'तिमी निकै राम्रो नाच्दी रहिछौ' उनलाई फेसबुकमा साथी बनाएपछि म्यासेज गरेँ।
केहीबेरमै उनले पनि म्यासेज गरिन्, 'हाहा धन्यवाद।'
अनि हाम्रो कुराहरू सुरू भयो, अनि बिस्तारै गर्दै हामी नजिकिँदै गयौं।
हामी दुबै जना एउटै कलेजमा पढ्थौं। मभन्दा उनी एक ब्याच जुनियर थिइन्। प्रथम वर्षका विद्यार्थीहरूलाई स्वागत गर्ने कार्यक्रममा उनलाई पहिलोपटक देखेको थिएँ। सानी डल्ली, सुन्दरताले भरिपूर्ण अझ चस्मा लगाउँदा झन् राम्री देखिने, नाच्न नि मज्जाले जानेकी। त्यो दिन मेरो ध्यान जति सबै उनीतिरै थियो। जसोतसो उनको नाम पत्ता लगाएँ, आरती पौडेल।
साँझ फेसबुकमा आइडी खोजेर म्यासेज गरेँ अनि फेसबुकबाट नजिक भएका थियौं।
आरती र मेरो बारेमा कलेजका साथीहरूलाई केही थाहा थिएन। कलेजमा उसको र मेरो भेट हुँदा बोलचाल हुँदैनथ्यो। उनी मलाई हेरेर मुसुक्क मुस्कुराउँथिन्। म पनि सोही गर्थे। हाम्रो कुराहरू फेसबुक च्याटमा र भिडिओ कलमा मात्र सीमित थियो। एकाबिहान कलेजतर्फ लम्किँदै थिएँ। कलेजको गेटनेर आरतीलाई देखेँ। उनी कसैको प्रतिक्षामा थिइन्।
'कसलाई कुरेको? जाने हैन?' मैले सोधेँ।
'तिमी आउँदै गरेको देखेर कुर्दै' उनले मुस्कुराउँदै जवाफ दिइन्।
'अनि साँच्चै, आज कलेज सकिएपछि बाहिर जाने है तिमी र म' उनले भनिन्। उनको कुराले एकछिन अकमक्क परेँ र भने
'किन?'
'आज सानो एउटा कार्यक्रम छ ' हाँस्दै कुरा लुकाउन खोजिन्।
'कस्तो कार्यक्रम हो? मैले त केही बुझिनँ। भन न राम्रोसगँ' म उनको कुरामा निकै उत्सुक थिएँ।
'त्यस्तो केही हैन, अहिले गएपछि थाहा भैहाल्छ नि। अब कलेज सकेपछि भेट्ने है' यति भन्दै उनी आफ्नो कक्षाकोठामा छिरिन्।
उनको कुराले म दिनभर उत्सुक भइरहेको थिए। कलेज बिदा भएपछि भेट गर्यौं। उनको स्कुटर चढेर लाग्यौं गन्तव्यतिर। मलाई केही थाहा थिएन, जाने कहाँ हो, के कार्यक्रम हो, गर्ने के हो। बाटोमा उनलाई सोध्ने प्रयास गरेँ, तर भन्न चाहिनन्।
मलाई उत्सुकता र खुलदुलीले सताइरहेको थियो। हावाको चिसो सिरेटो, बाटोको धुलो खाँदै, साना साना गल्लीहरू छिचोल्दै एउटा सुन्दर रेस्टुरेन्ट अगाडि पुगेर स्कुटर रोकियो।
'ल यही हो' उनले भनिन्।
'यहाँ चाहिँ किन?' मलाई निकै उत्सुकता लाग्यो।
'त्यत्तिकै' उनको सामान्य जवाफ आयो।
आरती धनी बुवाआमाकी छोरी थिइन्। काठमाडौंमा चार तले घर, बुवाआमा दुबै सरकारी जागिरे। उनलाई पैसाको कुनै कमी थिएन। रेस्टुरेन्टमा गएर बसियो। रेस्टुरेन्ट निकै सुन्दर थियो। झट्ट हेर्दा कुनै राजाको महल जस्तो देखिन्थ्यो। त्यस्तो राम्रो ठाउँ मैले देखेकै थिएन।
'के खाने?' उनले मेन्यू हेर्दै सोधिन्। मैले मेन्यू पल्टाएर खाना हेर्न लागेँ, कहिलै नसुनिएका खानाका नामहरू थिए। अझ कुनै कुनै खानाको नाम राम्रोसँग उच्चारण गर्न पनि मुस्किल पर्थ्यो मलाई। मेन्यू बन्द गरेँ।
'तिमी नै भन, तिमी जे भन्छौ त्यही खाने' उनले खाना मगाइन्।
'अब त भन्छौ होला नि, खासमा के हो कुरा?' मैले सोधेँ।
'ए त्यस्तो खासै केही हैन। मेरो क्यानडाको भिसा लाग्यो, त्यसैले आज तिमीलाई सानो पार्टी। अरू केही हैन' उनले खुसी हुँदै भनिन्। तर म अचम्ममा परेँ।
'भिसा लाग्यो? ' म दङ्ग हुँदै सोधेँ।
'अँ पहिलैदेखि बाहिर जाने प्रयास गर्दै थिएँ, अनि अहिले बल्ल भिसा लाग्यो। बीचमा कोभिड भयो, अनि मेरो कागजपत्रहरू पनि मिलेको थिएन। अनि अहिले बल्लबल्ल भिसा लाग्यो' उनी निकै उत्साहित देखिन्थिन्। तर मलाई उनको कुराले अचम्मित बनाएको थियो।
अनि पढाइ छोडेर जाने?
'बल्ल बल्ल भिसा लागेको छ, पढाइ त उता नै गर्छु।'
जता गए नि पढ्ने नै हो, बरू यही पढाइ सकेर गए राम्रो हुन्थ्यो। तिम्रो पढाइमा लगानी पनि निकै गर्नु भएको बुबाले।
'हैन, मलाई पढ्न नि अल्लि गाह्रो लाग्छ, अब क्यानडा गएर सजिलो विषय पढ्ने, जागिर पनि गर्दै जाने। मलाई नेपाल बस्न मन नि छैन।'
उनी गम्भीर हुन थालिन्।
'उसो भए कहिले जान्छौ त क्यानडा?'
'सायद अबको १ हप्तापछि जान्छु होला। अब भयो यो कुरा धेरै नगरम्।' उनको मुहारबाट खुसी हराउँदै गएको थियो।
त्यसैले मैले यो कुरालाई लम्बाउन चाहिनँ, अरू कुरा निकालेँ। साँझ भयो, फर्किने बेला,' म तिर्छु आजको पैसा भन्दै उनैले पैसा तिरिन्।
अर्को दिनबाट उनी कलेजै आउन छोडिन्।
मोबाइलमा उदित नारायण झा र दिपा झाको कुसुमे रूमाल गीत सानो आवाजमा बजिरहेको थियो, कलेजबाट फर्केर म कोठामा आएर मस्त निद्रामा हराइएको थिएँ। मोबाइलमा बज्दै गरेको गीत रोकियो, घन्टी बज्यो। निद्राको तालमै उठाएँ। मोबाइल कानमा लगेर राखेँ। मैले निद्राको तालमा हेलो भनेँ।
'के गर्दै छौ?' उताबाट आवाज आयो। म निद्रामै हराएको थिएँ, केही बोलिन। फोन काटियो।
फेरि गीत बज्न सुरू भयो। म निद्रामा लठ्ठ थिएँ। फेरि मोबाइलको घन्टी बज्यो। मोबाइल कान नजिक पुर्याए।
'सुतिरहेको छौ?' उताबाट आवाज आयो।
'अँ' निद्राको तालैमा भनेँ।
' अनि कि, मेरो भोलि ६ बजेको फ्लाइट छ' उताबाट आवाज आयो। यो सुन्नासाथ मेरो निद्रा हरायो।
के रे?
'भोलि साँझ ६ बजेको फ्लाइट छ मेरो ' उनले भनिन्।
एकैछिन केही बोलिनँ, उनी पनि बोलिनन्, दुबै जना एकछिन मौन भयौं।
'ए ल ल, शुभ यात्रा' भन्दै फोन राखेँ।
उनी क्यानडाको लागि उडिन्।
क्यानडा पुगेपछि उनको म्यासेज आयो।
'म यहाँ आइपुगेँ, तिमी नि आफ्नो ख्याल गरेर बस है, अनि राम्रोसगँ पढ।'
तिमी पनि राम्रोसगँ बस अनि आफ्नो ख्याल गर भन्दै म्यासेज पठाएँ। त्यस दिनबाट उनी फेसबुकमा भेटिन छोडिन्। उनको म्यासेज आउन छोड्यो। उनको फेसबुकमा मेरो म्यासेजहरूको थुप्रो थियो। उनको बारेमा उनको साथीहरूलाई सोधेँ। क्यानडा गएपछि कुरा नभएको खबर आयो। क्यानडा गएपछि उनी सबैसगँ टाढिएकी थिइन्। उनलाइ म्यासेज गर्न छोडेँ। महिनौपछि फेसबुकमा उनको फोटो देखेँ। उनले कुनै केटासगँ सेल्फी खिचेर राखेकी थिइन्। त्यो देख्नासाथ फेरि उनलाई म्यासेज पठाएँ।
कता हराकी थियौ, यतिका समय?
केहीबेरमा उनको उत्तर आयो।
'कतै हैन।'
उनलाइ फेरि म्यासेज गरेँ
अनि सन्चै छौ?
'सन्चै छु'
उनको उत्तर आयो।
उनलाई म्यासेज लेख्दै थिएँ। यत्तिकैमा उनको म्यासेज आयो।
'अब मलाई म्यासेज नगर है।'
यति भन्दै उनी फेरि हराइन्। म त्यो म्यासेज देखेर गहिरो सोचमा पुगेँ। सायद क्यानडा पुगेर उनी अर्कैको भैसकेकी थिइन्। सायद उनी क्यानडा उसैको लागि गएकी थिइन्।
त्यसपछि उनलाई म्यासेज गर्नै छोडेँ। उनी केही दिनपछि पुनः फेसबुकमा देखिन थालिन्। आफ्ना फोटोहरू राख्न थालिन्। मैले उनलाई चाहेर पनि म्यासेज गर्न सकिनँ। उनी मदेखि पहिलै टाढिएकी थिइन्, म पनि उनीबाट टाढिने सोच गरेँ। उनीसगँ बिस्तारै टाढिँदै गएँ। अनि बिस्तारै उनीसगँका यादहरू भुलाउँदै गएँ।
कुनै समय निकै मिल्ने साथी हामी, अहिले हामी एकाअर्काबीच अन्जान बन्न पुग्यौं।