निर्दोष आँखाहरू
अनि तिनले देखेका अनगिन्ती सपनाहरू
भर्खर टुँसाउँदै छ पट्ट बिउ फुटेर
त्यो भर्खर उम्रिँदै गरेको कलिलो टुँसा
भविष्यमा विशालकाय रूख हुने कल्पनामा मत्त छ
बाहिरी दुनियाँलाई भुली खै आफ्नै दुनियाँमा
के-के नानाथरी गुथी बुन्दैछ
मलजल पनि त पाएकै हो
अनुकूल हावापानी दिने त प्रकृति छँदै छिन्
कलिलो ज्यान
निष्कपट अनि निर्दोष आँखाहरू
कसैको प्रवाह नगरी
आफैमा
आफ्नै सुन्दर अनि
फरक खालको
फरक काल्पनिक
संसारमा
नानाथरी कल्पना बुनी
उन्मत्त भएको ऊ
ऊ त हराइसक्यो
आफ्नै विचारको गहिराइमा
आफ्नै कल्पनाको संसारमा
हर्षसाथ डुबुल्की मार्दै
परिवर्तित समय अनि
परिवर्तित वातावरणलाई छिचोल्दै
खै के तानाबानाहरूको हिसाब गर्दै
आफैसँगका अनेकौं प्रश्नका उत्तर खोज्दै
हावापानी आँधिबेरीमा नडगमगाई
ऊ चुम्न चाहन्छ त्यो निलो आकाश
त्यो घामको न्यानोपनसँगै
शशिको शीतलता महसुस गर्दै
ती अनगिन्ती ताराहरू माझ चम्कन चाहन्छ ऊ
चन्द्रमालाई शिरमा सजाइ
लरक्क काला केशमा चम्किला ताराहरूलाई
फूलसरी सजाउँदै
अन्धकारमा जुनकिरीले उजेली छरे सरी
जुनकिरीको साथी बनी
चकमन्न अन्धकारमा दियो बनी
फेरि नयाँ बिहानीमा
त्यो सूर्यसँगै चम्किलो बनी
उदाउन चाहन्छ ऊ
यो स्वार्थी दुनियाँमा
ऊ आफ्नै कल्पनामा हराइरहेछ
आफ्नै सपनाको जालोमा रमाइरहेछ
आफू सरी निष्कपट सोच्छ ऊ
यी मानवताविहीन मानवहरूलाई
ऊ आफ्नै रङ्गिन दुनियाँमा हराउँदा
पछाडिबाट छल र कपटको
त्यो पस्मिनाको खास्टो ओडेको
बर्कोले खै कतिखेर पो
उसलाई ढाकिसकेछ
उकुसमुकुस भएर होला
आजकल निलो आकाश धेरै टाढा भए जस्तो
शशिले शीतलता दिन छोडे झैँ
अनि ताराहरूको चमक हराएझैँ लाग्छ उसलाई
आफन्तरूपी नागबाट डसिएर होला
जराहरू कमजोर हुन थालिसकेको
शुभचिन्तक गड्यौंलाहरूले पनि खै कतिखेर
विषालु विच्छीको रुप लिइसकेछन्
यी सबैबाट अनजान ऊ
आफ्नै कल्पनाको अलग दुनियाँमा ऊ
ती निर्दोष आँखामा सपना त अझै आनगिन्ती छन्
तर सासले उसको साथ कतिबेलासम्म पो दिने हो
उकुसमुकुस भएर होला
त्यति चमक छैन उसका कलिला पातहरूमा
दरिलो जीउ त कसरी होस् र
तर पनि निर्दोष आँखाका
अनगिन्ती निर्दोष र स्वच्छ सपना
अझै जीवितै छन्
सबै चिजले साथ छोडे नि
उसको अठोटले हात समातेकै छ
उसलाई डोर्याइरहेका छन् ती सपनाहरू
आफूलाई साकार पार्न
के सक्ला र त्यो चोटलाई
चट्टै बिर्सी अगाडि बढ्न ऊ
के पूरा होलान् र उसका निर्दोष आँखाका ती
सुन्दर अनि निश्चल अनेकौं सपनाहरू
आउला र त्यो समय
सोच्दै नानाथरी ऊ टोलाउँदै छ
विच्छौनमा अनायासै ढलेको रुख सरी
सोच्दै छ ऊ
आफ्नै सपनाको चक्रव्यूहमा
बाटो खोज्दै रुमल्लिरहेछ
रुमल्लिरहेछ
रुमल्लिरहेछ।