो कि मेरो मूर्खता!’
जीवनको निकै समय खर्चेर प्राप्त गरेको छु पिआरसँगै उनको देशले दिने पासपोर्ट। हरियो पासपोर्ट बोकेर आएको मेरो हातमा रातो रंगको पासपोर्ट परेको छ। आफ्नै देशमा फर्कँदा भिसा लिएर भित्रिनु पर्छ, अध्यागमनमा दस्तुर तिरेर।
जीवनको डेढ दशक खर्चेर प्राप्त गरेको उनको देशको आइडेन्टीले धेरै पहिले राखेको लक्ष्य त पूरा भएको छ मेरो। तर धेरै वर्षहरू मिलेर धेरै पुरानो बनाएको मलाई ती पाएको पिआर पासपोर्टले खुसी होइन, पीडा दिएको अनुभूति हुँदैछ आजभोलि।
मैले उनीहरूकै देशको भाषा बोले पनि, मैले तिर्नुपर्ने कर उनकै सरकारलाई तिरे पनि, उनीहरूले खाएको जस्तै खाना खाए पनि कहीँकतै जताततै झेल्नुपर्ने प्रश्न सधैँ एउटै हुन्छ- ‘ह्वेर आर यु फ्रम?’
दिक्क भएको छु यो प्रश्नको जवाफ दिँदादिँदै।
यो प्रश्न मसँगै झुन्डिएको पाउँछु। मसँग मेरो जिन्दगीजस्तै गरी। मेरो हातमा उनको देशको मानिस हो भन्ने प्रमाण छ। सबुत छ। तर पनि मैले उनीहरूसँग मेरो देश यही हो भन्ने हैसियत पाउदिनँ कहिले पनि। जहिलेसम्म यहाँ बसोबास गरुँ म। लज्जित छु, किन आएछु जस्तो लाग्छ।
भुल गरिसकेको छु। अब मैले त्यो उर्वर दिनहरू फर्काएर ल्याउन सक्दिनँ जुन उर्वर समय आफ्नै देशमा खर्चिन सकुँ!
कहिलेकाहीँ लाग्छ के मैले गल्ती नै गरेको हो?
गल्ती नै गरेको भए प्रायश्चित गर्न सकुँला त मैले यो जुनीमा?
लगभग मेरो जिन्दगी आधा पाकिसकेको छ। विस्तारै-विस्तारै पाकेको जिन्दगीलाई टेको दिन थाँक्रा चाहिन्छ अडाउन। टेको लगाएको थाँक्रासहितको जिन्दगी बोकेर फर्कँदा के भन्लान् भन्नेहरूले भन्ने डरको बिरुवा अंकुराउँदैछ मनको डाँडापाखामा।
मेरो यो बठ्याइँपूर्ण भुलले मेरो भन्नेहरूलाई केही भौतिक सुबिधा दिन सकेँ होला। म स्वयंले बाको बाले नटेकेको भूगोल टेक्न भ्याएँ होला। मेरो आमाले सिकाएको भन्दा बेग्लै भाषा बोल्न जान्ने भएँ होला। तर ती सब खुसीयाली कुराहरूको रंगले खुसी पोत्न सकेन मेरो मनलाई।
माथामा विराजमान मस्तिष्कको आदेश पालन गर्न नमान्ने अदृश्य अनि अनियन्त्रित मन बेलाबेलामा नयनपथ हुँदै आँसु बनेर वर्षिदिन्छ, भुलहरूलाई सम्झेर।
दुर्गम गाउँको गोरेटो हुँदै तय गरेको जीवन यात्रा मोहम्मद माथिरको विकसित देश मलेसियाको बाटो गरेर युरोपेली मुलुकको ठाँउ-ठाउँमा पुगेँ। दु:ख पिएँ। सुखलाई अंगालेँ। परिस्थितिले ल्याएको हरेक चुनौतीलाई सफलता सम्झेर सम्झौता गरेँ। अनि हिँडिरहेँ!
डोर्याएर हिडाउँदैछु जिन्दगीलाई समयको फेरो समाएर।
हिजोअस्ति नपाइन्जेल के-के होला भन्ने पिआरको अक्षरहरू सुइँरो बनेर घोच्दैछ, कता-कता मनभित्र।
सुखसयलको कमी छैन। रहस्यमयी पानीको संसारमा सयर गरेर मज्जा लुट्न पाएको छ। नामै नजानेको अनेक थरीका मिष्ठान परिकार भोजन गर्न मिलेको छ।
तर म हिजोअस्ति स्कुले ड्रेसमै कुदी-कुदी गाई चराउँदै हिँड्ने चरन। जुरेली चराको दरबार बनेको सतिवनको बुट्टो। पामे ढुक्करको गुँड भएको फडिमको रुख। लुगा च्यात्ने गरी परसम्म गएर टिप्ने बयर घारी छैनन् यहाँ।
बनाएर बनेको थुप्रै आश्चर्यजनक छन् थुप्रै ठाउँहरू यहाँ उनको रहले बनेको सहरमा। मेरो देशमा नबनाएर आफै बनेको अनगिन्ती यस्तो वस्तु र ठाउँहरू छन्। जसलाई चाहेर पनि मानिसले बनाउन सकिँदैन। विडम्बना सबै-सबै ओझेलमा छन्।
जिन्दगी पाक्दै-पाक्दै गएपछि विस्तारै थाहा पाउने रहेछ थाहा हुनुपर्ने कुराहरू। जस्तो अहिलेको म पहिले यस्तो कुरा मनको मनमा अंकुरण भएको भए यता आउँदिन थिएँ, उताबाट यता जाँदिनँ थिएँ।
अहिले पछुताउनुको सिवाय केही गर्न सक्दिनँ। जिन्दगी तन्नेरी हुँदा सम्झेन सम्झनु पर्ने कुराहरू। अब विस्तारै ओइलिएर खस्ने बेलामा सम्झिँदो रहेछ पहिल्यै सम्झिनु पर्ने कुराहरू।
मसँग अब बुढो हड्डीले टेको दिएको पुरोनो शरीर छ। अनि पिआर! फर्कन्छु जन्मेर हुर्केको ठाउँमा। ग्लोबल भिलेजको स्वाद बोकेर ग्लानीको पछ्यौराले मुहार छोप्दै।
पीर छ, मैले छोडिआएको गोरेटोले चिन्लान् कि चिन्दैनन् भनेर। पँधेरो सुकेर तल बग्ने खोलाको पानी लिफ्टिङ गरेर घरको आँगनमै धारा बनेको छन् रे! त्यहीँ धारामा नुहाएर धोइपखाल्छु हिजोअस्ति गरेको केटौले गल्तीहरूलाई।