मेरो आकाशमा पनि बेलुन उडेको उड्यै छन्
नानीहरू रमाउन् भनेर सरकारले उडायो भनि ठानेथेँ
होइन रहेछ
ऊ त्यो रातो चाहिँ उत्तरको रे
त्यो हरियो दक्षिणको रे
अझ माथिको रंगिचंगी छिरबिरे चाही अर्कैको रे
हामी मक्ख छौ
सबै मिलेर उडाएको रंगिचंगी बेलुन हेरेर
पार्कमा बच्चाबच्ची उफ्री-उफ्री रमाइरहेकै छन्
टोलका युवाहरूले समाचार पढेछन्
बेलुन खतरनाक चिज हो रे
अनि पो फाइटर विमान उडाएर बेलुन झारियो रे
तिनले आकाशतिर यसो नजर घुमाए र योजना सुनाए
अब लामो दूरीको गुलेली बनाउने रे
त्यसको लागि बजेट पनि निकाशा गराइहाल्ने रे
चोकबाट पुराना टायरका ट्युबहरू जम्मा गर्न थालिसकेछन्
बाटाछेउका रुखका हाँगा काटेको काट्यै छन्
भन्छन् एक-दुई दिनमा बेलुन झार्ने हो
पल्लो घरका काकालाई युवाहरूको यो काम पटक्कै मन परेको छैन
न आफू उडाउन सक्छन्, न अर्काले उडाइदिएकै देखिसहन्छन्
यस्तो तालले पनि देश बन्छ!
काकीको अगाडि एकोहोरो यसैगरी कराएको कराइ छन्
लामो दूरीको गुलेली तयार गरेरै छाडे
अब गुलेलीबाट पहिलो प्रहारका लागि प्रमुख अतिथि बोलाउने रे
गुलेली बनाउने भाइहरू हानथाप गर्दैछन्
यो पनि हुँदैन, त्यो पनि हुँदैन भनेर बाझेको बाझ्यै छन्
नरेले कुरा मिल्यो रे भनि सुनायो
तीन जना छानेछन् तीन वटा बेलुन ताक्नलाई
अब विशेष कार्यक्रम नगरी बेलुन खसाउने कुरै भएन
१००१ सदस्य बेलुन ध्वस्त समिति बनेछ
दिन तोके, समय तोके
पत्रकार र मिडियाहरू छुट्ने कुरै भएन
कार्यक्रम संचालनका लागि नायिका तयार भइछन्
खुलामंचको विशाल मञ्चमा गुलेली लिएका
अतिथिहरू तम्तयार थिए
त्यत्तिकैमा हिजोसम्म आकाश हेर्दै रमाइ-रमाइ खेलिरहेको
रामेको छोरो एक्कासी मास्तिर हेर्दै रोइकराइ गर्न थाल्यो
खोइ हिजोको बेलुन, आकाशमा छैन त
खोइ हिजोको बेलुन, आकाशमा छैन त
बेलुन आफ्नो काम सकेर अन्तै उडिसकेछ
एक प्रमुख अतिथि गुलेली फाल्दै माइक समाउन आइपुगे
‘हाम्रो तयारी देखेर बेलुन भगाएछन्’
तालीको गड्गडाहटसँगै भिडले उनको कुरालाई अनुमोदन गरिदियो
रामेले दुइटा बेलुन किनेर दिएसँगै
छोरो पनि आकाश हेरेर रुन छाड्यो
बेलुनलाई गुलेली देखाएर भगाएको दाबी गर्ने आयोजकले
भोलि खर्च विवरण सार्वजनिक गर्ने रे
भोलि बेलुन भगाएको खुसीमा अर्को कार्यक्रम गर्ने रे!