हो प्रिय सृजा
तिमीले मलाई असाध्यै माया गर्छ्यौ
जसरी गर्दो हो गुलाबले रङलाई माया
जसरी गर्दो हो आकाशले जूनलाई प्रेम
तिम्रो कोमल ओठबाट
आकाशका ताराझैं
मौरीका घारझैं
सिलसिलेवार
कुनै सुन्दर छन्द कविताको लयझैं
एक तमास बगेर आउने यी शब्दहरू
मात्र तिम्रा यादगारका खातिर काफी छन् प्रिया
यी हेर त एक फाँकी ती शब्दका आंशिक लहरहरू:
सात-सात कल्प तपाईंकै हुन पाऊँ
सात-सात जुनी हाँसेरै बस्न पाऊँ
तपाईंको कोमल शरीर सधैं फूलले भरिरहोस्
मैले यस्तै सुगन्ध लिइरहन पाऊँ कोमल फूलहरूको...
यी आँखाले सधैं हेरिरहन पाऊँ
ती ओठका मधुरमधुर लयहरू
यी कानले सुनिरहन पाऊँ
त्यो मुटुका चन्चलचन्चल धड्कनहरू
म परदेश हुँदा
सिमलको टुप्पामा बसेर गाइरहेको कोइली सुनेर
मलाई सम्झिँदै-सम्झिँदै
तिमीले एक तमास भुइँमा खोपेको खोबिल्टो
रातैरातमा पनि
एक्लै
औँला भाँच्दै गन्दै पीपलबोट मुन्तिरको भुइँमा
तिमीले कोरेको तस्बिर
काफी छन् सृजा
कुनै बहुमूल्य जुहारतले नभेट्ने
म निद्रामा हुँदा
हाम्रै छानोबाट हेर्ने चन्द्रमालाई हातले छेकेर
तिमीले सुन्दर सपना भरिदिएका ती रातहरू
कहिल्यै एक्लो नबन्ने मिलनका कथाहरू
हो प्रिया तिमीले
कहिल्यै कल्पना पनि गरिनौ
सपना पनि भरिनौ
अप्रिय लाग्ने बिछोडका कथाहरूका
त्यसैले सृजा म पत्याउन सक्दिनँ
महाभारतले गरेका अपव्याख्याका नारीकथा
कहाँ लत्याउन सक्छु र
मायाले भरिएका तिम्रा सुन्दर शब्दगहना
छायाझैं आँखामै बसेका कोमल मुस्कान ओठ
भरोसै हुँदैन मलाई
मुना छाडेर मदन ल्हासा भएका कथा
अनि कसरी लत्याउन सक्छु र म
जुलियटले उत्सर्ग गरेको अमर प्रेमगाथा
हो सृजा
समुद्र पानीले नअघाएझैं
चाँदनी सूर्यकिरणले नथाकेझैं
हिमाल उचाइमा नआत्तिएझैं
तिमी कहिल्यै थाक्नेछैनौ
हाम्रो प्रेमकथाका सुन्दर पृष्ठहरूमा
हो हजुरबुवा, उनी कहिलै थाक्नेछैनन्
हाम्रो प्रेमबाटिकामा फूल टिपेर
यसरी सुनाइरहँदा प्रेमकहानी
हजुरबुवा अचानक भन्दै हुनुहुन्थ्यो,
‘सपना त उल्टो पो हुन्छ लाटा!’