के दिउँ तिमीलाई उपहार
छैन मसँग हिराको हार
धनी भए दिने थिएँ मारुती कार
गरिब भएकाले यो सानो पोष्ट कार्ड
यही सायरी वाला पोष्टकार्ड उसले मेरो लागि पठाएको थियो। मैले सामाजिक किताबको बीचमा लुकाएर राखेको थिएँ। हातभरि गुलाबको फूल बोकेको फोटोमा निलो मसीले सायरी लेखेर पठाएको रहेछ साथीको हातमा।
कक्षा ९ मा पढ्दै थियौँ। चञ्चल उमेर अनि त्यो बेलामा हामीले बुझेको भ्यालेन्टाइन डे। भ्यालेन्टाइन डे भनेर शुद्धसँग उच्चारण समेत गर्न नजान्ने उमेरमा भ्यालेन्टाइनसँग नै लाज लाग्ने गर्थ्यो।
त्यही भ्यालेन्टाइन डेमा उसले मलाई पोष्टकार्ड पठाएको खबरले हाम्रो कक्षादेखि हेडमास्टरको कुर्सी समेत तातेको थियो।
पोष्टकार्ड उसले लुकाएर नै पठाएको थियो मेरी साथी बिनाको हातमा। मैले पनि कल्पनालाई बाहेक कसैलाई भनेकी थिइनँ। कसैले पहिलो पटक दिएको पोष्टकार्डले मलाई अलि लजालु बनाएको थियो।
म शुद्ध नेपाली बोल्न सक्ने थिएँ। ऊ अर्थात दोर्जेको अशुद्ध नेपाली भाषा। उसको बोलीमा आफ्नै मातृभाषा हावी भएको कारण नेपाली भाषाले आफ्नो स्वरुप बिगारिसकेको हुन्थ्यो। सामाजिक पढाउने सरले दोर्जेलाई निकै उल्याउने गर्थे।
उसले पोष्टकार्ड दिनुभन्दा पहिला हामी पनि उसले बोल्दा निकै हाँस्ने गर्थ्यौं। उसले पोष्टकार्ड दिएदेखि किन हो मलाई उसको अशुद्ध नेपाली उच्चारण सुन्दा पनि हाँसो लागेन।
हामी पढ्ने विद्यालयभन्दा निकै टाढा कोशीपारितिर थियो उसको घर। उसको बुवा कुनै बैंकमा सेक्युरिटी गार्डको काम गर्थे। स्कुल नजिकै डेरामा दोर्जे र उसको भाइलाई पढाउने व्यवस्था उसका बुबाले गरेका थिए।
डेरामा बसेर पढ्ने गरेको दोर्जे प्रत्येक शुक्रबार घर जान्थ्यो। आइतबार फर्किँदा हप्ताभरिलाई पुग्ने तरकारी बोकेर फर्किएका हुन्थे दोर्जे र उसका भाइ।
स्कुलको आकाशे रंगको सर्ट प्रायः मैलो-मैलो नै देखिन्थ्यो। निलो पाइन्टको दुवै गोजी मुनितिर सेतो धागोले सिलाएको प्रष्ट देखिन्थ्यो। डेराको बसाइ भान्साको व्यवस्थापन अनि भाइको रेखदेख उसको थप जिम्मेवारी थियो।
पढाइमा खासै लगाव थिएन उसको। कक्षामा १८ जना विद्यार्थी थियौँ। ऊ जहिले अन्तिम बेन्चमा नै बस्ने गर्थ्यो। पहिलो बेन्चबाट म बेलाबेलामा अन्तिम तिर फर्किँदा ऊ लजाएर निहुँरिने गर्थ्यो।
उसले आफैले लेखेर पढाएको हो या अरु कसैलाई लेख्न लगाएर पठाएको थियो त्यो पोष्टकार्ड मलाई थाहा थिएन। त्यो पोष्टकार्ड मैले पाएदेखि म अलि बदलिएको थिएँ। पहिलाको भन्दा अलि बढी समय लगाएर स्कुल जान तयार हुन्थेँ।
मभन्दा ऊ बदलिएको थियो। दोर्जे मलाई देख्नासाथ लजाएर भुइँतिर मुन्टो निहुराउने गर्थ्यो। उसको साइनोमा आफन्त पर्ने मेरी साथी बिनाको हातमा कहिले अम्बा त कहिले अमला पठाइरहन्थ्यो।
उसले पठाएको पोष्टकार्डले गर्दा छुट्टै आफ्नोपनको महसुस हुन थालेकोको थियो। त्यसैले कक्षामा उसको अरुले मजाक बनाएको मलाई मन पर्दैन थियो। मैले प्रतिउत्तर पोष्टकार्ड कहिल्यै पठाइनँ उसलाई। तर उसले मलाई हेर्दा म पनि कता-कता लजाउने गर्थें।
स्कुलको ब्याल्क बोर्डमा ‘एस प्लस डी’ लेखेको देख्दा छुट्टै रोमाञ्चक अनुभूति हुन्थ्यो।
कौतूहलता र रोमाञ्चकतासँगै फलामे ढोका अर्थात् एसएलसी नजिकिँदै थियो। स्कुलले परीक्षा अगाडि नै बिदाइ गर्यो। दोर्जसँग भेटघाट बन्द भयो। हुन त एउटै कक्षामा पढ्दा पनि हामीबीच दोहोरो बोलचाल भएन। मलाई देख्नासाथ उसको राता गालाबाट रगत बग्ला जसरी झन् रातो हुन थाल्दथ्यो।
केही दिनको देखभेटपछि एसएलसीको परीक्षा हलमा भेट भयो ऊसँग। उसले मुसुक्क हाँसेर ‘अल द बेस्ट’ भन्यो। मैले पनि हासेर उसलाई परीक्षाको शुभकामना दिएँ।
परीक्षा सकियो, दोर्जे बस्ने डेरामा उसको बुबा र भाइ मात्र बस्न थाले। त्यसपछि ऊ कता हरायो। म कम्युटर सिक्न व्यस्त भएँ। एसएलसीको नतिजा आयो। म सेकेन्ड डिभिजनमा पास भएँ। दोर्जेलाई तीन विषय लागेको जानकारी बिनाले दिई।
आफू पास भएको खुसीमा दोर्जे फेल भएको नरमाइलो मिसियो। त्यसपछि दोर्जेसँग एक पटक पनि भेट भएन। पढाइ, जागिर अनि पारिवारिक व्यवस्थापनमा म व्यस्त भएर होला दोर्जे मेरो स्मृतिमा कुनै पल आएन।
स्कुलभन्दा फराकिलो कलेजको जीवन अनि हराएको पोष्टकार्ड चलनले गर्दा दोर्जेलाई सम्झिने फुर्सद नै दिएन मलाई।
सहरी बसाइमा दैनिक सयौँ मानिसहरूसँग ठोक्किन पुगिन्छ घरबाट पाइला सडकमा पर्न साथ। ठोक्किएका कयौँ मानिसहरूको अनुहार एक पाइला अगाडि सार्न साथ भुलिन्छ पनि। तर मस्तिष्कमा बसेको अनुहार ११ वर्षपछि भेट्दा पनि उस्तै हुने रहेछ। यस्तै रह्यो दोर्जेसँगको मेरो आकस्मिक भेट।
मलाई कामको सिलसिलामा पोखरा जानु थियो। म पोखरा गइराख्ने भएकाले टिकट काउन्टरको फोन नम्बर मेरो मोबाइलमा सेभ नै हुन्छ। अरु बेलाजस्तै यो पटक पनि मैले फोनबाटै पोखरा यात्राको लागि टिकटको निधो गरेँ।
मलाई यात्रामा टाटा-सुमो नै सहज लाग्ने भएकाले चालक नजिकैको सिट मेरो छनौटमा पर्दछ। अगाडिको सिटमा यात्रा गर्दा यात्रामा दृश्यको नजिकबाट स्वाद लिन पाइन्छ भने अन्य यात्रीहरूको गन्थनमन्थनबाट पनि मुक्ति मिल्दछ।
यात्राको दिन गाडी चालकको फोन आयो- ‘कता हुनुहुन्छ? अब आधा घण्टापछि गाडी हिँड्छ, तयार हुनूहोला।’
मैले हुन्छ म समयमै गाडी भएको ठाउँमा आइपुग्छु भन्दै फोन राखेँ।
केही जोर लुगा र अफिसका केही कागजातसहितको झोला बोकेर म गाडी भएको ठाउँमा समयमै पुगिसकेको थिएँ। गाडीका सिटहरू लगभग यात्रुहरूले भरिसकेका थिए। चालक बस्ने सिट खाली थियो।
मैले अगाडि सिटमुनि झोला राखेर आफू सिटमा बसेँ। करिब ५ मिनेटपछि गाडी चालकले गाडी स्टार्ट गर्दा मात्र मैले मेरो मोबाइलबाट आँखा हटाएँ।
‘म्याडम, हजुरको सामान डिगीमा राखिदिउँ कि,’ गाडी चालकले भन्यो।
‘एउटा ब्याग मात्र हो यही ठिकै छ’ भन्दै चालकतिर नजर लगाएँ।
गाडी चालकले पनि मलाई हेरिरहेको रहेछ। मेरो आँखा एकछिन त जिल नै परे। मेराभन्दा उसका गाला निकै राता-राता भएका थिए। ऊ अर्थात मलाई पोष्टकार्ड दिने दोर्जे नै मैले यात्रा गर्ने गाडीका चालक थिए।
स्कुलमा नेपाली शुद्ध बोल्न नजान्ने दोर्जे कति मिठो नेपाली बोल्ने भएछ। उसले मलाई देखेर अलि असहज महसुस गरेको जस्तो मैल अनुमान लगाएँ। उसलाई सहज बनाउन संवादको सुरुआत मैले नै गरेँ।
‘तिमी त बेपत्ता नै पो भयौँ त। कता थियौँ यत्तिका समय?,’ मैले प्रश्न गरेँ।
उसले हाँसेर भन्यो- ‘तपाईंहरू जस्तो पढ्न सकिएन अनि विदेश तिर लागेँ। फर्किएर यही सुमो चलाउन थालेको छु।’
‘कुन देश गएका थियौँ?’
उसले मलाई तपाईं भनेर सम्बोधन गरेको कुरा उसलाई तिमी भनेपछि मात्र याद गरेँ। आफैलाई अलि अप्ठारो लाग्यो।
उसले हातहरू स्टेरिङमा दौडाउँदै गफ सुरु गर्यो।
‘एसएलसी फेल भएपछि काठमाडौँ आएर गाडी चलाउन सिकेँ। नेपालमा लाइसेन्स निकालेर साउदी अरब तिर लागेँ। साउदीमा गाडी चलाउन भनेर गएको तर मजरामा पो काम गर्न पर्यो। करिव ४ वर्षपछि फेरि त्यहाँ पनि लाइसेन्स निकालेर बल्ल गाडी चलाउन पाएँ। बीचमा नेपाल आएर बिहे पनि गरियो अनि केही वर्ष साउदीमै गाडी चलाएर कमाएको पैसाले यही सुमो किनेको हो। नेपाल फर्किएको धेरै भएको छैन, जम्मा एक महिना मात्र भयो। आजैबाट यो सुमो चलाउन थालेको तपाईंसँग भेट भयो’ भन्दै उसले धेरै कुरा सुनायो।
अनि मैले उसलाई जिस्काउँदै भनेँ- ‘बिहेको निम्तो पनि गरेनौ त।’
‘तपाईंहरू बिजी मान्छे कहाँ फुर्सद हुन्छ त हाम्रो बिहेको भोज खाने? मैले फेसबुक तिर देखिरहेको हुन्छु, धेरै ठाउँ पुगेको फोटोहरू। फ्रेन्ड रिक्वेस्ट पनि पठाएको थिएँ मैले, हजुरले बालै दिनु भएन’ भन्दै मुसुक्क हाँस्यो दोर्जे।
कक्षामा एकदम कम बोल्ने केटा अहिले कति धेरै बोल्ने भएछ। उसले फेसबुकमा पठाएको फ्रेन्ड रिक्वेस्ट मैले कहिल्यै ख्याल नै गरिनँ। उसलाई जवाफमा दिने मसँग केही थिएन। केही छिनको मौनताको बीचमा उसको मोबाइलको घण्टी बज्यो।
‘बाबा भोलि आउँछु हस्, ममीलाई धेरै दुःख नदिनू है छोरी’ भन्दै उसले फोन राख्यो।
फोन उसको छोरीको रहेछ। निकै बेरको मौन यात्रापछि मैले भने सायरी कत्तिको लेख्छौँ त आजकल भनेर सोधेँ।
उसले लजाउँदै भन्यो- ‘स्कुल छुट्यो, सायरी पछि छुट्यो। पुराना लतहरू छुटेन भने नयाँ लतहरू कसरी लागुन् त?’
पुरानो दोर्जे फेरिएको रहेछ। उसको कुरा गर्ने शैली बदलिएछ। म पनि पुरानो म रहिनँ। त्यसैले त दोर्जेलाई देख्दा मलाई लाज लागेन। उसले हेरिदियोस् मेरो शृंगार जस्तो लागेन। उसले भनेजस्तै स्कुलमा भित्तातिरै छुटेछन् त्यो चञ्चलता पनि।
जति बदलिए पनि दोर्जेलाई भेटेपछि उसले भ्यालेन्टाइन डेमा दिएको पोष्टकार्ड र त्यो सायरीको याद खुब आयो। यात्रा सकियो हामी पोखरा पुग्यौँ।
म बस्ने होटल अगाडि उसले गाडी रोकिदियो र भन्यो- ‘बिहान फोन गरेको मोबाइल नम्बर मेरो नै हो, फर्किने बेलामा फोन गर्नूहोला है।’
मैले हुन्छ भन्दै होटलको ढोका निर पुगेर दोर्जेतिर फर्किँदै सोधेँ, ‘अनि फेसबुकमा नाम के छ नि तिम्रो?’
उसले गाडी फर्काउँदै भन्यो- ‘बदलिएको मान्छे।’