घर, आगँन अँध्यारोले निल्दा
कोठाभरि अँध्यारोकै पर्दाले छोप्दा
तालमा निथ्रुक्क भिजेको डोरी
वर्षामा गड्याङगुडुङ गर्ने आकाशझैँ
बिजुली बोकेर ल्याउँछ
तर एकदमै शान्त तवरले
हावाको झोक्काबाट जोगिन होला सायद
मन्द गतिमा सुटुक्कै आउँछ
कुनामा राखिएको टेबलछेउ
झलमल्ल पार्छ
रातको सूर्योदय
मेरै कोठाबाट हुन्छ
यो भ्रान्तीले मलाई
चुर्लुम्मै भिजाउँछ
कोठा अब अघिझैँ शान्त छैन
यो त
सुतेर उठेको मान्छे जस्तै
व्यस्त छ
ढकमक्क फुलेको फूलझैँ
परिपूर्ण छ
त्यो सानो वस्तुको उज्यालोमा
भाकल पूरा भएको मानिस सरह
यसको सर्वाङ्ग मुस्कुराउँछ
यस मुस्कानको आँगनमा
चहलपहल पुनश्च देखापर्छ
एक चौथाइ पढिसकेको बिरानो देश
बिछोड भएको प्रेमीझैँ
मेरै प्रतीक्षामा हुन्छ
खिन्न मुद्रामा
सिरानमै बसेको हुन्छ
म त्यसलाई
मायाले सुम्सुमाउँछु
च्याप्पै समातेर हत्केलामा बिसाउँछु
प्रेमिल नजर अक्षरमाथि दगुराउँछु
एक झुण्ड किरा, पुतली
बिना निमन्त्रणा भुन-भुन गर्दै आउँछन्
लस्करै मिलेर बत्तीको माथि झुम्मिन्छन्
मलाई त्यो पनि रमाइलो लाग्छ
कोठा हर हिसाबले जगमगाउँछ
सन्नाटा यसै बिलाएर जान्छ
दिनको भन्दा बढी रौनक
रातको टुकीले निम्त्याइदिन्छ
टिनमा थुपार्दै गएको कालो मुस्लो
झन्-झन् बाक्लो पार्दैछ
बिना कोलाहल
बिना बोलचाल
आफ्नो निशानीको छाप छोड्न
मलाई यसले सिकाउँदै छ
यसको प्राण
त्यो डब्बाभित्र कतै कैद छ
जसरी भौतिक शरीरलाई जीवन दिने आत्मा
यहीभित्र अपारदर्शी भई बसेको हुन्छ
अनि आफू हुनाको अस्तित्व
गन्धमा दुनियाँसामु छर्छ
यसले पनि त्यो नियम पालना गरेकै छ
एकनाश मलिन गन्ध छोडी रहन्छ
जो आएर मेरा नाकका पोरामै ठोक्किन्छ
मलाई मिठो लाग्छ त्यो बास्ना
लतै लागेर नि हुनसक्छ।