मबाट अघाएको मेरो आत्मा
प्रणयको रातो गुलाफको थुंगो बोकेर
सिमलको भुवाझैँ हावामा लरबराउँदा
माया तिम्रो कोमल हृदयमा
मेरो आत्मा बासको भिख मागिरहेछ।
पोहोर तिम्रो लागि करेसामा रोपेको गुलाफको एउटा डाली
शरद हेमन्तको कठ्याग्रीसँग सम्बन्ध गाँसेर
ग्रीष्मका कहाली लाग्दा धुपसँग रत्तौली खेल्दै
वर्षातका चट्याङ र असिनासँग लुकामारी गरेर
गुलाफको एउटा कोपिला
निर्दोष रातो थुंगामा फक्रिँदा
प्रणय दिवसको त्यो इतिहास सम्झेर मैले
मोर्चामा जमेको सिपाहीको साहस संगाल्दै
घुडा टेकेर रातो गुलाफमा
‘आइ लभ यू’ टक्र्याएको छु।
माया तिमीलाई…
मेरो प्रीतिको डोलीमा सजाएर
महलकी रानी बनाइ
बरालिएको मेरो आत्मा
तिम्रो कञ्चन हृदयको बगैँचामा झुलाउँदै
जुनी-जुनी तिमीसँग भुलाउन मन छ।