भर्खर उदाउन लागेको
घामको कलिलो किरणझैँ छु म अहिले
बेलुखीपख धर्तीमा घाम अस्ताएर गएझैँ
आखिर एकदिन म पनि यस धर्तीबाट कहिलै
नफर्किने गरी अस्ताएर जानेछु
म जति नै गरिब, बलवान्, बुद्धिवान् र धनवान्
मनुष्य भए पनि
म जति नै सुन्दर या कुरुप मान्छे भए पनि
एकदिन वृद्धवृद्धा आमाबुबाहरूझैँ
म पनि चाउरी पर्नेछु
कुप्रिएको हँसियाहरूझैँ
म पनि एकदिन कुप्रिनेछु र
छोड्नेछन् एकदिन
यी मेरा हात गोडाहरू यस धर्तीमा सल्बलाउन
झिमझिम गर्ने मेरा परेलीहरू झिमझिमाउ
अनि खिएका पुराना फलामका झुर भाँडाकुँडाहरूझैँ
जानेछन मेरा तन्दरुस्त तनको मासु र हाडहरू खिइएर
र
झर्नेछन् यी मेरा बत्तीस दन्त गिजाबाट
फुल्नेछ यो मेरो कालो केश हिउँझैँ सेतै
खस्रो र सारो हुनेछ यो मेरो कोमल हातको छाला
अनि विलुप्त हुनेछ एकदिन यो मेरो तन्नेरी बेलाको
हरियो वसन्तको युवा जोसजाँगर, मुस्कान र स्फूर्तिहरू
र बुढो हुनेछ यो मेरो तन्नेरी बेलाको फुर्तिलो शरीर
अनि चल्न बन्द हुनेछ
यो मेरो ढुकढुक गर्ने ढुकढुकी
अनि हराउने छ
यो मेरो अस्तित्व यस धर्तीमा
हराउने छ मैले टेकेको पाइला यस धर्तीमा
र एकदिन जलेर म पनि खरानी हुनेछु।
तर अहिले त म
वसन्तका वृक्षहरूका हरिया पातहरूझैँ छु
फुल्दै गरेका कोमल फूलहरूका कोपिलाहरूझैँ छु
विस्तारै म पनि समयसँगै यस धर्तीको बगैँचाबाट
ओइली जानेछु
खेतबारीमा गोडमेल गर्ने बेला भएका
अन्नको बिरुवाहरूझैँ छु
भर्खरै पाक्न आँटेका ताजा फलफूलहरूझैँ छु
तर म पनि एकदिन यस धर्तीको
बोटमा लटरम्म फलेर, पाकेर या
भुइँमा झरेर या कुहिएर
म पनि माटोसँग मिसिनेछु
र
लाग्नेछु स्वर्ग या नर्कको मेरै बाटोमा
त्यसैले त
मानसपटलभरि बोकी हिँडेको छु
साँध जीवन र उच्च विचारको नारा
मनभरि मुटुभरी बोकी हिँडेको छु
मेरो मातृभूमिको असल सपूत बन्ने सपना
हो, त्यसैले त मलाई
पार्नु छैन नक्कल
मनमा छैन कुनै पनि कुराहरूको अहम
र हिँडिरहेको छु म केहीँ गर्ने आँट बोकी
आँधिबेहेरी र तुफान चल्ने यो सङ्घर्षले भरिएको
जिन्दगीको गोरेटोहरूमा
र थाहा छ मलाई एकदिन
कात्रोमा बेरिएको चिसो मूर्दा लासहरूझैँ
म पनि सङ्घर्षले भरिएको जिन्दगीसँग युद्ध गर्दा गर्दै
यस धर्तीको रणभूमिबाट हारेर
ब्रह्माण्डभन्दा पनि माथिको संसारमा जानेछु
मेरा हजारौँ इच्छा, आकाङ्क्षा र सपनाहरूलाई मैसँगै लिएर
भर्खरै कलिलै जन्मेको बच्चासरि
खाली हातै जन्मेको छु
अनि चित्ताका मान्छेका लाससरि
एकदिन खाली हातै मरेर जानेछु
सदैव मेरा परिवार र स्वजनहरूसँग टाढिएर
जिन्दगीमा अनेकौ सुखदुःख भोगेर
आखिर एकदिन जलेर म पनि खरानी हुनेछु।
त्यसैले त
मनमा छैन कसैको प्रगतिप्रति
खिसी, क्रोध र दाहाहरूको अलंकार
गरिबको छोरो हुँ म
मनमा छैन दौलतको कुनै अहंकार
किनकी म पनि
जसरी कागजको टुक्रालाई र
सुकेका दाउराहरूलाई आगोमा हाल्दा
एकैछिनपछि अग्निको राँपले खरानी हुन्छन् नि
त्यसरी नै एकदिन जलेर म पनि खरानी हुनेछु।