उडी पुगी सुदूर चन्द्रमा
मंगलमा
आँखाले बटुली सूचना
मगजमा
प्रश्नै प्रश्नको उत्तर
खोज्न भौतारिरहँदा
झन्-झन् जेलिँदैछु
प्रश्नकै जन्जालमा।
खनी खाल्डो गहिरो
पुगी पातालमा
सुँघी, चाखी कण–कण
थिए जे त्यहाँ
विद्यमान तथ्यसँग
साक्षात्कार चल्दै गर्दा
गरिब बुझ्छु आफूलाई
चुरो ज्ञान नपाउँदा।
छिरी मनभित्र
बन्द ढोका ढकढक्याउँदा
एक चित्त अडिक भै
ढोकैसामु चिहाउँदा
प्रश्न भण्डारका प्रश्नहरू
एकैपटक सल्बलाउँदा
आश्चर्य बडो सबको
उत्तर एकै पाउँदा।