आज फेरि वियोगको याद बल्झेर आयो
निको भएको मुटु दुखेर आयो
कहिल्यै नसम्झने कसम त खाएकै थिएँ तिमीलाई
तर भ्यालेन्टाइन स्मृतिमा तिमी अल्झेर आयौ।
‘ह्याप्पी रोज डे’ भन्दै गिफ्ट सपमा किनेको गुलाब
अनि सातौँ तलामा बसेर स्रुप-स्रुप पिएको
डबल सट अम्रिकानो
र साटासाट गरेको गुलाबी सम्झना
सबै-सबै ताजै छन्
‘ह्यापी प्रपोज डे’ भन्दै प्रेम प्रस्ताव राखेको दिन
पशुपती जंगलको एकान्तमा
लुक्दै लजाउँदै चालेका
ती प्रेमिल पाइलाका डोबहरू अझै ताजै छन्
‘ह्यापी चकलेट डे’ भन्दै डिपार्टमेन्टमा किनेको
त्यो डेरीमिल्क
अनि चकलेटजस्तै मिठो सम्बन्ध होस भन्दै
तिमीले दिएको शुभकामना र पालैपालो टोकेको मायाको जुठो
चकलेटको स्वाद अझै ताजै छन्।
‘टेडि डे’ भन्दै तिमीले दिएको त्यो
भालु आकारको निलो खेलौना
आकाश र समुद्र निलो हुन्छ र
त्यसको कुनै सीमा नहुने भन्दै मिठो मुस्कानमा
माया साटेको टेड्डी अझै सिरानीमा छन्।
‘प्रमिस डे’ कै दिन
कसम खुवाएथ्यौ तिमीले
राजधानीका सबै मन्दिर घुमाएथ्यौ
तिमी मेरो र म तिम्रो अनुहार हेर्दै-हेर्दै
चढेका ती वैँशालु सिँढीहरू
स्मृतिपटमा अझै ताजै छन्।
‘हग डे’ भन्दै अंगालोमा कस्सिएर
छातीमा टाँसिदा निस्केको त्यो तातो माया
अलिअलि डरले सिरिंग-सिरिंग भएको मन
डरसहितको मलिनो अनुहार
अझै ताजै छन्।
कहिल्यै कसैको नखाएको जुठो
‘किस डे’ भन्दै चल्मलाएका ओठका हरफहरू
र, आँखा बन्द गरेपछि
अनुभूति हुने त्यो प्रेमिल संसारको याद
अझै ताजै छन्।
‘भ्यालेन्टाइन डे’ भन्दै
घुमेका ती पल
मेरो हात सुम्सुमाउँदै गरेको चुम्बन
कहिल्यै नछुटिने भन्दै खाएको कसम
तिम्रो रोजाइमा किनेका मेरा ती सबै वस्त्रहरू
मेरो रोजाइमा तिमीले काटेको हेयर स्टाइल
अझै ताजै छन् सम्झनामा
हो प्रिय,
छाडेर गएपछि तिमीले
अब फगत सम्झनामै रह्यो हाम्रो प्रेम
तिमी सात समुद्रपारि अरु नै यादहरूमा नुहाउँदै होला
म यता गाउँमा तिम्रै सम्झनाको घाम ताप्दैछु
ठिक यही बेला
फेरि वियोगको याद बल्झेर आयो
निको भएको मुटु दुखेर आयो
कहिल्यै नसम्झने कसम त खाएकै थिएँ तिमीलाई
तर भ्यालेन्टाइन स्मृतिमा तिमी अल्झेर आयौ
साँच्चिकै मुटुभित्र तिमी भक्कानिएर आयौ!