हरि दाइ आवश्यकताभन्दा बढी
खर्च गर्न खुब लोभ गर्नुहुन्छ
सबै जना उनलाई लोभीको उपमाले चिन्छन्
हरि दाइ खुब दुःख गर्नुहुन्छ र कमाउनु हुन्छ
पसिना बेचेर केही हजारहरू
र पूरा गर्नुहुन्छ परिवारको हर आवश्यकताहरू
आफ्नो भने इच्छा र रहरहरू मारेर
केही बचेका रकम जम्मा गर्नुहुन्छ
साथीभाइ हरि दाइलाई मोजमस्ती, घुमफिरको लागि
निकै अफर गर्छन् तर हरि दाइको ध्यान त्यता कहिले जाँदैन
उनको लक्ष्य भनेकै परिवार खुसी राख्ने, केही रकम
जम्मा गर्ने र भविष्यमा गाह्रोसारो पर्दा अरुसामु हात
फैलाउन नपरोस भन्ने नै हो
किनकी उनले बिर्सेको छैनन् विगतका ती तिता अतीतहरू
एक छाक खान नपाउँदाको त्यो भोक
जाडोमा न्यानो लुगा नहुँदाको त्यो पीडा
बिमार हुँदा आफ्नाहरूले केही सहयोग नगरेका
र बोलीको काँडाजस्तो बिझ्ने धारिलो वचन
छोराछोरी र श्रीमतीको सानो आवश्यकता पूरा गर्न
नसक्दाको त्यो परिस्थिति
गरिबीले पढ्न नसकेका कुरा
खर्च अभावमा आमा गुमाउनु परेको पीडा
गरिब हुँदा आफ्नाहरूले गरेका ती नमिठा व्यवहार
साथ सहयोग गर्ने कोही नहुँदा
सबै जिम्मेवारी आफ्नो काँधमा बोकेका हरि दाइ
यस्तै हजारौँ पीडा भोगेर आएका छन्
र आफ्ना सयौँ इच्छा मारेर
एउटा आवश्यकता पूरा गर्नुहुन्छ
उनी एक स्वाभिमानी मान्छे हुन्
उनी लोभ गर्छन् तर धनी बन्न होइन
आवश्यकता पूरा गर्न।