मैले तिमीलाई नै रोजेको छु
तिम्रो मुहारमा मुस्कान
जीवनमा खुसी, शरीरमा उर्जा
अनि मनमा शान्ति रोजेको छु
तिमीलाई एक दिन रोज मात्र दिनुभन्दा
सधैँलाई रोज्नु जायज होला भनेर!
मैले तिमीसँगै जिउने कल्पना गरेको छु
आएका सुखदु:ख सँगै भोग्ने कल्पना
तिम्रो चोटमा मलम बन्ने कल्पना
तिम्रा अठोटमा साथ निभाउने कल्पना
के तिम्रो दुःख मसँग बाँड्न तयार छौ?
मेरो सुखमा खुसी हुन तयार छौ?
तिम्रो दुःख मलाई, मेरो सुख हामीलाई
के मेरो गल्तीलाई सुधार्न तयार छौ?
मेरा कमजोरी स्विकार्न तयार छौ?
जीवनको यात्रामा कतै ठेस लाग्दा
सँगै उठी साझा गन्तव्य तय गर्न तयार छौ?
म तिमीलाई चकलेटजस्तै मिठो
अनुभूति दिन चाहन्छु
र तिमी खुसीले फुरुङ्ग हुनेछौ
बढ्नेछ माया हामी दुईबीच
जुठो खाएपछि बढ्ने तहमा
तिमीले जिब्रोबाट होइन
मनबाट लिनेछौ स्वाद
र हाम्रो सम्बन्धमा भरिनेछ मायाको मिठास!
म तिम्रा लागि त्यो टेड्डी हुन तयार छु
जो हरबखत तिम्रो साथमा हुनेछ
पोख्नेछौ तिमीले मनका बह
सुनाउनेछौ आफ्ना व्यथाहरू
न लाज हुनेछ, न डर हुनेछ
दुखी मनको सहारा हुनेछ!
मैले कसम खाएको छु
तिम्रो विश्वासमा घात नगर्ने
हाम्रो भविष्यसँग खेलवाड नगर्ने
सधैँ खुसी दिन सकिनँ भने पनि
दुखी बनाउने छैन कहिल्यै पनि
पुछ्नेछु तिम्रा आँखाका आँसु
जित्नेछु तिम्रो विश्वास,
उत्सव मनाउनेछु तिम्रो सफलता!
म अँगाल्न चाहन्छु तिमीलाई
तिम्रा विगत अनि वर्तमानलाई
तिम्रा इच्छा अनि चाहनाहरूलाई
तिमीले देखेका सपनाहरूलाई
तिम्रा रहर अनि भावहरूलाई
तिम्रा कला अनि कमजोरीहरूलाई
पूर्ण तिमीलाई
जसले तिमीलाई तिमी बनाएको छ!
म चुम्न चाहन्छु तिमीलाई
तिम्रा सफलताहरूलाई, अप्रत्याशित हारहरूलाई
मनाउन चाहन्छु तिम्रा उत्सवहरूलाई
तिम्रा हर्षहरूलाई, निष्कर्षहरूलाई
सङ्गेट्न चाहन्छु तिम्रा खुसीका कणहरूलाई
अनेकन रहरहरूलाई
सुम्पिन चाहन्छु, मेरा सम्पूर्ण उपलब्धिहरू
मेरा सफलता अब हाम्रा हुनेछन्
हाम्रा हुनेछन् तिम्रा सपनाहरू
साझा हुनेछन् हाम्रो गन्तव्य!
भन्दिनँ म तिमीबिना अपूरो छु
तर जीवन खल्लो भने पक्कै हुनेछ
नुन बिनाको तरकारी, अमिलो बिनाको अचार
ज्ञान बिनाको शिक्षा, तर्क बिनाको विचार!
त्यसैले आऊ सहकार्य गरौँ
प्रेम अनि जीवनको सहकार्य
दुःख अनि सुखको
खुसी अनि रोदनको
प्राणसँग प्राणको, उर्फ प्रणयको
प्रणय दिवसको शुभकामना!