तिम्रा यी चमकधमक
झिलिमिली टाइँटुइँ
भिभिआइपी सबै
चरम दरिद्रता छोप्ने
केवल पारदर्शी खोलहरू
मात्र हुन् मान्यवर
भोका सुत्केरी
कुपोषित लालाबाला
आङ झरेकी बैकिनीहरू
खाली चारो नहाली
रातौ रात सुतेका
वृद्ध दाम्रेका पेटहरू
ओखती नपाएका
रोगी शरीरहरू
अठार घण्टा
दुःख गरेर पनि
दुःखैमा जमेका
ती दूरदराजका
बस्तीहरूलाई
तिम्रा यी शाहीशान
रिसल्लाका फौज
सेता भटभटेका
लावालस्कर
महँगा काला-काला
गाडीहरूका हुइँको
गरिब राजधानीको
शून्य सडकमा
तिम्रा शाही सवारी हेरेर
यो जीवन धन्य बनाउने
तिनका पनि ठूलै
धोको थियो पक्कै
के गर्नु मान्यवार
न त्यहाँ बिजुली छ
न त टेलिभिजन।