म सोचिरहेछु
मुटुको पनि मुटु हुन्छ कि हुँदैन होला?
यदि हुन्छ भने
कसैको मुटु बन्नेहरूको मुटु कस्तो हुन्छ होला?
म तिम्रो मुटु हुँ भन्नेहरूको मुटु कस्तो हुन्छ होला?
प्रिय तिमी!
मैले तिमीलाई मुटुभित्रै सजाइराख्दा पनि
मैले तिमीलाई आफ्नो मुटु बनाइराख्दा पनि
तिम्रो मुटु चाहिँ कस्तो रहेछ भन्ने हेक्का राखेनछु
एकदिन अनायसै आफ्ना सपनाहरू
हुरीले उडाएर उ पर क्षितिजपारि लैजाँदा पो झस्केँ
एकदिन अनायसै–
आफ्नै मुटु चुँडिएर टाढा–टाढा भैजाँदा पो झस्केँ।
प्रिय तिमी!
तिमी आफ्नो ख्याल गर्नू ल
मलाई ख्याल गर्न त–
हरबखत तिम्रा यादहरू आइरहन्छन्
मलाई ख्याल गर्न त–
हाम्रा विगतले बारम्बार सम्झना पठाइरहन्छन्।
तिम्रो प्रेमोत्सव त्यही हो
मलाई तिमीले चटक्क भुलेको दिन
मेरो प्रेमोत्सव
यही हुन्छ: तिमीलाई झल्यास्स सम्झेको दिन
ह्याप्पी भ्यालेन्टाइन डे।