कटाउनै नसकिने जिन्दगी सकिनसकी काटेर
बिस्तरामा आफ्नै मृत्यु पर्खिरहेको मान्छेले
अस्ताउन लागेको आफ्नो जीवनको सूर्यसँगै
अस्ताइनसकेको संसारको सूर्य देख्दा
के सोच्दो हो?
रोगले च्यापेर तीन दिनअगाडि अस्पताल आउँदा
तीन दिनपछाडि घर जान पाइन्छ कि भन्ने झिनो आश
आफ्नो अस्तित्वसँगै बिलाउँदै छ भन्ने थाहा पाँउदा
बिस्तरामा सुताइएको मान्छेले
के सोच्दो हो?
सारा जिन्दगी काँडाको बाटोमा हिँडेका आफ्ना पाइलाहरू
चल्नै नसक्ने भएको देख्दा
जिन्दगीको हरेक झापड सहेको आफ्नो गाला
चाउरिएर सुक्न लागेको देख्दा
दु:खलाई पनि चपाइचपाइ निलेका आफ्ना दाँत सबै झरेर
पानी समेत निल्न नसक्ने भएको देख्दा
अनि
संसारभरको दु:ख, कष्ट, पीडाको भार लिन सक्ने आफूले
एक मुठी सास पनि लिन नसकेको देख्दा
त्यो बिस्तरामा जीवन र मृत्युबीच खेलिरहेको मान्छेले
के सोच्दो हो?
जीवनभर सहेका सुखदु:ख, चढेका उकालाओराला
र आफ्ना हारजितको हिसाब गर्ने हो भने
सुख र खुसीले कहिल्यै जित्दैन भनेर थाहा पाउँदा
गर्न चाहेर पनि गर्न नसकेका अनि
गर्न नचाहँदा नचाहँदै गर्नु परेका कामहरू सम्झिँदा
आफ्नो इच्छाको त पर्वाह कहिल्यै गरिएनछ भनेर थाहा पाउँदा
मृत्यु पर्खिरहेको मान्छेले के सोच्दो हो?
आँखाअगाडि एउटा धमिलो आकृति
को हो भनेर ठम्याउन नसक्दा
कानमा गुन्जिरहेको धमिलो स्वर
कसको हो भनेर चिन्न नसक्दा
धिपधिप बलिरहेको दियोलाई
हावाको झोकाले झ्याप्प निभाएजस्तै
अड्की-अड्की चलिरहेको सास
एकैपटकमा बन्द हुन लागेको थाहा पाउँदा,
मृत्युशय्यामा बसिरहेको मान्छेले के सोच्दो हो?
सायद
त्यति बेलासम्म ऊ सोच्नै नसक्ने भैसकेको हुन्छ
गुमाइसकेको हुन्छ आफ्नो चेतना
हराइसकेको हुन्छ सारा शक्ति
बस् थाहा हुँदा नहुँदै
लडिरहेको हुन्छ एकनासले जिन्दगीसँग
हार्नका लागि, हार्नै पर्ने जिन्दगीको खेल।