लगभग १० महिनापछि कलेज खुल्दै थियो।
कोभिडले रंगहीन बनाएको दिनहरूमा इन्द्रेणीले प्रवेश गरेजस्तो, सुनसान औँसीको रातपछि उज्यालो सूर्यको किरणले दिनको सुरुआत गरेजस्तो महसुस भइरहेको थियो।
११ कक्षा सकेर पनि १२ को कक्षा अनलाइनमार्फत संचालनमा थियो। तर अब कलेजमै गएर पढ्न पाइने भइयो भनेर मन खुसी थियो। त्यो घरको एक कोठामा एक्लै बसेर पढ्नुभन्दा त साथीहरूसँग बसेर पढ्नुको मज्जै बेग्लै।
यस्तो कुरा जति गरे नि नसकिने। कलेज सुरु भएको पनि दुई महिना भएछ। योसँगै मेरो प्रेम जीवनमा पनि टर्निङ प्वाइन्ट आयो, र त्यो थियो ट्यालेन्ट शो।
कलेजमा ट्यालेन्ट शो हुने भयो। म नि के कम, कविता वाचनमा भाग लिइहालेँ। हुन त पछिल्लो समय कविताकै कारण कलेजमा मेरो नाम जो चल्न थालेको थियो।
चैतको महिना। अक्सर वसन्त ऋतुको महिना। यो समयमा सबै चिज नयाँ भएर आउने गर्छ र प्रकृतिलाई हरियाली र सुन्दर बनाउँछ, झन् योपालि त मेरो प्रेमजीवन पनि सुन्दर बनाउनेवाला थियो।
मलाई अझै नि याद छ त्यो दिन जुन दिन पहिलो पटक उनलाई कलेजमा देखेको थिएँ। सेतो सर्ट र धर्के निलो पेन्ट लगाएकी, एकदम राम्री थिइन् उनी। मिठो मुस्कान दिँदै बोलिरहेकी थिइन् तर आवाज भने सुन्न सकिनँ।
म एकटकले उनैलाई हेरिरहेँ। उनको अनुहारबाट मेरो नजर हटाउनै सकिरहेको थिइनँ। उनको त्यो सुन्दरतामा म मदहोस भएको थिएँ।
भोलिपल्ट उनको नाम थाह पाएँ र घर पुग्ने बित्तिकै फेसबुकमा रिक्वेस्ट पठाइहालेँ। शुभ काममा ढिलाइ किन र हैन? मेरो रिक्वेस्ट १ मिनेटभित्रमै एसेप्ट भयो। अब सोच्नु थियो फेसबुक फ्रेन्डबाट सुरु भएको सम्बन्ध कहाँसम्म पुग्ने हो?
सम्बन्ध अघि बढाउन सुरुमा बोल्न जरूरी हुन्छ। तर सुरुआत कहाँबाट गर्ने भन्ने कुरामा पुगेर म अड्किएँ। अर्को दिन कलेजमा कार्यक्रम कुनै कारणवश २/४ दिन पछि हुने कुरा आयो। मन खिन्न भयो।
रातभरि बसेर कविता लेखेको मतलबै भएन तर पनि ठिकै छ अझ राम्रो लेख्छु भन्दै सोचेँ। त्यो दिन पनि उनीलाई हेरेरै मात्र दिन गयो। चैत १२ गते, पहिलो चोटी उनीलाई म्यासेन्जरमा म्यासेज पठाएँ।
‘हाई!’
अलिक मिनेटपछि रिप्लाई आयो- ‘हजुर।’
त्यसपछि त के छ र, मैले कुरा निकालेँ- ‘कलेजको कार्यक्रम सरेको हो?’
उनी पनि नृत्यमा भाग लिएको मलाई थाहा थियो। त्यसैले बोल्न सुरुआत गर्न मलाई सजिलो भयो।
रिप्लाई आयो- ‘अँ हौ छ्या! कस्तो रिस उठेको छ।’
उनलाई पनि मलाई जस्तै भएको रहेछ भन्ने कुरा बुझिहालेँ। अब मलाई कुरा गर्न सजिलो थियो। त्यो रात १० बजेसम्म यस्तै यस्तै कुरा भए।
तर भोलिपल्ट कलेजमा जे देखेँ त्यसले मेरो मनमा बाढी पस्यो। मलाई खै किन हो एकदम रिस उठेर आयो। हुन त देखेको पहिलो दिननै मनमा सजाइसकेको मान्छेलाई अरू केटासँग नजिक बसेर बोलेको देख्दा कसलाई पो रिस नउठ्ला र!
भन्नुहोला कि त्यो केटा साथी हुनसक्छ, के हुनसक्छ, किन रिस उठ्नु र?
यो त मलाई नि थाहा छ तर त्यो केटा अरू कोही नभएर मेरै कक्षाको साथी थियो जसले पनि हिजोसम्म त्यो केटीलाई चिन्दैन थियो। तर आज एक्कासी त्यस्तो देखेपछि रिस नउठ्ने त कुरै भएन।
मनमा डर पस्न थाल्यो। कतै सुरु नै नभएको माया टुट्ने त हैन!
हरेक दिन ब्रेक होस् या टिफिन दुई जना सँगै देख्न थालेँ। हरेक दिन त्यो दृश्य देख्दा मलाई खपिनसक्नु हुन्थ्यो। कलेजको कोरिडोरदेखि लिएर कक्षाको बेन्चमा सँगै हुन्थे। मलाई एकदम रिस अनि डर एकैसाथ हुन्थ्यो।
हुन त सुरुको दिनदेखि नै हाम्रो कुरा नहुने भन्ने हैन। प्रायः बेलुका म्यासेन्जरमा कुरा हुन्थ्यो उनको र मेरो। त्यही कार्यक्रमको बारेमा छलफल हुन्थ्यो बढी। अन्य साधारण कुराहरू पनि हुन थालेको थियो तर मलाई कलेजमा बोल्न चाहिँ खै किन हो डर लाग्थ्यो।
देखेको बेला मुसुक्क हाँसिदिन्थी ऊ अनि म पनि। सायद एक/दुई पटक बोलेको थिएँ होला म उनीसँग कलेजमा। मलाई अझै याद छ क्यान्टिनमा पहिलो चोटि कुरा भएको। कति खुसी थिएँ म त्यो दिन।
खै कसरी हो तर कलेजमा धेरैलाई थाहा भइसकेको रहेछ कि म उनलाई मन पराउँछु भनेर। प्रायः केटाहरूले जिस्काइरहन्थे मलाई उनको नाम जोडेर जुन सुनेर म मक्खै पर्थेँ।
कार्यक्रम आयो। मेरो कविता वाचन सुरुमै थियो तर अपसोच! उनलाई स्टेज वरिपरि देखिनँ। जब मेरो नाम अगाडिबाट आयो तब एकदम ठूलो हुटिङ आएको थियो हल नै थर्किने गरी तर त्यो आवाजमा उनको आवाज मिसिएको थिएन।
विस्तारै अरू नृत्य, कविता वाचन तथा गायन सकिँदै गयो। पालो आयो उनको नृत्यको। उनीलाई यति सुन्दर देखिएको थियो त्यो बेला कि म शब्दमा बयान गर्न सक्दिनँ। कार्यक्रम सकियो। नृत्यमा उनी प्रथम भइन् र कवितामा म। त्यो दिन पहिलो पटक उनीसँगको मेरो तस्बिर मेरो फोनको ग्यालरीमा अटाउने मौका पाएँ।
अब विस्तारै हाम्रो कुराहरू बढ्न थाल्यो। उनी खासै खुल्न चाहन्न थिइन् तर म उनलाई बुझ्न चाहन्थेँ। प्रायः म भन्ने गर्थेँ कि म तिमीलाई बुझ्न चाहन्छु तर तिमीलाई बुझ्न गाह्रो रहेछ।
उनको जवाफ आउँथ्यो- मलाई बुझ्न गाह्रो छैन, विस्तारै बुझ्नुहुन्छ।
हप्ता दिनपछिको कुरा हो, बेलुका ५ बजेतिर भेट्ने प्रस्ताव राखेँ। घाम डुबेको थिएन। तर पनि उनले के-के बहाना बनाइराखिन्। धेरै चोटिको प्रस्तावपछि उनी तयार भइन्।
म उपन्यास पढ्ने मान्छे। केही दिनअघि मात्र एउटा उपन्यासमा पढेको थिएँ कि पहिलो भेट एकदम यादगार हुने गर्दछ। त्यो बेला केही उपहारका रूपमा चकलेट दियो भने सधैँको लागि यादमा रहने गर्दछ।
त्यसैले म पनि के कम, उनी साथीसँग आउँछिन् भन्ने थाहा थियो। त्यसैले दुई वटा डेरीमिल्क र मेरो फेभरेट कोपिको चकलेट किनेर ब्यागमा हालेँ। गएँ उनले बोलाको ठाउँमा।
परबाटै चिनिहालेँ। सामान्य हाई-हेल्लोपछि तीन जना सँगै हिँड्न थाल्यौँ। गफ निकाल्दै गोजीमा भएको कोपिको चकलेट नि हातमा दिएँ। एकैछिनमा छुट्टीने बेला भयो र जाने बेला डेरीमिल्क दिएँ। सायद त्यो ५ मिनेटको भेट थियो होला तर अविष्मरणीय पल भयो।
कुराहरू हुने क्रम जारी थियो तर बीचमा साथी थियो जो कलेजमा हरपल उनीसँग नै हुने गर्थ्यो। एक दिन उनलाई सोधेको थिएँ- के हो? मनपर्छ कि क्या हो ऊ?
तर जवाफ आयो- छ्या! त्यस्तो चाहिँ हैन है।
यो सुनेर मन खुसी भए पनि भोलिपल्ट फेरि सँगै देख्दा खिन्न हुने गर्थेँ। हाम्रो १२ को पढाइ लगभग-लगभग सकिन आँटेको थियो। सोच्थेँ कि कहिले कलेज छुट्टी हुन्छ र मनलाई आनन्द हुन्छ। दिनै सँगै देख्दा त कलेज नि नजाउँ-नजाउँ हुन्थयो तर उनलाई टाढाबाट हेर्न पाए पनि आनन्द हुन्छ जस्तो लाग्थ्यो।
साथीहरूले जा बोल, किन हेरेरै बस्छस् नभनेका पनि हैनन् तर खै कहिल्यै हिम्मत नै आएन। प्रायः साँचो मनले गरेको प्रेम यस्तै नै हुनेगर्दछ भन्ने सुनेको र पढेको पनि थिएँ। उनीमा पोख्न नपाएका मनका भावनाहरू म कवितामा पोख्ने गर्थेँ र उनलाई पठाउँथे। तर त्यो शब्दका गहिराई सायद उनले कहिल्यै बुझिनन् या बुझेर पनि वास्ता गरिनन्। त्यो त उनीलाई नै थाहा होला।
कलेज छुट्टी हुने दिन नजिकिँदै थियो। एक तरिकाले मन खुसी थियो, बल्ल १२ सक्कियो। तर अब उनीसँग भेट नहुने भयो भनेर दुखी पनि थिएँ।
एक्कासी नेपालमा कोभिडको दोस्रो लहर फैलिन थाल्यो। हुन लागेको परीक्षा नि रद्द भयो र लकडाउन सुरु हुने कुरा आयो। उनी पनि आफ्नो घर जाने भइन्। मेरो चाहिँ बिराटनगरमा नै भएको कारण यतै हुन्थेँ।
लकडाउन सुरु भयो। यो पटकको कोभिड एकदमै कडा खालको रहेछ। दिनदिनै मानिसहरूको मृत्युको समाचार आउन थाल्यो। मृत्यु हुनेमा युवाको संख्या बढी थियो। कोभिडको त्रास एकदमै बढिरहेको थियो।
हाम्रो कुराहरू म्यासेन्जरमा नै सीमित थिए। सायद १/२ चोटि भिडिओ कल भएको थियो। कुराहरू पनि पातलिँदै जान थाल्यो तर कहिलेकाहीँ भने मजाले नै कुरा हुने गर्थ्यो।
हरेक दिन मेरो म्यासेन्जरको च्याट लिस्टको पहिलो नाम उनको नै हुने गर्थ्यो। मनको भावना शब्दमा कोरेर पठाउन भने छोडेको थिइनँ। कहिलेकाहीँ उनी पनि मक्ख पर्थिन् त कहिलेकाहीँ वास्ता नै गर्दिन थिइन्।
कक्षा १० र १२ को वार्षिक परीक्षा कोभिडको कारणले केही समयको लागि स्थगित भनेर समचार आयो। मनमा ठिकै भयो भन्ने भाव नआएको भने होइन। कुरा हुँदै गर्दा एकदिन त्यो पहिलो भेटको कुरा निस्कियो।
खुसी लाग्यो कि उनलाई अझै सम्झना रहेछ। त्योभन्दा खुसी त तब लाग्यो जब अन्जानमा दिएको त्यो कोपिको चकलेट उनको पनि फेभरेट रहेछ। त्यो रात ऊ र उसकी साथी कसरी मलाई थाहा भयो भन्ने कुरामा अचम्मित भएर बसेछन्।
अब विस्तारै हाम्रो कुराहरू दिन बिराएर हुन थाले। उनलाई थाहा भैसकेको थियो कि म उनलाई मन पराउँछु भनेर तर पनि बेवास्ता गरिन्। मेरो हरेक शब्दमा उनको लागि प्रेम हुने गर्थ्यो तर उनले यो कहिल्यै बुझिनन्।
उनी अब हप्तौंसम्म नबोल्ने भैसकेकी थिइन्। कारण के थियो मलाई थाहा भएन। केटीहरूको मन कमलो हुन्छ भन्ने बुझेर नै मैले कहिल्यै पनि उनीलाई चित्त दुख्ने कुराहरू गरिनँ। सधैँ उनलाई हँसाइरहन चाहन्थेँ तर उनले मेरो प्रेमलाई नै हाँसोको पात्र बनाइदिइन्।
प्रेमको परिभाषा अनेक छन्। मेरो लागि प्रेम दुई भावनाको मिलन थियो तर मेरो र उनको भावनाको जति नै कोसिस गर्दा पनि मिलन हुन सकेन। जीवनमा हरेकको एकचोटि भए पनि एकतर्फी प्रेम हुनेगर्दछ, सायद मेरो पहिलो प्रेम नै एकतर्फी र अधुरो रह्यो।
यो ५ महिनामा उनको र मेरो सम्बन्ध सुरु भएर पनि करिब-करिब अन्त्य हुनलाग्यो। अब सायद उनीसँगको मेरो भेट सपनामा मात्र सीमित रहनेछ। तर यो मनमा सदैव बस्नेछिन्।
कक्षा १२ को परीक्षा सुरु हुन केही हप्ता मात्र बाँकी छ। सायद त्यसपछिका दिनहरूमा कोही न कोही त भेटिएला जोसँग यो मनको भावना मिलोस्।