सेपिला आँखाहरू
तर हँसिलो थियो त्यो मुहार
पीडाका गहिरा भावहरू
तर मिठो थियो त्यो व्यवहार
देख्दा कलिला हातहरू
तर हिलोले फाटेका थिए ती कुर्कुचा
मैले ती ओसिला आँखाको ओस
न त देखेर पुछिदिन सकेँ
न त नदेखे झैँ गर्न सकेँ!
मैले ती मिठा शब्दका पीडादायी भावहरू
न त बुझिदिन सकेँ
न त नबुझे झै गरी फिर्न सकेँ!
मैले त्यो हिलोले फाटेका कुर्कुचामा
न त मल्हम लागाउन सकेँ
न त नजरअन्दाज नै गर्न सकेँ!
आमा, अब केही समय पर्खिनू
पहिले म आफूले आफूलाई सम्हाल्न सकुँ
भविष्यका लागि देखेका केही सपना
वास्तविकतामा सजाउन सकुँ
तपाईंले फलानी मेरी छोरी हो भनी
अरुलाई सुनाउँदा तपाईंको शिर ठाडो हुने बन्न सकुँ
तपाईंले भूतमा मेरा लागि देखेका केही थान सपना
वर्तमानमा खटिएर पूरा गर्न सकुँ
सबैकी प्यारी बन्नु छैन आमा अब मलाई
बस् तपाईंकी प्यारी सदैव रहिरहन सकुँ
सधैँ बा-आमाको नामबाट चिनिएकी म
बस् एक दिन मेरो नामबाट तपाईंहरूलाई चिनाउन सकुँ।