कति अनौठो छ तिम्रो र मेरो प्रेम कथा। न बुझ्न सक्छ कोही, न बुझाउन सक्छौ हामी। न मैले बुझाउन सकें मेरो प्रेमको अनन्त तै पनि किन आइरहन्छ मेरो सम्झनामा तिम्रो आकृति? किन मान्दैन यो मनले तिमी टाढिएको किन रोइरहे छ तिम्रो बिदाइमा, किन हराइरहेछु म एकान्तमा? के पाउन खोजिरहेछु म आफैंलाई हराएर किन भागिरहेछु म सत्यलाई लुकाएर? किन मानिरहेछु पर्खाइलाई नै जिन्दगी।
प्रिय भेटाउन मलाई खोज्दै नखोजी स्पर्श गरन मलाई छुँदै नछोई।
विदेशी नागरिकसँगको मेरो प्रेम कथा कस्तो अचम्म लाग्दो छ। इन्स्टाग्रामबाट भेटिएकी ऊ लामो समयसम्म साथी मात्रै भई। पछि विस्तारै कुराहरू गर्दै जाँदा उसले नै मलाई प्रपोज गरी।
ऊ अमेरिकी नागरिक हो उमेर मेरोभन्दा ३/४ वर्षले जेठी तर मभन्दा योङ देखिन्छे नदेखियोस् पनि कसरी अमेरिकन आर्मी नियमित व्यायाम गरिरहने त्यहाँको खानपिन त्यस्तै हुन्छ। उसको बाबा पनि रिटायर्ड आर्मी ५० वर्ष कटिसकेको भए पनि भर्खरैको देखिने। मलाई उसले आफ्नो बाबा सँगको धेरै फोटोहरू सेयर गरेकी छ।
हामी सुरूसुरूमा कुरा गर्दा धेरै व्यक्तिगत कुराहरू गर्दैन थियौं। फेरि भाषामा पनि समस्या। मलाई त्यति राम्रोसँग इङ्लिस पनि नआउने तर उसकै कारणले आजभोलि म राम्रैसँग इङ्लिस बोल्ने भएको छु। उसले मलाई जीवनमा धेरै राम्रा कुराहरू सिकाएकी छ। त्यसमध्ये एउटा राम्रो इङ्लिस बोल्ने पनि हो। हामी म्यासेजमा भन्दा पनि बढी भिडिओ कलमा कुरा गर्ने गर्छौं। तर नेपाल र अमेरिकाको समय ठिकविपरीत भएकाले मेरो समय तालिका नै परिवर्तन भएको छ। उसको ड्युटी अफ भएको बेला म राति २/३ बजेसम्म पनि धेरै रातहरू ऊसँगै गफिएर बिताउने गरेको छु। हामीबीच धेरै कुराहरू भिन्नता भए पनि भावना मिल्ने गर्छ। कोसौ टाढा भए पनि आत्मीयता छुट्टै हुने रहेछ। मलाई लाग्छ मैलेभन्दा बढी उसले नै माया गर्छे।
उसले मलाई आफ्नो बाल्यकालदेखि आजसम्मका सबै फोटोहरू सेयर गरेकी छ र फोटोसँगै एक एक कहानी सुनाउने गरेकी छ।
म यस्तो थिएँ, म उस्तो थिएँ, म यहाँ गएको थिएँ, यो बेला यस्तो भएको थियो बच्चाले सुनाएजस्तै गरी सुनाउने गर्छे।
उसको गफहरू सुनिरहूँजस्तो लाग्छ। वास्तवमा उनीहरूको बाल्यकाल र हाम्रो बाल्यकाल सम्झ्यौ भने कस्तो अचम्म लाग्छ। कहाँ हामी धुलो माटोमा खेल्दै गाई बाख्रा चराउँदै हुर्केको। कहाँ उनीहरू बाबा मम्मीको भ्याकेसन हुँदा बित्तिकै नयाँ ठाउँ चिल्ड्रेन पार्कमा रमाउँदै हुर्केका।
कति फरक छ नेपाल र अमेरिका।
हाम्रो समाजले अन्तरजातीय विवाहलाई समेत स्वीकार्न गाह्रो मान्छ भने के उसको र मेरो सम्बन्ध पनि स्वीकार गर्ला? मैले त ऊसँगै जीवन बिताउने प्रण गरिसकेको छु।
म आज भोलि तिम्रैमात्र सपना देख्ने गर्छु। हरेक पल तिमीलाई सम्झिरहन्छु।
खासमा माया भन्ने चिज कति शक्तिशाली छ एकछिन मै मुटु न्यानो पारिदिन्छ। आफूले माया गर्ने मान्छेको एक मुस्कान शरद ऋतुको शितल हावाजस्तै हुँदोरहेछ। म तिम्रो मुस्कानलाई धेरै सम्झिरहेको छु प्रिय।
अहिले ऊ शान्ति मिसनका लागि कङ्गो गएकी छ। आज हामी कुरा नगरेको पनि एक हप्ता भइसक्यो तर मलाई यो एक हप्ता पनि वर्षौं झैं लागेको छ।
ऊ मिसनबाट फर्केपछि नेपाल आउने र हामीले बिहे गर्ने योजना बनाएका छौं। जानुअघि उसले कुरियरमार्फत् मलाई पठाएको भ्यालेन्टाइन डे गिफ्ट आजमात्र प्राप्त गरें घडी, मोबाइल, जुत्ता, टिसर्ट, पर्फ्युम आदि म उसले पठाएको उपहार पाएर मख्ख पर्दै उसलाई म्यासेज छोडें। अझैसम्म पनि म्यासेज सीन भएको छैन। छट्पटीले गर्दा के गरम्, के गरम् भएर यसरी डायरी कोर्दैछु।
हाम्रो प्रेमले सार्थकता पाउँछ/पाउँदैन त्यो भविष्यको कुरा हो। तर एक तहको सफलता र प्रेमको अनुभूति मैले गरिसकेको छु।
प्रिय जे एस्सिना
सम्पूर्ण प्रेमिल जोडीहरूलाई प्रेम दिवसको शुभकामना!