बाध्यतालाई बहाना बनाएर छुट्टिनु नपरोस्
कमजोरीलाई दोषी बनाएर बद्लिनु नपरोस्
प्रेम हुनु भनेको नजिक हुनु हो
बुढो रूखलाई देखाउँदै झरिरहेको पातमा प्रेम नखोज्नू
बगरले किनार लगाएको सोत्तरलाई देखाएर खोलासँग प्रेम नखोज्नू
आमाले फ्याँकेको नवजात शिशु देखाउँदै आमासँग प्रेम नखोज्नू
यी सब खोज्नुभन्दा त बहाना खोज्नू
यी सब खोज्नुभन्दा त निहुँ खोज्नू
यदि हैन त
प्रेम भनेको नजिक हुनु हो
भावनात्मक रूपमा
वैचारिक रूपमा
सामाजिक रूपमा
संवेगात्मक रूपमा
अरू पनि हुन सक्छन् जसले थोरै स्वार्थलाई पनि अंगालेका हुन्छन्
प्रेम हुनु त तिमी र मजस्तै भन्न पाइयोस्
यहाँ आफ्नाहरूकै विश्वास छैन
ती पुरानो कथाका पात्र देखाउँदै
उनीहरूको जस्तै प्रेम होस् तिम्रो र मेरो
म किन भनुँ?
यहाँ प्रेम हुनु त तिम्रो र मेरो
प्रेम तिमी र मलाई गर्नुछ
तिमीले मलाई बुझ्नु पर्छ
मैले तिमीलाई बुझ्नु पर्छ
प्रेम दिगो होस्
ना कि कसैको अनुपस्थितिमा
उसैलाई सम्झिन पाइयोस्
ऊ नभएको बहाना देखाउँदै उसलाई बिर्सनु नपरोस्
प्रेम यस्तो पनि नहोस्
जसलाई सम्झिँदा वाक्क नहोस्, दिक्क नहोस्
प्रेम गरिसकेपछि
गुलाबको पत्रजस्तै थोरै हलचल हुँदा छुट्टिनु नपरोस्
कसैलाई छाड्न मन नहुँदा नहुँदै छुट्नु नपरोस्
भौतिक उपस्थितिलाई नकारेर
भर्चुअल उपस्थितिमा रमाउनु नपरोस्
बिर्सिनु नपरोस्
भुल्नु नपरोस्
आफ्नै कोही स्पेसल हुँदो हो त
प्राइभेट इनबक्समा पठाउँदो हुँ
यसरी काल्पनिक शब्दहरूलाई
यसरी सार्वजनिक गर्नु नपरोस्
मैले बुझाउँछु तिमीले बुझ्नू
यो साल यस्तै भयो
अर्को दिवश तिमीले पनि कुर्नू
प्रेम यस्तो पनि नहोस्
कसैलाई कुर्नु भन्दाभन्दै कुर्ने मान्छे कहिल्यै नभेटियोस्
बडो प्रेमले लेखेका यी शब्द कहिल्यै नमेटियोस्
यत्ति हो अब त कसैले सम्झियोस्
यत्ति हो अब त कोही बद्लियोस्
आओस्
नजिक आओस्
बडो प्रेमले झ्याम्मियोस्।