‘जीवन रित्तो लागिरहेछ। उनी बिनाको यो समयले मलाई बारम्बार टोकिरहेछ। जब म सुतेर बिउँझन्छु उठ्दा ओछ्यान रित्तो र एक्लो पाउँदा मुटुको धड्कन नधड्किएको दिन हुँदैन,’ यी वाक्य सुबोध (नाम परिवर्तन) का हुन्।
उनी भन्छन्, ‘म प्रेमलाई कसरी सम्बोधन गरौं? आखिर प्रेमको सुरूआत र अन्त्य के हो त?’
उनी अहिले आफ्नी प्रेमिका अर्थात श्रीमतीले छोडेर गएदेखि निक्कै बिक्षिप्त छन्।
समयले मानिसलाई एउटै खुसी, एउटै आरधना र एउटै जिम्मेवारी कहाँ सम्भव बनाउँछ र जिन्दगीको उतारचढावलाई सन्तुलनमा राख्न सक्नुपर्छ अनि मात्र जीवनको यात्रा सफल हुन्छ।
परदेशको ब्यस्तता, अभाव र एक अर्कालाई समय दिन नसकेको कारण परदेशमा प्रेमी प्रेमिका, श्रीमान श्रीमती बिचको दूरी सामान्य जस्तै भइसकेको छ।
सुबोध आफ्ना दुःखेसो राख्दै अनेक ठाउँमा पुगिरहेका छन्। उनी त्यहीँ प्रेमको निम्ति भौँतारिरहेका छन्। उनी त प्रतिनिधि पात्र मात्र हुन्। उनी जस्ता धेरै युवा पुस्ताले अति ब्यस्तताका कारण आफ्ना सहपाठीलाई बुझ्ने समय नपाउँदा परदेशमा डिप्रेसन र यस्ता खाले पीडा भोगिरहेका छन्।
सोचेर ल्याउँदा साँच्चै नै प्रेम के हो त? जसले अति धेरै पीडा पनि दिन्छ जस्तो कि अहिले सुबोध जस्ता कैयौं मानिसले भोगिरहेका छन् तर प्रेमलाई गहिराइमा बुझ्न सके प्रेमले जीवन जिउने उत्साह पनि दिन्छ, जीवनलाई अति सुन्दर पनि बनाइदिन्छ।
हामी हाम्रो सम्बन्ध भुगोलको जुन कुनामा पुगे पनि जिवित राख्न सक्छौं यसको दृष्टान्त उदाहरण क्षितिज पारी रहेका हामी अभिभावकहरू भेट हुने थलो ‘अवर्नपार्क’ रहेको छ।
यहीँ भेटघाटको क्रममा सुबोधसँग भेट हुन पुग्यो। आफ्ना आफन्त छोडेर उच्च शिक्षाको खोजीमा बिदेसिने सन्तानमध्येका एक हुन् उनी। सन्तानले परदेशमा नियमका गजबारहरू उघार्दै आफ्ना अभिभावकलाई बोलाएका हुन्छन्।
अभिभावकहरू कतै रहरले त कतै सन्तानका ब्यस्ततामा सहयोगको निम्ति आइपुगेका हुन्छन्। त्यसरी आफ्नो कर्म र जन्म थलो छोडेर आउँदा अभिभावकहरू भाषा र आफ्ना आफन्त छरछिमेक सबैदेखि टाढा रहँदा एक्लो नबनुन् भनेर सिड्नीमा नेपाली अभिभावक संवाद डबली सन् २०१३ देखि गठन भएको रहेछ।
अभिभावक समाजमा म पनि आबद्ध भएँ।
यसमा आवद्धहरू हरेक आइतबार विभिन्न ठाउँहरू घुम्न जाँदा रहेछन्। अभिभावकसँग म एक अभिभावक पनि जोडिएँ। अभिभावकसँगको मेरो पहिलो यात्रा पाम समुद्र बीच रह्यो। हाम्रो यात्रामा १८ जनाको समूह थियो। अठार जना मध्येका एक थिए- तीस वर्षीय सुबोध।
हामीले ट्रेन, दुई तले बस र पानी जहाज (फेरि) को यात्रा गर्दै समुद्र पुग्यौं र फर्कियौं।
खास गरी पाम समुद्रको एक छेउ पहाडहरू लस्कर भएर उभिएका थिए। पहाडले घेरिएकोले यो समुद्र नेपाल पोखराको फेवातालझैँ देखिने रहेछ।
हामी समुद्रको छेउमा भएको तर्पाईँ तर्पाइं पहाड हुँदै लगभग चालीस मिनेटको यात्रा गरेर उक्लियौं। पहाडको माथिल्लो भाग टुप्पोमा रहेको समुद्रका जहाजहरूको सूचक घन्टाघर जस्तो अग्लो भवन र छेउछाउमा रहेका राता रंगका घरहरूले हामीलाई आफ्नो देशमा पुर्याएझैं भयो।
झट्ट हेर्दा घन्टाघर र रानीमहल जस्तो देखिने उक्त स्थानमा पुगेर निक्कै बेर नाचगान गरि केही तस्बिरहरू लिएर हामीले रमाइलो गर्यौं। यसरी एकअर्काको साथमा रमाएर हिँड्नुमा पनि त प्रेम छ। हामीलाई प्रेमले बाँध्यो र त हामी सबै सँगसँगै यात्रा गर्यौं।
सुबोध भने मनमा धेरै पीडा बोकेर हाम्रै अघिपछि हिँडिरहेका रहेछन्।
उनको पीडा हामीले देखेका थिएनौं जब उनले अर्को दिन मलाई ‘दिदी हजुरलाई भेटेर केही कुरा गर्नु छ’ भनेर फोन गरे।
मैले ‘हुन्छ आउनु न भाइ’ भनेर बोलाएँ र उनका कुरा सुनेँ।
उनले अन्त्यमा भने, ‘दिज्जू मैले आज १३ फेब्रुअरीका दिन उनी (प्रेमिका) लाई आउ न हामी भेटौं, हाम्रा समस्याहरूको समाधान गरौं र १४ फेब्रुअरीको प्रणय दिवसमा हाम्रा तिक्तता फ्याकेर प्रेमको नयाँ सुरूवात गरौं भनेको थिएँ तर उनी म देखि धेरै पर भइसकिछन्, आइनन्।’
उनकै प्रश्न जस्तै आखिर प्रेम के हो त?
वास्तबमा मैले भन्न खोजेको अहिलेका युवा पुस्ता ज-जसले सप्ताहव्यापी प्रेम दिवसको नाममा कतै भड्किलो र खर्चिलो गरि प्रेम दिवस मनाइरहेकाछन्। यो प्रेम दिवस एक सप्ताहसम्म मनाएर के जीवनभरको प्रेमले पूर्णता पाउला?
खास गरि १४ फेब्रुअरी प्रेम दिवस नभई रोमनका राजाले विवाह गर्न वञ्चित गराएपछि सेन्ट भेलेन्टाइनले यसको विरोध गर्दै बिबाह गर्न प्रेरित गराए बापत उनलाई १४ फेब्रुअरीमा दिइएको फाँसीको दिन हो। पछि गएर उक्त दिनलाई भेलेन्टाइन डे घोषणा गरियो।
आज आएर यो दिनलाई सप्ताहब्यापी प्रेम दिवसको रुपमा मनाइन्छ। यथार्थ जे जस्तो रहे पनि अहिले १४ फेब्रुअरी प्रेम दिवस पर्वको रुपमा चलिआएको छ। प्रेमले पीडा होइन जीवन जिउने उत्साह देओस् सम्पूर्ण प्रेमी प्रेमीकालाई यस प्रेम दिवसको हार्दिक शुभकामना।