मलाई पनि तिमी भएकै ठाउँमा आउन मन छ !!!
एकाबिहानै निद खुलेको धनीराम ब्युँझने बित्तिकै सिरानीनजिक राखेको तामाको लोटाको पानी खोलेर हेर्छन्।
ल आज पनि जतिको त्यति छ। भाँडामा पानी राखेर सुत्दा राति पितृहरूले पानी खान्छन् अरे भन्ने सुनेदेखि उनले आफ्नो तीन वर्षअघि स्वर्गबास भएकी जीवनसंगिनीलाई सम्झेर हरेक दिन सिरानी नजिकै तामाको लोटामा पानी राख्ने गर्छन्।
श्रीमती खसेको दिनदेखि घरमा एक्लै बस्दै आइरहेका छन् उनी। हुनत उनका छोराछोरी नभएका होइनन्। तर उनको श्रीमती एक्लै हुन्छिन् भनेर पुरानो घर छोड्न मान्दैनन्।
जति सन्तान छोराछोरी भए पनि आखिरमा बुढाको साथी बुढी अनि बुढीको साथी बुढा नै चाहिने रहेछ।
उनी आउँदिनन् फर्केर भन्ने थाहा हुँदाहुँदै पनि पर्खिरहने उनको आँखाले कहिले नफर्किनेगरी गएको मान्छेलाई पर्खन थाकेका छैनन्।
छोराछोरीको घर केही दिन जाँदा कहिले घर फर्कनु भनेर हतास गर्ने उनी घरमा श्रीमतीको आत्मा घुमिरहेको होला भन्ने कुराले मन बेचैन पारिरहेको हुन्छ।
बाँचिन्जेल चुरोट खाइरहनुपर्ने उनको श्रीमतीको बानी सम्झेर बजार जानैपिच्छे चुरोटको बट्टा लिएर आउने गर्छन् उनी।
लोटाको पानी उनको श्रीमतीले पिएको आजसम्म थाहा पाएका छैनन् तर बिहान उठेर धुप बालेसँगै उनले आफ्नो श्रीमतीको माला लगाएको तस्वीर अगाडि जलाएको चुरोट सल्किएर धुँवा उडिरहँदा उनी आफ्नै श्रीमतीले चुरोट तानिरहेको कल्पना गरेर मन बुझाउने गर्छन्।
चिसो मौसमको बिहानी, हरेक दिनझैं त्यसदिन पनि सबेरै उठेर दैलोकुचो गरेर उज्यालो हुँदासम्म मनमायाले घर पनि पोतेर उज्यालो बनाइसकेकी हुन्छिन्।
खेतको कामले थाकेर सुतेका धनीराम उनले दैलोपोतो गरिन्जेलसम्म सुतिरहेका हुन्छन्।
चिया पकाइसकेपछि उठेर चिया खाँदै उनले त्यसदिनको काम तथा योजनाबारे सल्लाह गर्दै अघिल्लो दिनको मेट्न बाँकी रहेको काइँयोलाई पूर्णरूप दिन थाल्छन् उनी।
उनकी श्रीमतीलाई उनले बुनेको काइँयो प्रयोग गर्ने बानी लागेको भएर बनाइदिएका हुन्छन्। अगेनामा चियाको किट्ली हटाएर दाल बसालिएको हुन्छ। काइँयोको मेलो मेटिसकेपछि उनको हातमा थमाएर टोलमा सानो मिटिङ भएको भएर जानलाई निस्किन थाल्छन् धनीराम।
अब खाना पनि पाकिसकेको भएपछि खाना खाएरै निस्किने कि भनेर मनमायाले सोध्दा छोटो समयको लागि मात्रै गएर आउने भएको हुँदा दिनमा काम खासै नभएको भएपछि अबेर खाने भनेर निस्किन्छन् धनीराम।
निस्किने बेला उनले आफ्नो मनमायालाई बिहान लिने प्रेसरको औषधि खानलाई सम्झाएर निस्किन्छन्।
औषधि खान थालेको करिब चार वर्ष भैसकेको भए पनि एक दुई दिन बिराएर प्रेसर चेक गर्न स्वास्थ्य चौकी धाउने मनमायाको अघिल्लो दिनमा चेक गर्दा प्रेसर सामान्य रहेको थियो। खानाअघि लिनुपर्ने प्रेसरको औषधि लिएपछि उनी घरायसी काममा ब्यस्त हुन लागिन्।
एक्कासि उनलाई घर घुमेको महसुस हुन थाल्यो, आँखा तिरमिराउन थाले। उनको हातमा मोबाइल थियो तर उनलाई मोबाइलबाट फोन डायल गर्न आउथेन।
उता धनीराम टोलको मिटिङमा थिए। नजिकै रहेको खाटसम्म पुगेर उत्तानो परेर पल्टिनसम्म भ्याएकी थिइन् मनमायाले।
उत्तानो परेर पल्टिँदा उनलाई गाह्रो भैरहेको थियो। उनको आँखा अगाडि रहेको घरको छानो आफैं घुमिरहेको थियो। आँखाहरूमा बिस्तारै पर्दा लाग्दै थिए। उनको आदतले सायद त्यतिबेला पानी मागेको हुँदो हो। तर घरमा अरू कोही थिएनन्।
गाउँमा सबभन्दा छेउमा रहेकोे उनीहरूको घरको आँगन हुँदै जंगल जाने बाटो पर्ने भएको हुँदा खाना खाएर जंगल निस्केका केही मानिसहरू आँगन हुँदै जंगल निस्किँदा पिँढीमा रहेकोे खाटमा पल्टिरहेकी उनलाई देख्दा खैलाबैला हुन थाल्यो।
के भयो, कसो भयो भनेर सोधिरहँदासम्म मनमायाको सास धुकुधुकु भैसकेको हुन्छ। कसैले धनीरामलाई खबर गर्ने, कसैले पानी दिने गर्दा उनी घरमा आइपुगिन्जेल अन्तिम सास बाँकी थियो मनमायामा।
सायद श्रीमान-श्रीमती यही कारण भन्छन् होला। उनको श्रीमान आएर उनको टाउकोलाई आफ्नो काखमा थमाएको केही समयमा नै मनमायाले आफ्नो अन्तिम सास फेरिन्।
बिरामी भएको केही थाहा नहुँदामै एक्कासि यस्तो हुँदा सबैजना शोकमा परेका थिए।
मेरा छोराछोरीहरु साह्रै पिर मान्छन्। आमा बिरामी हुनुभएको छ मात्रै भनिदिनु है। धनीराम आफू फोनमा बोल्न नसक्ने भएपछि छिमेकीलाई आफ्ना छोराछोरीहरूलाई फोन गरेर खबर भनिदिनु भन्दै थिए।
कसैले फोन नम्बर खोजेर फोन गर्दै थिए। कसैले देशबाहिर भएका छोराहरूलाई सामाजिक सन्जालमा खोजेर म्यासेज गर्न खोजिरहेथे।
देशभित्र रहेका छोराछोरीलाई आमा बिरामी भएको र तुरून्तै घर आउनुपर्ने भनिए पनि विदेश हुने छोराहरूलाई कम्पनीमा इमर्जेन्सी बिदा माग्नुपर्ने भएको हुँदा बिरामी मात्रै भएको भनेर भन्ने अवस्था नरहेपछि आमा नरहनुभएको म्यासेज गर्न बाध्य भए।
दिन बिराएर फोन सम्पर्क गर्ने छोराहरूले बिरामी भएको खबर नभई एक्कासि बित्नुभएको खबरले मर्माहित हुनु स्वाभाविक थियो।
देशभित्रै रहने छोराछोरी हतारहतार आमा बिरामी भएको खबरले घर जान थाले। उता विदेशमा भने अवस्था जे जस्तो भए पनि आफूलाई सम्हालेर इमर्जेन्सी छुट्टी भन्नुबाहेक विकल्प थिएन।
सकेसम्म छुट्टी मिलाएर एकै एकै समयमा काठमाडौं पुग्नेगरी टिकट मेसो मिलाउन थाले पनि एक जना छोरा भने सम्पर्कमा आएनन्।
भोलिपल्ट बिहानै विदेशबाट छोराको फोन आयो।
‘बाबा, आमाको खबरले चेतहीन भएको छु, कम्पनीमा इमर्जेन्सी बिदाको लागि भनेको पनि धेरैजना नेपाल बिदामा गएको भएर तत्काल बिदा नमिल्ने भनेर आदेश आएको भएर फोन गर्न सकिनँ। देशविदेश नघुमेको भए पनि त्यति लाटो धनीराम थिएनन्, कस्तो कम्पनी हुन्छ आमा मरेको खबरले पनि बिदा नदिने भनेर मुखबाट फुत्कनै लागे पनि आफूलाई सम्हालेर, मनले मानेको भए के गर्नु त भनेर हुन्छ मिलेसम्म मिलाउनु नभए के भन्नू’ भनेर फोन राख्छन् धनीराम।
नेपाल हुनेले सुरूदेखि र विदेश हुनेले बीचमा पुगी जसोतसो गरेर काजकिरिया सकेपछि सबैजना बिस्तारै आफ्नो दैनिकीमा फर्किसक्दा धनीराम भने आफूलाई सम्हाल्नै सकेका हुँदैनन्।
बाबालाई त्यहाँ एक्लै नराख्ने भनेर छोराछोरीहरूले सँगै जान आग्रह गरे पनि मान्दैनन् धनीराम। मनमाया घरमा हुँदा पाकेको खाना पस्केरसम्म नखाने धनीराम विस्तारै खाना बनाउन थालेका छन्। एक्लै बस्न थालेपछि एकोहोरिएको उनको मन खाना बनाउन मन नलागेर टोलाएर बसिरहेको बेला सम्झिन्छन्।
त्यस बिहान पाकेको खानाले पनि मनमायाले झैं अँगेनामा आफ्नो अन्तिम सास लिएको थियो। मनमायाको अन्तिम पाइला परेको त्यो घरमा उनका हरेक पाइलाहरूले सहयात्री पाएझैं महसुस गर्छन् धनीराम।
उनको सम्झना दिने, याद दिने हरेक वस्तुसँग दोस्ती बनेको छ अचेल।
हरेक कुराहरूले उनीसँग कुरा गरिरहेझैं महसुस गर्छन् धनीराम।
मनमायाले आफैंले बुनेर ओढाइदेको गल्बन्दीले आफ्नो रङ बदलिसकेको छ। त्यसलाई धोएर सुकिन्जेल पनि उनी आफूलाई पुन: एकपटक एक्लो पाउँछन्।
निदले बाटो बिर्सेको भएर साँझ नपरोस् भनेर पुकार्छन् धनीराम। आमा नभएपछि छोराछोरीले पनि घर नआउनलाई बहाना बनाएको महसुस हुन्छ धनीरामलाई।
दुई दिन घर छोडेर छोराबुहारिकोमा जाँदा बुहारीले चर्को भाँडा बजाए पनि उनैलाई रिसाएझैं, नातिनातिनाले थोरै केही भनिदिएमा पनि मन दुख्ने भएकोले सकेसम्म घर छोड्न मान्दैनन् धनीराम। छोरा मान्छेले रून हुन्न भनेर आफूलाई दह्रो देखाउन पनि समाजको अगाडि पीडा लुकाउने उनको आँसुको मर्म बिचरो त्यो सिरानीलाइ मात्रै थाहा छ।
राति अबेरसम्म निद नलागेर मनमायालाई सम्झेर बसिरहँदा भिजेका सिरानी आजकल उनको मिल्ने साथी भएका छन्।
कसैलाई भन्न नसकेको उनको मनको कुरा सुन्ने सबभन्दा नजिकको मिल्ने पात्र बनेको छ सिरानी आजकल।
सन्तान बिते भने अभिभावक टुहुरो हुन्छ, तर अभिभावक बित्दा सन्तान टुहुरो हुँदैन रहेछ, उसको आफ्नो दुनियाँ हुनेरहेछ।
टुहुरो हुने त बुढा बिते बुढी अनि बुढी बिते बुढा मात्रै रहेछ भन्ठानेर सकेसम्म अरूलाई दु:ख नदिने अडान लिएर धनीराम छोराछोरीकोमा गएर उनीहरूलाई दु:ख दिन चाहन्नन्।
हुन पनि आमाको काजकिरियामा उपस्थित हुन नसक्ने सन्तानसँग के अपेक्षा गर्नु र!
मानिस जति बुढो हुँदै गयो त्यति मन बच्चा हुँदै जान्छ भन्छन्। श्रीमती नभएपछिको श्रीमान सबैतिर अर्गेलो भएको महसुस गरिरहेका उनी हरेक बिहान उठेर श्रीमतीको तस्वीरमा आँखा जुधाएर भन्ने गर्छन्।
‘तिमी सुखी भयौ सजिलै गैहाल्यौ, मलाई साह्रै गाह्रो भयो बुढी, मलाई पनि यहाँ एक्लै बस्नु छैन, मलाई तिमी भएकै ठाउँमा आउन मन छ, छिट्टै लिन आउनु।’