न कुनै योजना
बिना कुनै तयारी
जसरी घुर्पिसेको रातो माटो
टायर चढेर सहर पस्यो
हाम फाल्यो चारकुनेको एक मोडमा
ठिङ्ग उभियो
र अल्मलियो सहरको बीचमा
सुरु भयो उसको अप्ठ्यारो यात्रा
वर्षहरू बित्दै गए
धराप हुँदै गयो उसको अस्तित्व
अलिकति मिसियो
आन्दोलनले जलेको टायरको राखसँग
अलिकति मिसियो
ढलको मैलो पानीसँग
अलिकति मिसियो
दुषित वायु र अन्जान धुलोसँग
आखिरमा ऊ यो सहरमा
न माटो रह्यो
न रातो रह्यो
बरु उतै भएको भए
कुनै घरको भित्तामा पोतिन्थ्यो होला
या नानीहरूको हातबाट चरा पो बन्थ्यो कि
घंगरुको दानाको आँखा पाउँथ्यो होला
र कसैको कोठामा मायाले सजिन्थ्यो होला
बनेर ऊ एक सुन्दर कला
आमा!
त्यसरी नै यो सहरमा
थुप्रै-थुप्रै यौवनहरू
घुर्पिसेको माटो भएनन्
म भन्न सक्दिनँ।