सानी रातो-रातो गाला पार्दै
केही गुमाए झैँ, केही पाए झैँ
आँखा लठ्ठ परेर टोलाएकी छे
कसैले बोलाइदिए 
लजाउँदै, झसंग हुँदै 
घुम्टोले टाउको छोप्दै
मुसुक्क हाँस्दा पनि 
डबल डिम्पल गालाको खोबिल्टो
हिस्सी परेकी हेरुँ-हेरुँ लाग्ने
जिस्काइदिए काउकुती लागेझैँ
ओठ टोक्दै, मसक्क मस्कँदै
आज कस्तो लजाएकी छे सानी।
हो सानी 
पहिलो पटक रजस्वला भएकी
पर-पर निर्जन कुनामा एक्लै बसेर 
बत्तिसै दन्तले 
बाटुलो ओठ टोक्दै
कुतकुत काउकुती लागे झैँ 
जीउ मसक्क पार्दै मस्किँदै
राता गाला पुक्क-पुक्क पारेर
लज्जावती झार झैँ 
आज कस्तो लजाएकी छे सानी।
हिजोआज रत्तेकी छे सानी 
लहरै मिलेका दन्त लहरले हो कि
शोडषी श्रृंगारले हो कि 
ओठमा लतपतिएको लालीले हो कि 
आँखामा पोतिएका इन्द्रेणीले हो कि 
उन्माद यौवनाकुरणले हो कि
निष्फिक्री खित्त-खित्त हाँस्दा पनि 
कत्ति हिस्सी परेकी 
कसैले हेरिरह्यो कि 
क्षणभरमै 
आज कस्तो लजाएकी छे सानी।
अप्सरा झैँ स्वर्गबाट झरेकी सानी 
शिरको ताज र सेतो वस्त्रमा 
सजिएकी सानी
ज्वजाल्यमान कोमल शरीरमा 
दाप खोलेर निशानबाज व्याधाको
संगिन निशानाले रोप्दा
बाछिट्टा झैँ छिर-छिर 
युद्धमा लतपतिएको रातो रगत
छरपष्ट लतपतिएको लाल रंग
हेर्दै आफैसँग लजाउँदै 
आफैलाई टुलुटुलु हेर्दै 
आज कस्तो लजाएकी छे सानी।